नेपाल र भियतनामबीच लगानी र व्यापार सहकार्यबारे छलफल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र भियतनामको अर्थतन्त्र मन्त्रालयअन्तर्गतको लगानी प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सहकार्य विभागबीच द्विपक्षीय लगानी र व्यापारका विषयमा छलफल भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले लगानी प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सहकार्य विभागका प्रमुख होआङ थान्ह तामसँग भियतनामको हनोईमा शुक्रबार भेटवार्ता गरेको हो । भेटवार्तामा महासंघले नेपालमा लगानीमैत्री वातावरण रहेको र लगानीका सम्भाव्य क्षेत्रमा भियतनामी लगानीकर्ताका लागि सहजीकरण गरिदिन आग्रह गरेको हो । सो अवसरमा अध्यक्ष ढकालले आफूहरू भियतनामी लगानीकर्तालाई लगानीका लागि नीतिगत सहजीकरण गर्न तयार रहेको बताए । 'नेपालमा लगानीका कैयौँ क्षेत्र छन्, ती क्षेत्रमा ठूलो सम्भावना पनि छ । म भियतनामी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्दछु । यसका लागि महासंघले सरकारसँगको समन्वय तथा सहकार्यका लागि आवश्यक सहजीकरण गर्नेछ,' अध्यक्ष ढकालले भने । उनले नेपालमा विशेष गरी पर्यटनअन्तर्गत होटल, रिसोर्ट, केबलकार, आरोग्य (वेलनेस) पर्यटन, जलविद्युत्, सूचना प्रविधि तथा चिया, कफी र हस्तकलाको व्यापारमा ठूलो सम्भावना रहेको उल्लेख गरे । नेपालले हाल भियतनामबाट धेरै आयात गर्ने र कम निर्यात गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले दुई देशबीचको व्यापार तथा औद्योगिक सहकार्यलाई अझ बलियो बनाउन दुवै पक्षको गहिरो चासो रहेको पनि बताए । भियतनामको लगानी प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सहकार्य विभागका प्रमुख होआङ थान्ह तामले भियतनामको आर्थिक अवस्था, प्रत्यक्ष वैदेशिक लगानी तथा लगानीका सम्भाव्य क्षेत्रबारे जानकारी दिँदै आफूहरू नेपालसँग आर्थिक कूटनीतिमार्फत सम्बन्ध विस्तार गर्न इच्छुक रहेको बताए । 'नेपालले विभिन्न क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि गरिरहेको प्रयास सराहनीय छ । हामीले निर्यातजन्य उद्योग, पर्यटन र जलविद्युत् क्षेत्रमा काम गर्न सक्छौँ,' उनले भने, 'यसका लागि नेपालमा लगानी गर्न चाहने भियतनामी लगानीकर्ताको सहजीकरणका लागि हामी तयार छौँ ।' साथै, उनले सन् २०२५ को अगस्टमा भियतनामका उपराष्ट्रपतिको नेपाल भ्रमण भएको तथा चीनमा भियतनामका राष्ट्रपति र नेपालका प्रधानमन्त्रीबीच भेट भएको उल्लेख गर्दै आगामी दिनमा सम्बन्ध अझ बलियो बनाउनुपर्नेमा जोड दिए । सोही अवसरमा अध्यक्ष ढकालले महासंघको आगामी चैतमा हुने अधिवेशनमा सहभागिताका लागि विभागका प्रतिनिधि तथा भियतनामी लगानीकर्तालाई निम्तो पनि दिएका थिए । भेटवार्ताका क्रममा महासंघका उपाध्यक्ष हेमराज ढकालले निर्यातजन्य उद्योगमा लगानीका लागि नेपाल उपयुक्त गन्तव्य रहेको जानकारी गराउँदै लगानी र व्यापारका क्षेत्रमा रहेको ठूलो सम्भावनाको उपयोग गर्न सके दुवै देशले लाभ लिन सक्ने बताए । महासंघकी अर्की उपाध्यक्ष ज्योत्सना श्रेष्ठले नेपाल र भियतनामले अटोमोबाइल तथा पर्यटन क्षेत्रमा सहकार्य गरी लाभ लिन सक्ने बताइन् । पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको उल्लेख गर्दै उनले भियतनामी लगानीकर्तालाई नेपालमा विद्युतीय सवारीसाधनको एसेम्बली उद्योगमा लगानीको सम्भावना रहेको बताउँदै त्यसतर्फ ध्यान दिन आग्रह गरिन् । महासंघका कोषाध्यक्ष भरतराज आचार्यले दुई देशबीच लगानी, व्यापार तथा आर्थिक गतिविधि विस्तारका लागि कनेक्टिभिटी महत्वपूर्ण रहेको उल्लेख गरे । उनले नेपालमा ऊर्जा क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेकाले सो क्षेत्रमा लगानी बढाएर भियतनामी लगानीकर्ताले लाभ लिन सक्ने बताए । महासंघअन्तर्गतको स्टार्टअप एण्ड इनोभेसन फोरमकी सभापति जुना माथेमाले नवप्रवर्तनको क्षेत्रमा सीप, पुँजी र प्रविधिमा दुई देशबीच सहकार्य गर्न सकिने धारणा राखिन् । यसअघि महासंघको टोलीले बिहीबार भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका उपकार्यकारी अध्यक्ष न्युगेन क्याङ भिनसँग भेट गरी नेपाल र भियतनामबीच लगानीका सम्भावना तथा अवसरबारे छलफल गरेको थियो ।
एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड, दुई हजार ५०० सुरक्षाकर्मी तैनाथ
भक्तपुर । सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा शनिबारबाट सुरु हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ । विभिन्न जिल्लाबाट बस रिर्जभ गरी रात्रिको समयमा आएका प्रतिनिधि एवं कार्यकर्ताको उद्घाटनस्थलको गेट बाहिर भीड लागेको हो । महाधिवेशनका लागि निर्माण गरिएको विशाल मञ्च, सभास्थल तथा आवश्यक भौतिक संरचनाको काम पूर्णरूपमा सम्पन्न भइसकेको एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले जानकारी दिए । उनका अनुसार मञ्च, ध्वनि प्रणाली, प्रकाश व्यवस्था, एलइडी स्क्रिन, बसाइँ व्यवस्था तथा व्यवस्थापनसम्बन्धी सबै तयारी तोकिएकै समयमै सम्पन्न गरिएको जानकारी दिँदै उनले शनिबार बिहानैदेखि आएका नेता तथा कार्यकर्तालाई गेट बाहिरै राखिएको बताए । उद्घाटनस्थलाई व्यवस्थित गर्न, सुरक्षा जाँचलाई दुरुस्त राख्नका लागि बिहान १०ः३० सम्मका लागि गेट बन्द गरिए ११ बजेबाट प्रवेश कार्यक्रमस्थलमा प्रवेश गर्नेको भीड लागेको छ । आज दिउँसो १२ः३० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा राखिएको विद्युतीय पालालाई रिमोटद्वारा बालेर उद्घाटन गर्ने गरी तयारी भएको छ । पार्टीको ११औँ महाधिवेशन भएकाले पार्टीका ११ झण्डा राखिएकामा १० वटा झण्डा सुरुमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराउने गरी तयारी गरिएको छ । औपचारिक रूपमा उद्घाटन गर्न महाधिवेशनको शुभारम्भ गर्ने तयारी सम्पन्न भएको जानकारी दिँदै उनले महाधिवेशनस्थलमा सुरक्षाका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्वयंसेवक परिचालन गरिएको जानकारी दिए । दुई हजार ५०० सुरक्षाकर्मी तैनाथ महाधिवेशन उद्घाटनस्थलको सुरक्षालाई ध्यानमा राख्दै बम विस्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले आज बिहान जाँच गरेको जानकारी दिँदै सुरक्षा व्यवस्थालाई कडा पारिएको प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जानकारी दिए । उनले बम डिटेक्टर उपकरण प्रयोग गरी मञ्च, सभास्थल र वरपरका क्षेत्रमा सुक्ष्म जाँच गरेको जानकारी दिँदै सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका प्रहरी गरी दुई हजार ५०० सुरक्षाकर्मी उद्घाटनस्थलमा तैनाथ गरिएको जानकारी दिए । सुरक्षाको व्यवस्थामा कुनै कमी नरहने गरी व्यवस्थापन गरेको जानकारी दिँदै उनले सिसी क्यामराबाट निगरानी गर्ने टोलीसमेत खटाएर सुरक्षा निगरानी गरिरहेको बताए । सभास्थलका साथै र्याली आउने स्थल, सडक, पार्किङस्थललगायत क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका सुरक्षाकर्मी तैनाथ गरिएको जानकारी दिए । कार्यक्रमस्थलमा कहिकतै शङ्कास्पद गतिविधि भएको देखिए तत्कालै पक्राउ गर्ने गरी तयारी गरेको उनले जानकारी दिए । ५० भन्दा बढी सिसी क्यामरा उद्घाटनस्थलको मञ्च, मञ्च प्रवेश गर्ने गेट, आसपासका क्षेत्र र सभास्थलको बीच तथा वरिपरिका क्षेत्रमा ५० भन्दा बढी सिसी क्यामरा जडान गरिएको छ । एमाले अध्यक्ष देउजाले कार्यक्रमस्थलमा ५० भन्दा बढी सिसि क्यामरा जडान गरिएको र त्यसको निगरानी एमालेको एक युवा टोली र सुरक्षाकर्मीले गरिरहेको जानकारी दिए । गाउँगाउँबाट र्याली सुरु महाधिवेशनको उद्घाटनस्थलमा आउनका लागि भक्तपुरका चारवटै पालिकाले गाउँगाउँबाट र्याली सुरु गरेको छ । सूर्यविनायक नगरपालिकाअन्तर्गत वडा नं १ देखि ५ सम्मल कटुञ्जेबाट, वडा नं ७ ले गुण्डुबाट, वडा नं ६ देखि १० सम्मले जगाती एवं सूर्यविनायक चोकबाट र्याली सुरु गरेको छ । चाँगुनारायण नगरपालिकाअन्तर्गत वडा नं. १ देखि ४ सम्मले दुवाकोटबाट, वडा नं ५ देखि ८ सम्मले कमलविनायकबाट र वडा नं ९ ले भक्तपुर नगरपालिकाबाट सुरु हुने च्यायामासिंहस्थित र्यालीमा मिसिएर ¥याली सुरु भएको छ । भक्तपर नगरपालिकाले नगर क्षेत्र परिक्रमा गर्दै कार्यक्रमस्थलमा आउने गरी र्याली सुरु गरेको छ भने मध्यपुथिमि नगरपालिकाले शङ्खधर चोकबाट र्याली सुरु गरेको छ । सबै र्यालीमा विभिन्न जाति, भेषभूषा एवं कला र संस्कृति झल्कने बाजा तथा झाकी एवं नृत्य प्रदर्शन गर्दै ¥याली सुरु भएको छ । विभिन्न जिल्लाबाट आउने सहभागीहरुको र्याली भने पूर्वतर्फ जगातीबाट र पश्चिमतर्फ गठ्ठाघरबाट सुरु हुँदैछ । यस्तो रहनेछ उपस्थिति महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधिको सहभागिता रहने जानकारी दिँदै महाधिवेशन जनपरिचालनका सञ्चालक एवं एमाले स्थायी कमिटी सदस्य डा राजन भट्टराईले महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट तीन लाख नेता तथा कार्यकर्ताको उपस्थित रहने बताए । उनले कार्यक्रममा नेपालको एकताको प्रतिकका रुपमा २०० भन्दा बढी नेपाली विभिन्न जातजातिको कला, संस्कृति झल्काउने झाँकीको प्रदर्शन हुने बताए । उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस सभापति, नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायतका १६ पार्टीका अध्यक्ष एवं नेताले शुभकामना दिने कार्यतालिका तय भएको जानकारी दिँदै उनले भ्रातृत्व, मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कूटनीतिक नियोग एवं विभिन्न पार्टीका प्रतिनिधिको शुभकामना सन्देश प्राप्त भइसकेको जानकारी दिए । त्यसैगरी महाधिवेशन स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालले महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न पार्टीको २४ का जनसङ्गठनहरूको प्रतिनिधित्व रहने गरी ५०० बढी स्वयंसेवक ककड्रेसकोडमा खटिएको जानकारी दिए । जनसेवालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिएको जानकारी दिए । एमालेले लिच्छविकालमा राजा हरिदत्तले स्थापना गरेको चाँगुनारायणको ऐतिहासिक मन्दिरलाई मुख्य स्वरुपमा राखेर उपत्यकाका महत्वपूर्ण विभिन्न मन्दिर एकै ठाउँ देखाउने गरी नेपालकै इतिहासमा पहिलो पटक यति ठूलो र कलात्मक एवं ऐतिहासिकता झल्कने आकर्षक मञ्च निर्माण गरिएको छ । मञ्चलई धेरै सहभागीहरुले उत्कृष्ठताको नमूनाको संज्ञा दिएका छन् । टाढासम्म रहेका सहभागीले वक्ताले बोलेको प्रस्ट देखिने गरी मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुई वटा एलइडी स्क्रिन राखिएको, तीन किलोमिटर परसम्म सुन्न सकिने ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम जडान गरिएको र मञ्च अगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद एवं विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरुका लागि २५ हजार कुर्सी राखिएको छ । यस्तो छ पार्किङको व्यवस्था महाधिवेशनको उद्घाटन सत्रमा सहभागी विभिन्न जिल्लाबाट आउने सवारीसाधनका लागि निम्ति कोटेश्वरबाट गट्ठाघरसम्म गाडीमा आउन सकिने र गठ्ठारघमार रहेको नागरिक उड्डयन प्राधिकरणको खाली चौरमा तथा काभ्रे हुँदै आउने सवारीका लागि जगातीस्थित भाइरल प्लानिङमा पार्किङको व्यवस्था गरिएको जानकारी दिँदै गठ्ठाघर र जगातीबाट भव्य ¥याली कार्यक्रमस्थल आउने गरि व्यवस्था गरिएको जानकारी दिएको छ । रासस
कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस
तनहुँ । नेपाली कांग्रेस तनहुँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुवै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । पार्टीको शुक्रबार सम्पन्न जिल्ला कार्यसमितिको बैठकले क्षेत्र नम्बर १ र २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार, समानुपातिक उम्मेदवार र राष्ट्रियसभा सदस्य उम्मेदवार सिफारिस गरेको हो । क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ केन्द्रीय सदस्य गोविन्द भट्टराईसहित १० जना सिफारिस गरिएको पार्टीका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । यस्तै क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य शङ्कर भण्डारीसहित सात जनाको नाम सिफारिस गरिएको छ । खनालका अनुसार राष्ट्रियसभाका लागि केन्द्रीय सदस्य ध्रुव वाग्लेसहित सात जनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ गोविन्द भट्टराई, रामचन्द्र पोख्रेल, सरिता गुरुङ, दीपक भट्टराई, डा जगदीशचन्द्र पोखरेल, रमेशबाबु भट्टराई, पुरुषोत्तम खनाल, उद्धव पौडेल र श्याम कुमारी मौराती सिफारिस भएका छन् । यस्तै समानुपातिकतर्फ दलिततर्फ डोबाटे विक र यमुना विक, महिलातर्फ चिनु पोखरेल, पवित्रा पौडेल, मीरा जोशी, चिजा श्रेष्ठ, एलिजा ढकाल, अपाङ्ग अल्पसङ्ख्यकतर्फ प्रकाश पन्थ, जब्बरदिन मिया मुन्ना, साहिदा खातुन र अन्यतर्फ समुन्द्र गोदार तथा हरिदत्त पौडेल सिफारिस भएका छन् । क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ शङ्कर भण्डारी, प्रदीप पौडेल, पुष्पराज पराजुली, चुडामणि खनाल, चामबहादुर थापा, डा यदुनाथ खनाल र नवीन खनालको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ मायादेवी राना, इन्दिरा खनाल र सन्तोष घिमिरेको नाम सिफारिस गरिएको छ । राष्ट्रियसभाका लागि कुलचन्द्र वाग्ले, धु्रव वाग्ले, रघुनाथ पौडेल, लक्ष्मी आचार्य, डा कृष्णप्रसाद गौतम, अर्जुन अधिकारी र विद्या खनालको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर १ र २ को संसदीय समितिको सिफारिस अनुसारको नामावली नेपाली कांग्रेस तनहुँमार्फत गण्डकी प्रदेश कार्यसमिति हुँदै केन्द्रीय कार्यसमितिमा सिफारिस गरिएको खनालले बताए ।