अग्नी र लालबावुले दिए ओलीलाई धक्का, सचिवमा स्वतन्त्र उम्मेदवारी
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली प्यानलमा केन्द्रीय सदस्य पारिएका दुई नेताले उक्त प्यानलबाट बिद्रोह गर्दै सचिव पदमा उम्मेदवारी दिएका छन् । झापाका अग्नी खरेल र मोरङका लालबावु पण्डीतले फिर्ता नहुनेगरी उम्मेदवारी दिएको दाबी गरेका छन् । यसअघि पार्टीको स्थायी समिति सदस्य रहेका खरेल ओलीका विश्वास पात्र हुन् । ओली प्रधानमन्त्री हुँदा महान्याधिवक्ता र कानुन मन्त्री समेत रहेका खरेलको स्वतन्त्र उम्मेदवारीले ओलीलाई चुनौती दिन सक्ने देखिन्छ । पूर्व मन्त्री तथा स्थायी समिति सदस्य पण्डित पनि ओली निकट नेता हुन् ।
स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ
नेपालगञ्ज । प्रहरीले नेपालगञ्जमा स्रोत नखुलेको भारु तीन लाख ७२ हजार ७०० र एक लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–११ त्रिभुवन चोकबाट भारु ५०० का ६४५ थान, भारु १०० का ५०२ थान र १००० नेपालीका १०० थानसहित सुनिलकुमार बानियाँलाई पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा सोमबार बुझाउन लागिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए । नेपालगञ्जको त्रिभुवन चोकमा रहेको कुमार जनरल स्टोरका सञ्चालक बानियाँले स्रोत नखुलेको रकमको कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
महाधिवेशनको मुखमै एमाले संस्थापनभित्र तानातान, महासचिवमा पोखरेल र ज्ञवाली भिडन्त
काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु हुन लाग्दा संस्थापन पक्षभित्रै पदाधिकारी टुंगो लगाउन सकस देखिएको छ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संस्थापन समूहले अहिलेसम्म पदाधिकारीका उम्मेदवार अन्तिम रूपमा तय गर्न नसक्दा महाधिवेशनस्थलमा आन्तरिक छलफल र परामर्श तीव्र बनेका छन् । आइतबार रातभर शीर्ष नेताहरूबीच निरन्तर छलफल भए पनि सहमति जुट्न नसकेको बताइन्छ । विशेषगरी महासचिव पदमा दुई जना अनुभवी नेताको दाबी अघि सर्दा अध्यक्ष ओली पदाधिकारी बाँडफाँटमा अप्ठ्यारोमा परेका हुन् । ओली निकट एक नेताका अनुसार महासचिव पदलाई लिएर वर्तमान महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीबीचको आकांक्षाले संस्थापन समूहभित्रै सन्तुलन मिलाउन चुनौती उत्पन्न गरेको छ । वर्तमान महासचिव शंकर पोखरेलले आफूले सम्हाल्दै आएको जिम्मेवारीमा निरन्तरता चाहेको स्पष्ट संकेत गरिसकेका छन् । पार्टी संगठन विस्तार, सरकार र पार्टीबीचको समन्वय तथा पछिल्लो समय भएका राजनीतिक उतारचढावमा आफूले खेलेको भूमिकालाई आधार मानेर पोखरेलले दोहोरिने दाबी प्रस्तुत गरिरहेका छन् । उनका समर्थकहरू पनि महासचिव जस्तो महत्त्वपूर्ण पदमा अनुभव र निरन्तरताको आवश्यकता रहेको तर्क गर्दै आएका छन् । त्यसैगरी उपमहासचिव प्रदीप ज्ञवालीले भने एक तहको ‘प्रमोसन’सहित महासचिवमा दाबी गर्दै आएका छन् । पार्टी विचार, नीति तथा सार्वजनिक छविको हिसाबले आफू सक्षम रहेको र महासचिवको जिम्मेवारी सम्हाल्न सक्ने उनको बुझाइ छ । ज्ञवालीलाई पार्टीभित्र बौद्धिक र सन्तुलित नेताका रूपमा लिने समूहले पनि नेतृत्व पुस्तान्तरणको सन्देश दिन महासचिवमा उनलाई अघि सार्नुपर्ने तर्क गरिरहेका छन् । महासचिव पदमै दुई भेट्रान नेताको दाबी आएपछि अध्यक्ष ओलीलाई समग्र पदाधिकारी संरचना मिलाउन थप दबाब परेको छ । महासचिवसँगै उपाध्यक्ष, उपमहासचिव र सचिव पदमा समेत विभिन्न नेताहरूको आकांक्षा रहेकाले एउटा पदको निर्णयले अन्य पदाधिकारीको समीकरणसमेत प्रभावित हुने अवस्था छ । त्यसैले ओलीले हतारमा निर्णय गर्नुभन्दा सबै पक्ष सन्तुलित हुने गरी सहमति खोजिरहेको स्रोतको भनाइ छ । महाधिवेशनको बन्दसत्र सुरु भएसँगै नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने तयारी भइरहेका बेला संस्थापन पक्षभित्रै स्पष्ट प्यानल नबन्दा कार्यकर्तामाझ चासो बढेको छ । यद्यपि अन्तिम घडीमा अध्यक्ष ओलीको सक्रिय पहलमा सहमति जुट्ने र संस्थापन पक्षले एकीकृत प्यानल घोषणा गर्ने सम्भावना पनि उत्तिकै रहेको नेताहरू बताउँछन् । एमालेको ११ औँ महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वलाई आगामी राजनीतिक चुनौती सामना गर्नुपर्ने भएकाले महासचिव जस्तो पदमा कसलाई जिम्मेवारी दिइन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ । यसैबीच, पदाधिकारी चयनमा हुने निर्णयले पार्टीभित्र शक्ति सन्तुलन र भावी राजनीतिक दिशा निर्धारण गर्ने भएकाले छलफल अझै केही समय चल्ने संकेत देखिएको छ ।