नेपाल पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै, राष्ट्रिय टोली आज मलेसिया प्रस्थान
काठमाडौं । नेपालले पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुन लागेको छ । मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म हुने प्रतियोगितामा भाग लिन १८ सदस्यीय नेपाली डजबल टोली आज मलेसिया प्रस्थान गरेको हो । यो प्रतियोगितामा १२ देश सहभागी हुँदैछन् जहाँ आयोजक राष्ट्र मलेसिया हाल विश्व डजबल र्‍याङ्किङमा नम्बर–१ स्थानमा रहेको छ । नेपालका खेलाडीहरूका लागि यो दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यसअघि पहिलो अन्तर्राष्ट्रिय सहभागीता जनाइसकेको टोली यसपटक थप आत्मविश्वास, तयारी र अनुभवका साथ मैदानमा उत्रने तयारीमा छ । प्रस्थानअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई बिदाइ गर्दै उत्कृष्ट प्रदर्शनको शुभकामना व्यक्त गरे । नेपालमा डजबल खेल दिनप्रतिदिन लोकप्रिय बन्दै गएको छ । नेपाल डजबल फेडेरेसनले यो खेललाई देशभर पहिचान दिलाउने उद्देश्यसहित विभिन्न कार्यक्रम, प्रतियोगिता तथा जागरूकता अभियानहरू निरन्तर आयोजना गर्दै आएको छ । विद्यालय, कलेज तथा सामुदायिक स्तरमा सञ्चालन गरिएको परिचयात्मक कार्यक्रमले खेलप्रति युवाहरूको आकर्षण उल्लेख्य रूपमा बढाएको फेडेरेसनले जनाएको छ । नेपाली टोलीमा कप्तान विराज दाहालसहित प्रकाश सिंह ऐर, कृष्ण हरि बुढाथोकी, रबिन शाक्य, कृष्ण कुमार साह, अनिल कुमार तिखत्री, अनिल गुरुङ, विवेक उप्रेती, अच्युत नेपाल, रोशन अधिकारी, रामचन्द्र गौतम र विनोद कोईरालाको समावेश छ । टोलीसँगै टोली प्रमुख राजन गौतम, व्यवस्थापक कौशल ज्ञवाली, सहायक व्यवस्थापक हिरामणी नेपाल, प्रशिक्षक तथा खेलाडी अरुण तिमल्सिना, ट्रेनर बेनु कुमार राई तथा मिडिया अफिसर सन्दीप रिजाल पनि सहभागी छन् । सो अवसरका लागि जर्सी पुल मुख्य प्रायोजक बनेको छ भने इम्पाएर ट्राभल्स एन्ड टुर्स ट्राभल पार्टनर, जी स्पोट्र्स होम किट पार्टनर र डिजिटल ल्याब ब्ल्याक आइ जर्नी प्रालि डिजिटल पार्टनरको रूपमा रहेका छन् । नेपाली टोलीले ऐतिहासिक सहभागीता जनाउँदै अन्तर्राष्ट्रिय डजबल क्षेत्रमा नेपालको पहिचान बलियो बनाउने तथा देशको प्रतिष्ठा उकास्ने विश्वास लिइएको छ ।
एनपिएल : कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १६७ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको दोस्रो खेलमा मंगलबार कर्णाली याक्सले चितवन राइनोजलाई जितका लागि १६७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाउँदै १६६ रनको योगफल बनाएको हो । कर्णालीका लागि ओपनर प्रियाङ्क पन्चालले सर्वाधिक ९० रनको योगदान दिए । उनी शतक बनाउनबाट १० रनले चुके । पहिलोपटक एनपिएल खेलिरहेका पञ्चालले ४८ बलमा सात चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ९० रन बनाएका हुन् । यस संस्करणमा अर्थशतक बनाउने उनी दोस्रो खेलाडी बनेका छन् । त्यसैगरी कर्णालीका लागि म्याक्स ओडाउडले ३० बलमा एक चौका हान्दै २० रन बनाए । मार्क वाटले २१ बलमा एक चौकाको मद्दतमा १६, पवन शर्राफले अविजित २७ तथा नाजिबुल्लाह जद्रानले अविजित चार रन बनाए । अहिले चितवन राइनोजले कर्णाली याक्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ ।
आज चितवन राइनोज र कर्णाली याक्स, विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स भिड्दै
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज २ खेल हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज बिहान ११:४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । चारवटै टोलीको लक्ष्य सुखद सुरुआत गर्ने हुनेछ । चितवन कुशल मल्लका कप्तानीमा मैदान उत्रिँदा कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन् । विराटनगरको नेतृत्व सन्दीप लामिछानेले सम्हाल्दा पोखराको कप्तान कुशल भुर्तेल रहनेछन् । यसअघि सोमबार सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएर काठमाडौं गोर्खाजले सुखद सुरुआत गरेको छ । जितसँगै काठमाडौंले अङ्कतालिकामा दुई अङ्क पनि जोड्यो । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १ गतेदेखि सुरु प्रतियोगिताको फाइनल मङ्सिर २७ मा हुनेछ । प्रतियोगिताका विजेताले १ करोड १० लाख रुपैयाँ पाउने क्यानले जनाएको छ ।