स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको तेस्रो संस्करण हुने
काठमाडौं । नेपाली टेबलटेनिसकै ठूलो घरेलु प्रतिस्पर्धाको रूपमा रहेको स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको सिजन तीन आगामी भदौको पहिलो साता हुने भएको छ। विभिन्न देशका खेलाडीलाई अनुवन्ध गरी नेपाली क्लवहरूले स्ट्याग ग्लोबल च्याम्पियन्स लिगमा प्रतिष्पर्धा गर्दै आएका छन् । नेपाल टेबल टेनिस संघको तत्वावधन र स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा चार राष्ट्रका विदेशी खेलाडी सहभागी हुने च्याम्पियन्स लिगको तेस्रो सिजन हुन लागेको हो । स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजना २०८० सालदेखि यो प्रतियोगिता हुँदै आएको छ । यो एकेडेमी नवौंपल्ट नेपाल च्याम्पियन नविता श्रेष्ठले सञ्चालन गर्दै आएकी छन् । सोही एकेडेमीले नेपाली टेबल टेनिसमा उत्कृष्ट घरेलु प्रतियोगिताको रूपमा च्याम्पियन्स लिग गर्दै आएको छ । आगामी भदौ १ देखि ६ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै स्ट्याग च्याम्पियन एकेडेमीले प्रतियोगिताबारे जानकारी दिएको हो । यसपल्ट याला टेबल टेनिस, होप्स टेबल टेनिस एकेडेमी, एभिएम टेबल टेनिस क्लब, द ड्रागन क्लब, कीर्तिपुर नगरपालिका, भोर्टेक्स नेपाल, वल्ड हाउस रेस्ट्रो, टप स्पिन टेबल टेनिस गुड्स नेपाल, खोल्छा पुखु खेलकुद समिति गरी कुल १० क्लबहरूले उपाधिका लागि चुनौती प्रस्तुत गर्नेछन् । पछिल्ला संस्करणमा आठ टोलीले प्रतिस्पर्धा गरे पनि यसपल्ट टोलीको सहभागिता बढाइएको छ । एकेडेमीकी अध्यक्ष नतिवा श्रेष्ठले डिजिटल लाइटका साथै खेलस्थलाई आकर्षक बनाउँदै प्रतियोगिता आयोजना गर्ने बताइन् । टेबल टेनिसको शक्ति राष्ट्र चीनका साथै भारत, पाकिस्तान र चाइनिज ताइपेइका खेलाडीले विभिन्न क्लबमा आबद्ध रहेर प्रतिस्पर्धा गर्नेछन् । हरेक टोलीमा एक महिला र पुरुष विदेशी खेलाडी रहनेछन् । पछिल्ला संस्करणको तुलना पुरस्कार राशि पनि बढाएर चार लाखबाट ६ लाख रुपैयाँ पुर्‍याइएको एकेडेमीका निर्देशक नबिताले जानकारी दिइन् । लिगको विजेताले तीन लाखसहित रनिङ ट्रफी, उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने दुई टोलीले समान ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । बुधबार नै पत्रकार सम्मेलनमार्फत आयोजक च्याम्पियन्स एकेडेमीले तीन सहप्रायोजकहरू सामाजसेवी सुमन खड्गी, मेटल सेपर्स, मेटलवुड नेपाल, बागमती खेलकुद विकास परिषद्, डेल्टा अटोकोर्प, सेल्ट्रोन नेपाल प्राली र कल मोबिलिटी प्रालीसँग सम्झौता गरिएको थियो । पहिलो संस्करणको एभिएम र दोस्रो संस्करणमा नेपाल पुलिस क्लब च्याम्पियन हो । यसपल्ट भने विभागीय टोली समावेश गरिएको छैन ।
क्लियर स्याम्पु ब्रान्ड मार्फत इङ्लिस प्रिमियर लिग प्रत्यक्ष प्रसारण हुने
काठमाडौं । युनिलिभर नेपालले आफ्ना प्रमुख हेयर केयर ब्रान्ड ‘क्लियर’ मार्फत इङ्लिस प्रिमियर लिगलाई नेपाली दर्शकमाझ प्रत्यक्ष रूपमा ल्याउने रोमाञ्चक सहकार्यको घोषणा गरेको छ । यो साझेदारी युनिलिभरको विश्वव्यापी फुटबलप्रतिको प्रतिबद्धता र उपभोक्तासँग अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने लक्ष्यको प्रतिविम्ब हो । युनिलिभरको पर्सनल केयर डिभिजन सन् २०२७ सम्मका लागि फिफाको आधिकारिक ग्लोबल पार्टनर रहँदै आएको छ, जसमा २०२६ को फिफा वल्र्ड कपसहित प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताहरू समावेश छन् । यस्ता सहकार्यहरूले खेलकुदको शक्ति समुदायलाई एकताबद्ध गर्न र आत्मविश्वास जगाउन मद्दत पुर्याउने कम्पनीको विश्वास छ । इपीएल साझेदारीअन्तर्गत, क्लियरले विश्व फुटबलका स्टार क्रिस्टियानो रोनाल्डो र एरलिङ हालान्डसँगको सहकार्यमार्फत आत्मविश्वास र प्रदर्शनको सन्देश फैलाउँदै आएको छ। अब नेपाली दर्शकहरूले कान्तिपुर मिडिया ग्रुपका टेलिभिजन तथा डिजिटल प्लेटफर्ममार्फत प्रत्यक्ष रूपमा रोमाञ्च अनुभव गर्न सक्नेछन् । युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जीले नेपाली दर्शकमाझ ल्याउन पाउँदा गर्व लागेको बताए । 'फुटबल केवल खेल मात्र नभई साझा भावना हो, जसले सीमाना नाघेर मानिसहरूलाई जोड्छ,' उनले भने । कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वरले पनि यो सहकार्यलाई नेपाली दर्शकका लागि उच्चस्तरीय फुटबल मनोरञ्जन उपलब्ध गराउने महत्वपूर्ण कदमको रूपमा व्याख्या गरे ।
रवीन्द्र ढाँटलाई पाँच लाख पुरस्कार
काठमाडौं । आफ्ना भारतीय प्रतिद्वन्द्वीलाई हराउँदै म्याट्रिक्स फाइट नाइट (एमएफएन)बान्टमवेट च्याम्पियन बन्न सफल बझाङका रवीन्द्र ढाँटलाई प्रोत्साहनस्वरुप रु पाँच लाख प्रदान गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई उक्त रकम प्रदान गरिने जानकारी आज सामाजिक सञ्जाल फेसबुकबाट दिएका हुन् । प्रधानमन्त्रीले च्याम्पियन ढाँटका प्रशिक्षकलाई रु दुई लाख प्रदान गरिने निर्णय भएको जानकारी पनि दिए । गत शनिबार भारतमा भएको प्रतिस्पर्धामा रवीन्द्रले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गरेका हुन् ।