लगातार तीन खेल जितको विराटनगर किङ्स चितवन राइनोजसँग ४८ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन २ मा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सको अपराजित यात्रालाई चितवन राइनोजले रोकेको छ । लगातार तीन खेलमा जित दर्ता गरेको विराटनगर किंग्स बुधबार चितवन राइनोजसँग ४८ रनले पराजित भएको हो ।  किर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर १७५ रनको लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रिएको विराटनगरलाई चितवनले १६ दशमलव ४ ओभरमा १२६ रनमै समेटेको हो ।  विराटनगरले यसअघि जनकपुर बोल्टस्, काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्ससँग लगातार जित निकालेको थियो । चितवनको यो तीन खेलमा दोस्रो जित हो । यस टिमले लुम्बिनी लायन्सँग हार र कर्णाली याक्ससँग जित निकालेको थियो । ब्याटिङ र बलिङ दुवैमा लय समात्दा चितवनले आजको जित निकालेको हो । चितवनका रवि बोपाराले यस खेलमा ६५ रन जोडे । ३८ बल खेल्दा उनले ३ चौका र ४ छक्का प्रहार गरे । उनले ब्याटिङ उकास्दा चितवन १७५ रनको बलियो लक्ष्य प्रस्तुत गर्न सफल भएको हो ।  चितवनका सैफ जबले ३२, देव खनालले २८, कप्तान कुशल मल्लले अविजित २० र डविड मलानले १७ जोडे । जवाफी ब्याटिङमा उत्रिएको विराटनगरका ब्याटरमाथि चितवनका बलर हाबी भए । चितवनका रञ्जित कुमारले पाँच विकेट लिए । उनले विराटनगरका साम हिजलेट, बसिर अहमद, नरेन भट्ट, नारायण जोशी र सूर्य तामाङको विकेट लिएका हुन् ।  प्रतियोगितामा विराटनगरको यो पहिलो हार हो । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको थियो । दोस्रो खेलमा काठमाण्डू गोर्खाजलाई पाँच विकेटले र तेस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई नौ रनले हराएको थियो ।

आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ । उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अपरान्ह ४ बजे सुरु हुनेछ । करण केसीको कप्तानीमा रहेको काठमाडौंले तीन खेल खेलेको छ । यसका दुई हार र एक खेलमा जित निकालेको थियो । काठमाडौं दुई अङ्कसहित तेस्रो स्थानमा छ । रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अङ्कसहित चौथो स्थानमा छ । दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ ।

सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको लक्ष्य

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनअन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १४० रनको लक्ष्य प्रस्तुत गरेको छ।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरको ९ विकेट गुमाएर १३९ रन बनाएको हो ।  कर्णालीका कप्तान सोमपाल कामीले पहिलो ओभरको पहिलो बलमै सुदूरपश्चिमका आपनर जोश ब्राउनलाई डक आउट गराए । पहिलो ओभरदेखि नै बलिङमा प्रभाव छोडेको कर्णालीले इनिङ भरी लयमा बलिङ गर्‍यो । सोमपालले जोश र हर्मित सिंहजस्ता महत्त्वपूर्ण ब्याटरलाई आउट गराउँदै तीन विकेट लिए ।  उनले एक ओभर मेडन फ्याके । चार ओभर बलिङ गर्दा उनले ३२ रन खर्चिए ।