गल्फ लुब्रिकेन्ट्सको पार्टनर मिटमा पूजा महतो ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं । नेपाल ल्युब आयलले हालै पोखरामा आयोजित वार्षिक पार्टनर मिट सम्पन्न गरेको छ । रेडीफाइन योर लिमिटस भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा देशभरका ३३ भन्दा बढी व्यवसायिक पार्टनर, कम्पनी सञ्चालक समिति तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा पार्टनरहरूको क्षमता विकासका लागि विशेष प्रशिक्षण सत्र, विगत वर्षको समग्र समीक्षा तथा आगामी वर्षका लागि रणनीतिक रोडम्याप प्रस्तुत गरिएको थियो । त्यस्तै, उत्कृष्ट प्रदर्शन गर्ने पार्टनरलाई विभिन्न विधामा सम्मानसमेत गरिएको कम्पनीले जनाएको छ । सोही अवसरमा नेपाल ल्युब आयल लिमिटेडले राष्ट्रिय महिला यू–१९ क्रिकेट टोलीकी उप–कप्तान पूजा महतोलाई गल्फ लुब्रिकेन्ट्सको आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको घोषणा गर्‍यो । महतोले हालै आईसीसी यू–१९ महिला विश्वकप २०२५ को टिम अफ द टुर्नामेन्ट मा स्थान बनाउन सफल हुँदै एसोसिएट राष्ट्रबाट यो सम्मान पाउने एकमात्र खेलाडीको रूपमा इतिहास रचेकी थिइन् । कम्पनीका अनुसार महतोको लगनशीलता र अथक मेहनतले नेपाली महिला क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्याइरहेको छ र यो सहकार्यले कम्पनीसँगै सम्पूर्ण नेपाली महिला क्रिकेटलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ । ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त भएपछि महतोले गल्फजस्तो विश्वव्यापी प्रतिष्ठित ब्रान्डसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै यसले आफूलाई मात्र होइन, भविष्यका महिला क्रिकेटरलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरिन् ।

रविन्द्र ढाँट बने रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजका ब्रान्ड एम्बास्डर

काठमाडौं । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँट रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन् । १७ वर्षअगाडि स्थापना भएको रोहिणी इन्टरनेसनलले आफ्नो सफलतायात्रामा ढाँटलाई एम्बास्डरको रूपमा प्रस्तुत गर्दै नयाँ अध्याय सुरू गरेको हो । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) अध्यक्ष शेषराज भट्टराईले रोहिणीलाई इतिहास बोकेको संस्था भन्दै ढाँटलाई एम्बास्डर बनाउनु गर्वको विषय भएको बताए । उनले ढाँटको प्रशंसा गर्दै भने, 'देशले यस्तो व्यक्तित्व पाउनु सौभाग्य हो, उनले नेपालको खेल क्षेत्रमा ठूलो योगदान दिएका छन् ।' त्यस्तै, रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजका म्यानेजिङ डाइरेक्टर श्याम भण्डारीले ढाँटको समावेशीले संस्थाको गरिमा बढ्ने विश्वास व्यक्त गरे । उनले भने, 'ढाँटले मेहनत र समर्पणबाट सफलता हासिल गरेका छन् । यसले युवालाई प्रेरणा दिनेछ ।' ब्रान्ड एम्बास्डर नियुक्त भएपछि रविन्द्र ढाँटले रोहिणी परिवारलाई धन्यवाद दिदैँ यो जिम्मेवारीलाई प्रचारभन्दा बढी सहयोगको रूपमा लिने बताएका छन् । 'जीवनमा अझ धेरै गर्न बाँकी छ, आगामी बाटो सहज हुने विश्वास छ,' उनले भने । इक्यानका पूर्वअध्यक्ष राजेन्द्र बरालले ढाँटको योगदानलाई ऐतिहासिक ठहर गर्दै भने, 'बैतडीबाट काठमाडौं  आएर उनले नयाँ इतिहास रचेका छन् । भारतमा घाइते भएर पनि देश चिनाएका ढाँटलाई रोहिणीले एम्बास्डर बनाउनु गौरवको विषय हो ।' रोहिणी इन्टरनेसनलका मार्केटिङ डाइरेक्टर दया थापाले एम्बास्डर नियुक्तीलाई कसैलाई सहयोग गर्ने उद्देश्यसँग जोडिएको बताए । उनले भने, 'रोहिनीले समय–समयमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । ढाँटलाई पनि निरन्तर साथ दिनेछ ।' रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेज काठमाडौंस्थित एक अग्रणी विदेश अध्ययन सल्लाहकार संस्था हो । विशेषगरी न्यूजिल्यान्डमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि विशेषज्ञ मार्गदर्शन प्रदान गर्दै आएको छ । संस्थाले अंग्रेजी तयारी कक्षा, आईईएलटिएस तयारी कक्षा तथा अन्य शैक्षिक परामर्श सेवा पनि प्रदान गर्दै आएको छ ।  

पल्सर स्पोर्ट्स अवार्ड २०८१ को चार विधाका मनोनयन सार्वजनिक

काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्ष २०८१ को पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक गरी चार विधाका मनोनयन सार्वजनिक भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले शनिबार एक कार्यक्रम आयोजना गर्दै २२ औं संस्करण अवार्डको चार विधाका मनोनयन सार्वजनिक गरेको हो ।  वर्ष पुरुष खेलाडी, महिला, युवा र प्रशिक्षकमा समान पाँच उत्कृष्ट मनोनयन समावेश गरिएको छनोट समितिले जनाएको छ । वर्ष पुरुषमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, उसुका विजय सिन्जाली, टेबल टेनिसका स्यान्टु श्रेष्ठ र खो खोका जनक चन्द मनोनयनमा परे । महिलातर्पmको मनोनयनमा करातेकी एरिका गुरुङ, फुटबलकी रेखा पौडेल, करातेकी एलिसा रास्कोटी मगर, खो खोकी मानमति धामी र भलिबलकी सलिना श्रेष्ठ परेका छन् । मञ्चका सचिव अनिल मल्ल ठकुरीको संयोजकत्वमा रहेको पाँच सदस्यीय छनोट समितिले खेलाडी र प्रशिक्षकको छनोट गरेको हो । उक्त समितिमा निरञ्जन राजवंशी, हिमेशरत्न बज्राचार्य र विराट रायमाझी छन् । वर्ष २०८१ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भएका उत्कृष्ट प्रदर्शनका आधारमा मनोनयनमा समावेश गरिएको छ । वर्ष युवा खेलाडीको मनोनयनमा एथ्लेटिक्सका अजय विक, करातेकी अञ्जली महर्जन, क्रिकेटकी पूजा महतो, बक्सिङकी स्वस्तिका र फुटबलका समीर तामाङ परेका छन् । वर्ष प्रशिक्षकमा पारा तेक्वान्दोका कविराज नेगी लामा, करातेका कुशल श्रेष्ठ, बक्सिङका दीपक महर्जन, क्रिकेटका महेश रिजाल र खो खोका लक्ष्मीनारायण वैद्य मनोनयन परेका छन् ।  यसपल्ट अवार्ड राजधानी बाहिर पोखरामा आगामी भदौ २९ गते पोखरा इभेन्टस सेन्टरमा हुनेछ । सोही दिन नै चारै विधाको विजेता घोषणा गरिनेछ । पत्रकार सम्मेलनमा खेलाडी छनोट समितिका संयोजक ठकुरीले वर्ष २०८१ मा नेपाली खेलाडीले ऐतिहासिक सफलतासँगै धेरै राम्रो नतिजा पाएकाले मनोनयनमा गर्न कठिन भएको बताए । साथै उनले एक वर्षभर नेपाली खेलकुदले पाएका सफलतालाई दस्तावेजका रूपमा राखिएको र त्यसले छनोट गर्न सहज भएको बताए । मनोनयन सार्वजनिक कार्यक्रममा छनोट समितिका सदस्य प्रजीत शाक्यले नेपाली खेलकुदले लामो समयदेखि प्रतीक्षा गर्ने कार्यक्रमका रूपमा अवार्ड रहेको बताए । मञ्चका पूर्वअध्यक्ष एवम् एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले एआइपिएसका अध्यक्ष जियानी मिर्लो अवार्ड हेर्न आउने जानकारी दिए । यस संस्करणको पिपल्स च्वाइस विधाको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइस विधाको मनोनयनमा विजय सिन्जाली (उसु), पूजा महतो (क्रिकेट), हिमाल सुनारी (भलिबल), रेखा पौडेल (फुटबल) र इभाना थापा (टेबल टेनिस) छन् । उनीहरूको भोटिङका लागि प्रचारप्रसार तीव्र भइरहेको छ । डिजिटल वालेट खल्ती बाइ आइएमईबाट भोटिङ, नेपाल खेलकुद पत्रकार मञ्चको र मुख्य प्रायोजक गोल्छा ग्रुपको आधिकारिक फेसबुक पेजबाट भोटिङ जारी छ । नेपाल ओलम्पिक कमिटीमा आबद्ध खेल संघका प्रमुख प्रशिक्षक र मञ्चका सदस्यहरूले दिएको मत पनि यस विधाको विजेता छनोटको आधार हुनेछ । स्पोट्र्स अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्डको घोषणा कार्यक्रमकै दिनमा नै घोषणा गरिनेछ । वर्ष पुरुष, महिला, युवा र प्रशिक्षक विधाको विजेताले पल्सर मोटरबाइक पाउनेछन् । पिपल्स च्वाइस विधाको विजेतालाई पल्सर मोटरबाइक प्रदान गरिनेछ । अन्य विधाका विजेताले जनही एक लाख रुपैयाँ र गिफ्ट ह्याम्पर पाउने मञ्चले जनाएको छ । यस वर्ष पनि एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकको रूपमा गोल्छा गु्रपको बजाज पल्सर मोटरसाइकल छ । नेपाल खेलकुद पत्रकार मञ्च र गोल्छा गु्रपबीच अवार्डकै लागि सहकार्य भएको यो १७औं वर्ष हो । अवार्डको प्रवद्र्धकमा पोखरा महानगरपालिका  छ । अन्य सहयोगीहरूमा खल्ती, नासा सेक्युरिटिज, केल्मी नेपाल, यति एयरलाइन्स, मझेरी रिसोर्ट एण्ड स्पा, म्याजेस्टिक, प्लाजा गु्रप अफ होटल्स, इमेजिङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप), वागमती खेलकुद विकास परिषद्, सूर्य नेपाल, होटल रोयल सिंगी, नेपाल टुरिजम बोर्ड, स्विफ्ट होलिडेज, रारा चाउचाउ र नेपाल ओलम्पिक कमिटी (एनओसी) छन् ।