काठमाडौं । भारतमा बसेर ‘बिजनेस स्टार्टअप भिसा’मा नेपालीलाई क्यानडा लैजाने भन्दै ठगी गर्ने दुईजना भारतीय पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार शनिबार काठमाडौंबाट २६ वर्षीय अमित कुमार र ३९ वर्षीय राहुल कुमार पक्राउ परेका हुन् ।
उनीहरूले बिजनेस स्टार्टअप भिसामा क्यानडा लाने भन्दै एक व्यक्तिबाट ८० हजार अमेरिकी डलर उठाउने गरेका थिए । डब्ल्यूसीएस इमिग्रिसेन सर्भिस नेपाल नामको कार्यालय सञ्चालन गरी ठग्दै आएका हुन् ।
कार्यालयका अनुसार प्रारम्भिक अनुसन्धानबाट चार जनालाई ठगी गरेको खुलेको छ । उनीहरूले विभिन्न व्यक्तिबाट १ करोड ५७ लाख ६५ हजार चार सय रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विभिन्न देशमा कार्यालय रहेको भनी पीडितहरूबाट भिसा अप्लाई गर्न भनेर अमेरिकी डलर दश हजार लिने गरेका थिए ।
त्यसैगरी, विभिन्न बहानामा पटक-पटक रकम असुल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
रोजगारीका लागि क्यानडा पुगेर वर्क परमिटमा उल्लेखित अस्पताल नभेटिएकाले पीडितहरु फर्केर आएको कार्यालयका प्रमुख सन्तोष खड्काले जानकारी दिए ।
उनका अनुसार नेपाली नागरिकको नाममा कार्यालय दर्ता गरेको खुलेको छ । यद्यपि कार्यालय प्रमुखसहित अधिकांश कर्मचारी भारतीय नागरिक रहेका थिए ।
दर्तावाला सञ्चालक भारतमा बसेर काठमाडौंमा कार्यालय सञ्चालन गर्दै आएका थिए ।
डब्ल्यूसीएस इमिग्रिसेन सर्भिस नेपालले कोही कसैलाई ठगी गरेको भएमा जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौंमा सम्पर्क गर्न प्रमुख खड्काले अनुरोध गरेका छन् ।