एमाले महाधिवेशन सिधा नेतृत्व चयनतर्फ, ४० वर्षमुनिका युवालाई केन्द्रीय सदस्यमा कोटा

काठमाडौं । नेकपा एमाले आगामी नेतृत्व चयन प्रक्रियातर्फ अग्रसर भएको छ । पहिलो पटक पार्टीमा ४० वर्षमुनिका युवालाई केन्द्रीय सदस्यमा विशेष कोटा दिने निर्णयसहित एमाले आन्तरिक निर्वाचनतर्फ अघि बढेको नेताहरूले बताएका छन् । एमालेको आगामी केन्द्रीय कमिटीमा ४० वर्षभन्दा कम उमेर समूहबाट विभिन्न क्लस्टरबाट १५ जना केन्द्रीय सदस्य चयन हुने एक नेताले जानकारी दिए । पार्टीमा १ अध्यक्ष, १ महासचिव, ५ उपाध्यक्ष, ३ उपमहासचिव र ९ सचिवसहित ३०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन हुनेछ । साथै, केन्द्रीय अनुशासन आयोग र लेखा आयोगको समेत निर्वाचनको तयारी सुरु गरिएको निर्वाचन आयोगका एक नेताले जानकारी दिए । भक्तपुरको सल्लाघारीमा हिजो आयोजित महाधिवेशन उद्घाटनसँगै पार्टीले औपचारिक रूपमा नेतृत्व चयन प्रक्रिया सुरु गर्ने भएको हो । एमालेले नीतिगत तथा विधानगत तयारी गत भदौमै सम्पन्न गरिसकेकाले अब प्रत्यक्ष रूपमा नेतृत्व चयनतर्फ लागेको एक नेताले जानकारी दिए ।

एनपीएलका तीन उत्कृष्ट खेलाडीले पाए पल्सर एन१६० मोटरसाइकल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ ।  ‘टु ह्विलर पार्टनर’ रहेको गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलासचन्द एण्ड कम्पनीले शनिबार एनपीएल दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडी रोहितकुमार पौडेल, सन्दीप लामिछाने र शेर मल्ललाई पल्सर मोटरसाइकल (एन१६०) पुरस्कारस्वरुप प्रदान गरेको हो । एनपीएल दोस्रो संस्करणको उपाधि जितेको लुम्बिनी लायन्सका कप्तान तथा सबैभन्दा बढी रन बनाएका रोहितकुमार पौडेलले पल्सर मोटरसाइकल प्राप्त गरे । उनले यस सिजनमा २ सय ७६ रन जोडेका हुन् । विराटनर किंग्सका कप्तान तथा सबैभन्दा बढी विकेट लिएका सन्दीप लामिछानेलाई पनि पल्सर मोटरसाइकल प्रदान गरिएको हो । लामिछानेले १७ विकेट हात पारेका हुन् । यस सिजनकै इमर्जिङ प्लेयरको उपमा पाएका लुम्बिनीका शेर मल्ललाई पल्सर मोटरसाइकल (एन१६०) प्रदान गरिएको गोल्छा ग्रुपले जनाएको छ । यस टुर्नामेन्टमा सानदार बलिङ गरेका मल्लले १७ विकेट लिएका थिए ।  गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने– 'कम्पनीले खेललाई सधैं प्राथमिकतामा राख्दै आएको छ, सम्झौताअनुसार उत्कृष्ट खेलाडीलाई पल्सर मोटरसाइकल दिन पाउनु खुसीको कुरा हो, ब्रान्डलाई खेलसँगै जोडेर अघि बढाउन हामी सधैं प्रतिबद्ध छौं ।' यसअघि कात्तिक १३ गते गोल्छा ग्रुप र नेपाल क्रिकेट संघ(क्यान)बीच एनपीएलका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गर्ने सम्झौता भएको थियो ।  कीर्तिपुर अन्तर्राष्ट्रिय रंगशालामा मंसिर १ गतेदेखि सुरू भएको एनपीएलको दोस्रो संस्करण मंसिर २७ गते शनिबार सम्पन्न भएको छ ।

गोरखा ब्रुअरी र खालिसीसीबीच बोतल व्यवस्थापन सहकार्य

काठमाडौं । गोरखा ब्रुअरी कार्ल्सबर्ग समूहले देशभरका व्यवसायिक स्थानलाई समेट्दै बोतलको पुनःप्रयोग प्रक्रियालाई सहज र प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ अभियान अघि सारेको छ । ‘नेभर लिभ ए बोटल बिहाइन्ड’ भन्ने मूल नारासहित खालिसीसीसँगको सहकार्यमा सुरु गरिएको यस अभियानले जिम्मेवार स्रोत व्यवस्थापन (रिसोर्स म्यानेजमेन्ट)लाई व्यवहारमा उतार्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । अभियानअन्तर्गत खालिसीसीले बार तथा रेस्टुरेन्टहरूसँग प्रत्यक्ष समन्वय गर्दै प्रयोग भइसकेका शिशाका बोतललाई व्यवस्थित रूपमा संकलन, वर्गीकरण र पुनःप्रयोगको प्रक्रियामा पठाउनेछ । यसबाट व्यवसायिक स्थानमै अवशिष्ट व्यवस्थापनको एकीकृत र सहज प्रणाली विकास हुने अपेक्षा गरिएको छ । यो मोडेलले व्यवसायिक क्षेत्रको जिम्मेवारी बढाउने, बोतल व्यवस्थापनलाई सरल बनाउने र पुनःप्रयोग गर्न सकिने शिशा ल्यान्डफिलमा पुग्ने मात्रा उल्लेखनीय रूपमा घटाउने कम्पनीको विश्वास छ । गोरखा ब्रुअरीले खालिसीसीसँगको सहकार्यले कुनै पनि बोतल बेवास्ता नहुने प्रतिबद्धतालाई व्यवहारमा उतारिएको उल्लेख गर्दै व्यवस्थित पुनःप्रयोग समाधानमार्फत आफ्ना दिगोपनसम्बन्धी लक्ष्यलाई थप मजबुत बनाउँदै सफा तथा हरियो नेपाल निर्माणमा योगदान पुर्‍याइरहेको जनाएको छ ।