एनपीएल–२ मा कसले जित्ला ५७ लाखको कार ? यी हुन् ५ दाबेदार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तिम चरणमा पुगेको छ । उपाधिका लागि प्रतियोगिताकै सबैभन्दा सन्तुलित र एकनाशको प्रदर्शन गरिरहेको सुदूरपश्चिम रोयल्स र हारको मुखबाट बौरिएर फाइनल यात्रा तय गरेको लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् ।  दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स प्रतियोगिताभरि नै उच्च लयमा देखिएको छ । टोलीसँग आरिफ शेख र विनोद भण्डारीजस्ता अनुभवी खेलाडीहरूको साथ छ । पहिलो क्वालिफायर जितेर सुदूरपश्चिम सिधै फाइनलमा पुगेको हो । गत वर्ष अङ्क तालिकाको पुच्छारमा रहेको लुम्बिनी लायन्स भने यस वर्ष  फाइनलमा प्रवेश गरेको छ । प्लेअफ सुरु भएपछि लुम्बिनीको रूप फेरिएको हो।  लुम्बिनी अहिले उच्च मनोबलले भरिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार (भोलि) हुने फाइनल भिडन्तसँगै यस सिजनको विजेताको टुंगो लाग्नेछ ।  उपाधि मात्र होइन, खेलाडीहरू बीच सर्वोत्कृष्ट खेलाडी बन्दै बम्पर उपहार जित्ने होडबाजी पनि उत्तिकै छ । गत संस्करणजस्तै यस संस्करणमा पनि सर्वोत्कृष्ट नेपाली खेलाडीले ५७ लाख रुपैयाँ बराबरको जेको जे–फाइभ कार उपहार स्वरूप प्राप्त गर्नेछन् । यदि शनिबार लुम्बिनीले ट्रफी उचाल्न सक्यो भने त्यो नेपाली फ्रेन्चाइज क्रिकेट इतिहासकै लोभलाग्दो कमब्याक स्टोरी हुनेछ । मुस्किलले प्लेअफमा छिरेको टोलीले च्याम्पियन बन्नु आफैमा एक दुर्लभ कीर्तिमान हुनेछ । यता अघिल्लो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिमलाई अघिल्लो हारको पीडा भुल्न ट्रफी जित्नैपर्ने दबाब छ । जनकपुर बोल्ट्स यसपटक भने अंक तालिकाको पुच्छारमा छ ।  को–को छन् कारको दौडमा ?  अघिल्लो संस्करणमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले सानदार प्रदर्शन गर्दै ओमोडा कार जितेका थिए । यसपटक उनले आफ्नो टोलीलाई फाइनलमा पुर्‍याए पनि अन्य खेलाडीले उनलाई कडा चुनौती दिइरहेका छन् । १. रोहित पौडेल (लुम्बिनी लायन्स) लुम्बिनीलाई फाइनलमा पुर्‍याउन कप्तान रोहित पौडेलको भूमिका निर्णायक देखिएको छ । ब्याटिङतर्फ ९ इनिङ्समा २५८ रन बनाउँदै उनी सर्वाधिक रन बनाउने नेपाली खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । अलराउन्ड प्रदर्शन गरेका रोहितले ७ विकेट पनि हात पारेका छन् । फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरे उनी कारको सबैभन्दा बलियो हकदार बन्न सक्नेछन् ।  २. विनोद भण्डारी (सुदूरपश्चिम रोयल्स) सुदूरपश्चिमका ओपनर तथा विकेटकिपर विनोद भण्डारी अहिले उत्कृष्ट लयमा छन् । ८ खेलबाट २६४ रन बनाउँदै उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने नेपाली खेलाडी बनेका छन् । समग्रमा उनी दोस्रो स्थानमा छन् । फाइनल खेलमा उनको ब्याट चलेमा कारको साँचो उनकै हातमा पर्न सक्छ ।  ३. अविनाश बोहोरा (सुदूरपश्चिम रोयल्स) बलिङतर्फ सुदूरपश्चिमका अविनाश बोहोराले सनसनीपूर्ण प्रदर्शन गरिरहेका छन् । १६ विकेट लिइसकेका उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । शीर्ष स्थानमा सन्दिप लामिछाने छन् । तर उनी बाहिरिसकेकाले फाइनलमा थप विकेट लिएर अविनाशले आफूलाई प्लेयर अफ द सिरिजको दाबेदार बनाउन सक्नेछन् ।  ४. सन्दिप लामिछाने (विराटनगर किंग्स) विराटनगर किंग्स प्रतियोगिताबाट बाहिरिए पनि कप्तान सन्दिप लामिछाने खेल तालिकामा अगाडि छन् । ९ खेलमा १७ विकेट लिँदै उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । यद्यपि उनको टोली फाइनलमा नपुगेकाले पुरस्कारको दौडमा उनी केही पछि पर्न सक्नेछन् । ५. दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम रोयल्स) साविक विजेता दीपेन्द्रसिंह ऐरी यसपटक पनि दाबेदारको सूचीमा छन् । ब्याटिङमा १४९ रन (१५औं स्थान) र बलिङमा ८ विकेट (१५औं स्थान) लिएका ऐरी खेल तालिकाको तथ्याङ्कमा केही पछाडि देखिए पनि फाइनल खेलमा जादुमयी प्रदर्शन गरेर बाजी मार्न सक्ने आकलन गर्न सकिन्छ ।  यस्तो छ पुरस्कारमा पाइने जेको जे–फाइभ कार सर्वोत्कृष्ट खेलाडीले पाउने जेको जे–फाइभ कार चिनियाँ ब्रान्ड चेरीको उत्पादन हो । जसलाई नेपालमा एसपीजी अटोमोबाइल्सले भित्र्याएको हो । यसको बजार मूल्य ५७ लाख रुपैयाँ तोकिएको छ ।  ६०.९ किलोवाट आवरको एलएफपी ब्याट्री जडान गरिएको यो कारले एक पटकको फुल चार्जमा ४६१ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । यसमा १५५ किलोवाट पिक पावर दिने शक्तिशाली मोटर छ । जसले अफरोडमा पनि उत्कृष्ट प्रदर्शन गर्छ ।  प्रिमियम डिजाइनमा तयार भएको यस कारमा १.४५ वर्ग मिटरको ठूलो पानोरोमिक ग्लास रुफ छ । इन्टेरियरमा १३.२ इन्चको टचस्क्रिन र डुअल टोन लेदर सिटले यसलाई लग्जरियस बनाएको छ ।  सुरक्षाका लागि यसमा एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम लेभल २ जडान गरिएको छ । यसमा एडाप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन डिपार्चर वार्निङ जस्ता आधुनिक फिचरहरू उपलब्ध छन् ।  ४८० लिटरको बुट स्पेस रहेको यो कारको पछाडिको सिट फोल्ड गर्दा ११८० लिटरसम्म स्पेस बढाउन सकिन्छ ।  यसैगरी, प्रतियोगितामा प्लेयर अफ द सिरिज बाहेक उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदयीमान खेलाडीलाई बजाज मोटरसाइकलको पल्सर एनएस १६० मोटरसाइकल प्रदान गरिनेछ ।  पल्सर एनएस १६० मोटरसाइकल नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले एनपीएलमा तीन उत्कृष्ट खेलाडीलाई दिइने कम्पनीले जनाएको छ ।  

उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने, कसले पाउला १.१० करोड रुपैयाँ पुरस्कार ?

काठमाडौं । काठमाडौंमा जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३:३० बजे हुने फाइनल खेलमा साबिक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधि नजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो । दीपेन्द्रसिंह ऐेरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो । गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ । गत संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक जसरी भए पनि ट्रफी भित्र्याउने दाउमा छ । लिग चरणमा भएको यी दुवबैबीचको खेलमा सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो । एनपीएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५१ लाख रुपैयाँ, तेस्रो टोलीले २५ लाख रुपैयाँ र चौथो १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियोे ।

लुम्बिनी फाइनलमा प्रवेश, विराटनगर ४० रनले पराजित

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार विराटनगर किंग्सलाईलाई ४० रनले पराजित गर्दै लुम्बिनी फाइनलमा प्रवेश गरेको हो ।  अघिल्लो सिजनको पुछारमा रहेको लुम्बिनीले यसपटक उपाधि जित्ने सपना नजिक पुगेको हो । यो जितसँगै लुम्बिनीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँगको रोमाञ्चक भेट पक्का गरेको छ । एनपीएलको ‘ग्रान्ड फिनाले’ शनिबार हुनेछ । लुम्बिनीको लोभलाग्दो ‘कम्ब्याक’ लुम्बिनी लायन्सको फाइनल यात्रा कुनै फिल्मी कथाभन्दा कम छैन। पहिलो सिजनमा अंक तालिकाको सबैभन्दा पुछारमा रहेर लिग सकाएको लुम्बिनीले दोस्रो सिजनमा भने गजबको पुनरागमन गरेको छ । एलिमिनेटरमा बलियो मानिएको काठमाडौं गोर्खाजलाई ४ विकेटले पाखा लगाएर आएको लुम्बिनीले दोस्रो क्वालिफायरमा पनि आफ्नो लय कायमै राख्दै ऐतिहासिक फाइनल स्थान सुरक्षित गर्यो । लिग चरणमा शानदार प्रदर्शन गरेको विराटनगर किंग्सका लागि भने ‘प्लेअफ’ दुर्भाग्यपूर्ण साबित भयो । लगातार दुईवटा क्वालिफायर खेल्ने मौका पाउँदा पनि विराटनगरले त्यसलाई सदुपयोग गर्न सकेन । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनको फराकिलो हार बेहोरेको विराटनगरले दोस्रो मौका (क्वालिफायर-२) मा पनि लय समात्न सकेन। लिग चरणको उत्कृष्ट प्रदर्शनलाई नकआउट चरणमा निरन्तरता दिन नसक्दा विराटनगर उपाधि नजिक पुगेर पनि बाहिरिन बाध्य भयो । अब शनिबार हुने फाइनल खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमने-सामने हुनेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमै विराटनगरलाई हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । गत सिजनको पुछारको टोली लुम्बिनी र लगातार फाइनल पुगेको सुदूरपश्चिमबीचको उपाधि भिडन्त निकै रोचक हुने अपेक्षा गरिएको छ ।