१४ करोडको रङ्गशाला बनेपछि भोजपुरमा खेल पर्यटनको सम्भावना बढ्यो

भोजपुर । रङ्गशाला निर्माणसँगै भोजपुरमा खेल गतिविधि बढेको छ । खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको भोजपुर अब पूर्वाधारका हिसाबले पनि सशक्त बन्दै गएको छ । भोजपुर नगरपालिका–७ कोदारमा रङ्गशाला निर्माण गरिएपछि खेल क्षेत्रको विकासमा थप टेवा पुगेको छ । देश सङ्घीय प्रणालीमा प्रवेश गरेपछि भोजपुरमा राष्ट्रियस्तरको रङ्गशाला निर्माणले खेल क्षेत्रलाई नयाँ गति दिएको छ । पाँच हजार दर्शक अट्न सक्ने क्षमतासहितको यो रङ्गशाला कोशी प्रदेश सरकारको रु १४ करोड पाँच लाखको लागतमा बनेको हो । करिब सात हजार वर्गमिटर क्षेत्रफलमा संरचना निर्माण गरिएको छ । कुल २५ रोपनी क्षेत्रफलमा फैलिएको रङ्गशालामा सात प्यारापिट तयार गरिएका छन् । विसं २०६४ मा तत्कालीन जिल्ला विकास समिति बोर्डले रु ५५ लाखमा जिल्ला खेलकुद परिषद्मार्फत जग्गा खरिद गरेको थियो । प्रारम्भिक चरणमा केही बजेट विनियोजन गरी स्तरोन्नतिको काम थालिए पनि पर्याप्त स्रोत अभावका कारण योजना अगाडि बढ्न सकेको थिएन । लामो समयदेखि अधुरो रहेको सपना अहिले साकार भएको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी जन्माउने जिल्लाका रूपमा परिचित भोजपुर अब आधुनिक खेल पूर्वाधारका हिसाबले पनि सुदृढ बन्दै गएको छ । रङ्ङशाला निर्माण सम्पन्न भएसँगै अब जिल्लामै राष्ट्रिय तथा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्न सहज भएको छ । यसले खेल पर्यटन प्रवद्र्धन, स्थानीय आर्थिक गतिविधिमा वृद्धि तथा नयाँ प्रतिभा पहिचान र उत्पादनमासमेत टेवा पुग्ने अपेक्षा गरिएको छ । यही भूमिमा जन्मिएकी अल्ट्रा धाविका मिरा राईले नेपाललाई अन्तरराष्ट्रिय जगतमा चिनाउन महत्वपूर्ण योगदान पुर्याएकी छन् । भोजपुरबाट ब्याडमिन्टनतर्फ नङशलादेवी तामाङ, रत्नजित तामाङ, सरादेवी तामाङ तथा विकास श्रेष्ठ, विवेक श्रेष्ठ र नवीन श्रेष्ठले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पहिचान बनाएका छन् । भलिबलका जोसन श्रेष्ठ, दुर्जकुमार राईलगायत थुप्रै खेलाडीले समेत जिल्लाको नाम उजागर गरेका छन् । यति धेरै खेल प्रतिभा जन्माउने जिल्लामा विगतमा पर्याप्त खेल पूर्वाधारको अभाव थियो । दीर्घकालीन योजना र लगानीको कमीका कारण खेलाडीले नियमित प्रशिक्षण, स्तरीय प्रतियोगिता तथा आवश्यक सुविधा नपाउँदा समस्या भोग्दै आएका थिए । विशेषगरी ठूला प्रतियोगिता आयोजना गर्न उपयुक्त रङ्गशाला नहुँदा जिल्लामा खेल गतिविधि सीमित हुने गरेको थियो । स्थानीय खेलप्रेमीका अनुसार आधुनिक सुविधासहितको रङ्गशाला निर्माण भएपछि युवाहरू खेलप्रति थप आकर्षित भएका छन् । रासस

इंग्ल्यान्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत इंग्ल्यान्डले नेपाललाई १८५ रनको उच्च लक्ष्य दिएको छ ।  टस जितेर पहिले ब्याटिङ गरेको इंग्लान्डलेर निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन बनाएको हो । इंग्ल्यान्डका लागि ज्याको बेथहेलले ५५ रनको र ह्यारी ब्रुक्सले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । बेथहेलले ३५ बलमा समान ४ चौका र छक्का प्रहार गर्दा कप्तान ब्रुक्सले भने ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए ।  यी दुईबाहेक जोस बटलरले २६ रन बनाउँदा विल ज्याक्स ३९ रनमा नटआउट रहे । उनले १८ बलमा १ चौका र ४ छक्काको विष्फोटक इनिङ्स खेले । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २-२ विकेट लिँदा शेर मल्ल र सन्दीप लामिछानेको नाममा १(१ विकेट रह्यो । विश्वकपमा नेपाल समूह ‘सी’ मा रहेको छ । समूहमा इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छन् ।

भिभोको विश्वकप उपभोक्ता अफर सार्वजनिक, स्मार्टफोन खरिदमा निःशुल्क जर्सी उपहार

काठमाडौं । भिभोले नेपाली क्रिकेट फ्यानहरूको उत्साहलाई सम्मान गर्दै नयाँ विश्वकप उपभोक्ता अफर सार्वजनिक गरेको छ । फेब्रुअरी २ देखि ६ सम्म सञ्चालन भएको दराज २.२ क्याम्पेनको सफलतापछि, भिभोले प्रविधि र क्रिकेटप्रतिको भावनालाई जोड्दै आफ्ना ग्राहकहरूका लागि यो विशेष योजना ल्याएको हो । भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले भने, 'नेपालमा क्रिकेट केवल एक खेल मात्र होइन, यो साझा राष्ट्रिय भावना हो । यस अभियानमार्फत हामी फ्यानहरूको निरन्तर समर्थनप्रति आभार व्यक्त गर्दै उनीहरूलाई भिभोको नवीन विशेषतासँगै राष्ट्रिय रंग (जर्सी) गर्वका साथ लगाउने अवसर दिन चाहन्छौं ।' यस योजना अन्तर्गत, भिभोको आधिकारिक अनलाइन प्लेटफर्म पार्टनर दराज मार्फत यही माघ २७ गतेसम्म रु. ३५,००० भन्दा माथिको जुनकुनै भिभो स्मार्टफोन खरिद गर्दा ग्राहकहरूले निःशुल्क विश्वकप जर्सी उपहार स्वरुप पाउनेछन् । यो अफर भिभो वाई ४००, भिभो भि६० लाईट, भिभो भि६०, भिभो एक्स २०० प्रो र भिभो एक्स ३०० प्रोमा लागू हुनेछ । उपभोक्ता अफरका अतिरिक्त, भिभोले विभिन्न डिजिटल तथा अन–ग्राउन्ड गतिविधिहरू पनि सञ्चालन गर्नेछ, जहाँ फ्यानहरूले अन्तरक्रियात्मक गतिविधिहरूमा सहभागी भई निःशुल्क जर्सी तथा अन्य आकर्षक उपहारहरू जित्ने अवसर प्राप्त गर्नेछन् । यो पहलले उपभोक्ताहरूलाई आफ्नो स्मार्टफोन अपग्रेड गर्नुका साथै नेपाली राष्ट्रिय क्रिकेट टोलीप्रति एकीबद्धता जनाउने मौका पनि दिएको छ । नेपाल प्रिमियर लिगदेखि विश्वकपसम्म, भिभोले सधैं क्रिकेट समुदायसँगै उभिँदै फ्यानहरूको उत्साहलाई सम्मान गर्दै नेपाली क्रिकेटलाई विश्वमञ्चमा अघि बढाउन समर्थन गर्दै आएको छ ।