देशभर १० हजार ९ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने भएको छ । निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८ वटा मतदान स्थल थप गरेको छ । साविकमा दश हजार ८९२ मतदान स्थल रहेका थिए । यस्तै, प्रयोगमा नरहेका र समायोजित भएका ९३ वटा मतदानस्थल भने खारेज गरिएको छ । आम मतदातालाई सहज, सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि मतदानस्थल तय गरिएको आयोगले जनाएको छ । मतदातालाई अपायक परेका, प्रयोगका नरहेका मतदान केन्द्र खारेज गरी पायक पर्ने स्थानमा थप गरिएको हो । मतदानस्थल पुनरावलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुटी सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा सबै मतदातालाई स्थानान्तरण गरिनेछ । यसैगरी, मतदातालाई साविककै अर्को मतदानस्थलमा समायोजनसमेत गरिएको छ । आयोगले यसअघि नै सार्वजनिक सूचनामार्फत मतदानस्थल पुनरावलोकनका लागि सूचनामार्फत जानकारी गराएको थियो । पुनरावलोकनको क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा समावेश हुन छुट भएको भए दावी विरोध गर्न आग्रह गरेको थियो । एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायक पर्ने अर्को मतदानस्थलमा नाम सार्नका लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको आयोगले उल्लेख गरेको थियो । यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी भएसँगै आसन्न निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत निर्धारण पनि सहज भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शुक्रकार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेका हुन्। नेपाल सरकारले २०७८को जनगणनाको प्रतिवेदनबमोजिमको दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिमको जनसङ्ख्या प्रतिशतको आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसूची १ लाई संशोधन गर्न सिफारिस गरेको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसूची–१ मा राष्ट्रिय जनगणना २०६८ अनुसार समावेशी समूहको प्रतिशत उल्लेख छ । प्रतिनिधिसभा सदस्यअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय जनगणना २०७८को जनसङ्ख्याका आधारमा समावेशी आधार प्रतिशतका आधारमा दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने छ । उक्त प्रणालीका लागि आवेदन दिएका राजनीतिक दलले यही पुस १३ र १४ गते बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा तोकिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन्
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ जना आइसकेका र अन्य व्यक्ति आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आन्दोलन भएको तीन महिना अवधि बितिसक्दा पनि सम्पर्कमा नआएकाहरूको खोजी कार्य तीव्र बनाइएको छ । केही कैदीबन्दीहरू आफू खुसी कारागार फर्किने गरे पनि कतिपयलाई खोजी गरी पक्राउ गर्न थालिएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । त्यसैगरी जेन्जी आन्दोलनमा कारागारबाट फरार रहेका जिल्ला गोरखा पालुङटार नगरपालिका–७ बस्ने २२ वर्षीय सुमन परियालाई बिहीबार पक्राउ गरिएको छ । नकवजनी चोरी मुद्दाको कैदी परियारलाई तनहुँबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारबाहीको लागि कारागार पठाइएको उनले बताए ।
कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीसँग छलफल गर्दै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बिहान ९ बजे शीर्ष पदाधिकारीहरूको बैठक बस्ने तय भएको कांग्रेस स्रोतले जनाएको छ। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीभित्रको आन्तरिक व्यवस्थापन, संगठन सुदृढीकरण , सक्रिय सदस्यता र आगामी महाधिवेशनका बारे छलफल हुने भएको छ । बैठकमा कार्यबाहक सभापति पुर्ण बहादुर खड्का , उपसभापति धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सहभागिता रहनेछ भने छलफलको निष्कर्षका आधारमा आवश्यक निर्णयहरू अगाडि बढाइने कांग्रेसले जनाएको छ।