एनपीएलको दोस्रो संस्करण आजदेखि सुरु हुँदै, ४० करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य

काठमाडौं । नेशनल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि  कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुर बहादुर चन्दका अनुसार प्रतियोगिताको शुभारम्भ अपरान्ह २ बजे हुने छ भने पहिलो खेल ४ बजे खेलाइने छ । मङ्सिर २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा लिग चरण, ३ वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन् ।  त्रिवि क्रिकेट मैदानलाई प्यारापिट र फ्लड लाइटको व्यवस्थासहित स्तरोन्नति गरिएका कारण दोस्रो संस्करण क्रिकेट प्रेमीबीच थप उत्साहको विषय बन्न पुगेको छ । उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच  प्रतिस्पर्धा हुनेछ । यस पटक रङ्गशालामा १० हजार जना अट्ने प्यारापिट निर्माण गरिएकोले दर्शकले सिटमै बसेर प्रतियोगिता हेर्न पाउने भएका छन् भने फ्लड लाइटका  कारण खेलहरू अन्य देशका रङ्गशाला सरह रातिसमेत सञ्चालन हुनेछन् ।  सहरी विकास मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदमार्फत क्यानलाई पहिलो एनपीएलको पूर्व सन्ध्यामा आइतबार साँझ मात्र चरणका संरचना हस्तान्तरण गरेको थियो । प्रतियोगिताका विजेता टोलीलाई पुरस्कार स्वरूप १ करोड १० लाख रुपैयाँ प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले २५ लाख रुपैयाँ तथा चौथो हुनेले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।  एनपीएल दोस्रोका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यस पटक दैनिक ९ हजार ४५० टिकट बिक्री गर्ने जनाएको छ । पहिलो दिनको खेलको टिकट २ दिन अगाडि नै बिक्री भइसकेको छ । उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ ५ सय रुपैयाँ र प्रिमियमतर्फ १ हजार ५०० रुपैयाँ राखिएको छ । यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य ५ सय रुपैयाँ र १ हजार रुपैयाँ तोकिएको छ । प्लेअफपछिका खेलका लागि जनरलतर्फ १ हजार रुपैयाँ र प्रिमियरतर्फ २ हजार रुपैयाँ राखिएको छ । क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार तय गरेको छ । एनपीएलमा साबिक विजेता जनकपुरसँगै साबिक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स गरेर ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । यस पटक एनपीएलबाट ४० करोड रुपैयाँ आम्दानी गर्ने क्यानको लक्ष्य छ ।

एनपीएल सिजन २ का लागि काठमाडौं गोर्खाजसँग फोनपे प्लाटिनम प्रायोजक

काठमाडौं । फोनपेले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि काठमाडौं गोर्खाजसँग प्लाटिनम प्रायोजकको रूपमा सहकार्य गरेको घोषणा गरेको छ । यस साझेदारीमार्फत फोनपेले राष्ट्रिय खेलकुदको प्रवर्द्धन, स्थानीय प्रतिभा विकास र समुदायस्तरमा सहभागिता वृद्धि गर्ने आफ्नो दीर्घकालीन प्रतिबद्धता पुनः दोहोर्याएको छ ।  फोनपेका अनुसार यो प्रायोजन युवालाई सशक्त बनाउने, खेलकुदमार्फत एकता र अनुशासनको संस्कृति विस्तार गर्ने, तथा राष्ट्रव्यापी डिजिटल भुक्तानीको प्रयोगलाई अझ प्रोत्साहित गर्ने उद्देश्यसहित अघि बढाइएको हो । फोनपे नेपालका सीईओ दिवासकुमारले सहकार्यप्रति खुशी व्यक्त गर्दै भने, 'हामी एनपीएल सिजन २ मा काठमाडौं गोर्खाजलाई समर्थन गर्न पाउँदा गर्व गर्छौँ । फोनपेले युवालाई प्रेरणा दिने, राष्ट्रिय गौरव बढाउने, र सुरक्षित तथा सहज डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने अभियानलाई निरन्तर अघि बढाइरहेको छ । खेलकुद मानिसहरूलाई एकत्रित गर्ने माध्यम हो, र त्यही भावना बोकेको टोलीसँग सहकार्य गर्न पाउँदा हामी उत्साहित छौँ ।' काठमाडौं गोर्खाजले पनि फोनपेले प्रदान गरेको समर्थनप्रति आभार व्यक्त गर्दै आगामी सिजनमा यो सहकार्यले टोलीलाई थप ऊर्जा र आत्मविश्वास प्रदान गर्ने प्रतिक्रिया दिएको छ ।  एनपीएल सिजन २ का लागि भएको यो प्रायोजनले देशमा खेलकुदको विकास र व्यावसायिक क्रिकेटको उचाइ बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

भिभो बन्यो एनपीएलको आधिकारिक स्मार्टफोन पार्टनर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण ‘फेस्टिभल अफ द हिमालयज’ मंसिर १ गतेबाट औपचारिक रूपमा सुरु हुँदैछ । महोत्सवको पूर्वसन्ध्यामा विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभो पुनः नेपाल क्रिकेट संघ (क्यान) सँग सहकार्य गर्दै एनपीएलको आधिकारिक स्मार्टफोन पार्टनर बनेको घोषणा गरेको छ । भिभोले साझेदारीसम्बन्धी घोषणा आफ्नो तथा एनपीएलको आधिकारिक फेसबुक र इन्स्टाग्राममार्फत सार्वजनिक गरेको हो । प्रतियोगिता प्रारम्भ हुनुअघि नै गरिएको यो घोषणाले क्रिकेटप्रेमीहरूमा थप उत्साह, ऊर्जा र अपेक्षा जगाएको छ । पहिलो संस्करण सफल रूपमा सम्पन्न भएपछि यस वर्षको एनपीएल अझ रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागितासहित २७ दिनसम्म चल्ने यस लिगलाई नेपाली क्रिकेटको उत्सवका रूपमा हेरिएको छ । भिभोले सहकार्यमार्फत नेपालमा खेलकुद, विशेषगरी क्रिकेटको विकासप्रति आफ्नो निरन्तर प्रतिबद्धता दोहोर्याएको छ । अत्याधुनिक प्रविधि, फ्यान–केन्द्रित गतिविधि र मनोरञ्जनात्मक कार्यक्रममार्फत यस वर्ष फ्यानहरूको खेल अनुभवलाई अझ प्रभावशाली बनाउन भिभोले लक्ष्य लिएको जनाएको छ । भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले भोलिदेखि सुरु हुने एनपीएलप्रति उत्साह प्रकट गर्दै भने, 'क्रिकेट नेपालीहरूलाई एकै ठाउँमा जोड्ने खेल हो । भिभो हरेक वर्ष फ्यानहरूको उत्साहलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित एनपीएलको यात्रा पुनः निरन्तरता दिन पाउँदा अत्यन्त खुशी छ ।' नेपाल क्रिकेट संघ (क्यान)का महासचिव पारस खड्काले भिभोको निरन्तर सहकार्यले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुगेको बताए । उनले भने, 'एनपीएल नेपाली खेलाडीहरूका लागि प्रतिभा प्रदर्शन गर्ने महत्त्वपूर्ण मञ्च बनेको छ । दोस्रो संस्करणले खेलाडी र फ्यान दुवैलाई नयाँ प्रेरणा र अवसर प्रदान गर्नेछ ।' प्रतियोगिताको अवधिभर भिभोले फ्यानहरूलाई लक्षित विविध डिजिटल तथा ग्राउण्ड एक्टिभेशन कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । यी गतिविधिहरूले फ्यान संलग्नता, मनोरञ्जन र क्रिकेटप्रतिको आकर्षणलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।