बीसीए कप फुटसल : नागार्जुन कलेजले जित्यो १ लाख ५० हजार पुरस्कार
काठमाडौं । डीएभी कलेजको आयोजनामा चौथो बीसीए कप पुरुष अन्तर–कलेज फुटसल प्रतियोगिता आइतबार सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न कलेजका २८ टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिता व्हिजी डेभियन्स र कोग्निटो आईटी क्लबको संयोजनमा डीएभी कलेजको सहयोगमा आयोजना गरिएको थियो । कार्यक्रमको अध्यक्षता डीएभी कलेजका अध्यक्ष अनिल केडियाले गरेका थिए भने प्रमुख अतिथिका रूपमा राष्ट्रिय फुटबल खेलाडी बिकेश कुथु उपस्थित थिए । साथै, डीएभी कलेज तथा अन्य संस्थाका प्राध्यापक, शिक्षाविद् र अतिथिहरूको पनि उपस्थिति रहेको थियो । प्रतिस्पर्धात्मक खेलपछि नागार्जुन कलेज अफ आईटी विजेता बनेको छ । विजेता टोलीले नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । पास्कल नेशनल कलेज उपविजेता बन्दै ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भयो । व्यक्तिगततर्फ नागार्जुन कलेज अफ आईटीका रिशव श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए भने श्रेयन श्रेष्ठ सर्वाधिक गोलकर्ता बने । उत्कृष्ट खेलाडीको उपाधि पास्कल नेशनल कलेजका आवास योञ्जनले प्राप्त गरे । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि बिकेश कुथु र डीएभी कलेजका अध्यक्ष अनिल केडियाले आईटी विषय अध्ययन गर्ने विद्यार्थीका लागि खेलकुद महत्त्वपूर्ण रहेको बताए । प्रविधिसँग बढी समय बिताउने विद्यार्थीका लागि शारीरिक गतिविधि आवश्यक रहेको उनीहरूको भनाइ थियो । अध्यक्ष केडियाले प्रविधिमुखी जीवनशैलीका कारण खेलकुदको महत्त्व झन् बढेको उल्लेख गरे । डीएभी कलेजका बीएससी र बीसीएका एकेडेमिक हेड शशि भूषण चतुर्वेदीका अनुसार प्रतियोगिताको उद्देश्य विभिन्न बीसीए कलेजबीच मित्रता, सहकार्य र समन्वय अभिवृद्धि गर्नु हो । प्रतियोगिताको समन्वय बीसीए प्रोग्राम हेड सुदीप अधिकारीले गरेका थिए । प्रतियोगिताका खेलहरू एन्फा रेफ्री उज्ज्वल लिम्बू, यमबहादुर सुनुवार र सुरज भण्डारीले सञ्चालन गरेका थिए । व्हिजी डेभियन्सका अध्यक्ष महेश्वर सिलवालको नेतृत्वमा आयोजक समितिले शिक्षक, विद्यार्थी र प्रायोजकहरूको सहयोगमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।
साम्बाको उपचार निःशुल्क गर्ने केएमसी अस्पतालको घोषणा
काठमाडौं । काठमाडौं मेडिकल कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । सिनामंगलस्थित अस्पतालले एक वक्तव्य जारी गर्दै साम्बाको सम्पूर्ण उपचार निःशुल्क गर्ने प्रतिबद्धता जनाएको हो । नेपालको राष्ट्रिय गहनाका रूपमा परिचित साम्बा पछिल्लो सात हप्तादेखि घुँडाको चोटका कारण मैदानबाहिर रहेकी छन् । यसअघि कतारको अस्पेटार अस्पतालमा घुँडाको शल्यक्रिया गरी हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेपछि पुनः शल्यक्रिया गर्नुपर्ने अवस्था आएको छ । त्यसपछि साम्बाले सामाजिक सञ्जालमार्फत उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी थिइन् । साम्बाले उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च हुने उल्लेख गर्दै सहयोगको आग्रह गरेपछि काठमाडौं मेडिकल कलेजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 'साम्बा नेपालमै उपचार गर्न तयार भए देशकै एक अब्बल उपचार संस्थाका रूपमा रहेको काठमाडौं मेडिकल कलेजले उनलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछ,' अस्पतालद्वारा जारी वक्तव्यमा उल्लेख छ । अस्पतालले अत्याधुनिक उपकरण, दक्ष जनशक्ति र गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै सामाजिक उत्तरदायित्व र राष्ट्रप्रतिको कर्तव्यबोधका आधारमा साम्बाको उपचार निःशुल्क गर्ने निर्णय गरिएको जनाएको छ ।
राष्ट्रिय महिला फुटबलकी कप्तान सावित्रा भण्डारीले उपचारका लागि मागिन् आर्थिक सहयोग
काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीले आर्थिक सहयोग मागेकी छन् । सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले घुँडाको एसीएलमा पहिले शल्यक्रिया गरिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको र त्यसको उपचारका लागि आर्थिक सहयोग आवश्यक भएको जानकारी दिइन् । ‘पछिल्लो सात हप्तादेखि चोटका कारण मैदानबाहिर छु । सोचेजस्तो भए अहिले म चोटको शल्यक्रिया गरेर फिजियो सुरु गरेको केही समय बितिसक्ने थियो । तर अझै म उपचारको लागि भौतारिइरहेकी छु,’ उनले भनिन् । उनले सामाजिक सञ्जालमा युएस डलर ८० हजार डलरको आवश्यक रहेको खुलाएकी छन् । आजको नेपाली मूल्य बराबर १ करोड १६ लाख ४६ हजार रुपैयाँ आवश्यक परेको बताएकी छन् । एन्फाले सहयोग गर्ने वाचा गरे पनि अहिलेसम्म कुनै सहयोग प्राप्त नभएको उनको भनाइ छ । चोट लागेपछि तीन सातापछि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको थियो, तर एन्फाले सहयोग गर्ने भने पनि त्यसमा ध्यान नदिएको उनी बताउँछिन् । ‘मैले पटक–पटक प्रयास गरेँ, सम्पर्क गर्न खोज्दा पनि सम्पर्क भएन । अघिल्लो साता एन्फाका अध्यक्षले नै मेरो उपचारमा प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । उहाँले नगद पाँच लाखसम्म सहयोग गर्ने र बाँकी प्रक्रिया आफैं गर्न भन्नुभयो । एकातिर मैले पहिले सुरु गरेको प्रक्रिया रोकियो, अर्कोतिर झन्डै दुई महिनापछि शल्यक्रियाको मितिको लागि फेरी प्रयास गर्नुपर्ने भएको छ,’ उनले थपिन् । उनले खेलिरहेको क्लबले न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गर्न तयार रहेको जानकारी दिइन् । ‘चोट गम्भीर छ र पछिल्लो पटक कतारको अस्पेटारमा गरिएको उपचार उच्च स्तरको भएकोले म पुनः सोही अस्पतालमा उपचार गराउने इच्छा राख्छु । क्लबले बिमाबाट प्राप्त रकम मेरो लागि निकासा गरिदिनेछ । तर उक्त रकम शल्यक्रिया र सात–आठ महिनाको रिह्याबका लागि अपुग हुने भएकाले समर्थकबाट सहयोग माग्न आएको हुँ,’ उनले लेखिन् । उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च लाग्ने उनले खुलाएकी छन् । सरकारले सहयोग मागे पनि सरकारी प्रक्रिया अपेक्षाअनुसार अघि बढेको छैन । सावित्राले आफ्नो खेलकुद करियरमा सधैं कठिनाइहरूको सामना गर्नुपरेको बताइन् । ‘हरेक पटक साहसका साथ पार गरेको र यसपटक पनि पुनः माथि उठ्न तपाईंको सहयोग आवश्यक छ । यो मेरो करियरको सबैभन्दा कठिन लडाइँ हो। मैले यो अवस्था आउला भन्ने सोचेको पनि थिइनँ । आफ्नो अभिभावक मानेको एन्फाले पछि हटेपछि मेरा साथमा आम समर्थकहरू छन् । एन्फाभित्र म क्लबको लागि खेल्दा चोट लागेको भन्ने तर्क सुन्दा म आफैं निराश भएको छु,’ उनले भनिन् ।