काठमाडौं । चीन जान लागेका एक नेपाली ४३ हजार अमेरिकी डलरसहित पक्राउ परेका छन् । आइतबार काठमाडौंबाट टिमुरे जाँदै गरेको बा प्र ०१००६ ख ९५१५ नम्बरको यात्रुबाहक बसबाट ३७ वर्षीय सुशील गुरुङ पक्राउ परेका हुन् ।
उनको साथबाट १०० को ३६३ वटा, ५० को ११२ वटा, २० को २९ वटा, १० को ५० वटा, ५ को ३ वटा र १ को ५ वटा अमेरिकी डलर फेला परेको थियो ।
अमेरिकन डलर लिएर गुरुङ चीन लागेका थिए । उनी गाइडको रूपमा समेत काम गर्ने गरेको अनुसन्धानबाट खुलेका रसुवा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजु शाहले जानकारी दिए ।
रसुवाको उत्तरगया गाउँपालिका–५ बेत्रावती बजारस्थित पासाङ ल्हामु सडक खण्डमा प्रहरीले नियमित सवारी साधनहरू चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।
धादिङको गंगाजमुना गाउँपालिक–५ का ३७ वर्षीय गुरुङलाई आजै बिहान राजश्व अनुसन्धानको कार्यालयमा बुझाइसकेको शाहले जानकारी दिए ।