गोलभेँडा प्रतिकिलो १२० रुपैयाँ, अरू तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि विविध तरकारी तथा फलफूलको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।  समितिका अनुसार सोमबार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १०५, गोलभेँडा सानो (लोकल) ८५, गोलभेँडा सानो (टनेल) १०४, गोलभेँडा सानो (भारतीय) ११० र तराई गोलभेँडा १२० रुपैयाँ तोकिएको छ । आलु रातो ५०, रातो (भारतीय) ४५, आलु सेतो ४२ र प्याज (भारतीय) ३२ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ । तरकारीतर्फ गाँजर (लोकल) १४०, तराई गाँजर १२०, बन्दा (लोकल) ६५, बन्दा (तराई) ५५ र काउली (लोकल) ६५, काउली (तराई) ६० कायम छ । सेतो मूला (लोकल) ३०, हाइब्रिड ४५ र भन्टा ५०–६० रुपैयाँ प्रतिकिलोमा कारोबार हुने समितिले जनाएको छ । त्यस्तै तने बोडी १७५, मकै बोडी ६०, मटरकोसा १२०, घिउसिमी (लोकल १५०, हाइब्रिड १६०) र टाटेसिमी ११० कायम गरिएको छ । तिते करेला १५०, लौका ७०, परवर (१००–११०), घिरौला ११०, पाकेको फर्सी ३०, हरियो फर्सी ६०–७०, भिन्डी १४०, तरुल ८०, च्याउ २३०–३७०, कुरिलो १०००, ब्रोकाउली १३०, रातो बन्दा १०० रुपैयाँ तोकिएको छ । सागसब्जीमा रायो साग ७०, पालुङ्गो १८०, चमसुर १३०, तोरीको साग ६०, मेथी साग १५०, हरियो प्याज ६०, बकुला १४०, जिरी साग ५००, पार्सले ६५० र पुदिना ५५० पुगेको रुपैयाँ छ । फलफूलमा स्याउ (झोले) २००, फुजी २८०, केरा दर्जन १३०, कागती १००, अनार ३८०, सुन्तला (नेपाली) १००, तरबुजा ७५, जुनार २५०, नास्पाती (चाइनिज) २००, मेवा ९०, अम्बा ८०, स्ट्रबेरी ५००, सरिफा १८० र आभोकाडो २५० रुपैयाँ प्रतिकिलो कायम गरिएको समितिले जनाएको छ ।  

आज विराटनगर र जनकपुर, सुदूरपश्चिम र कर्णाली भिड्दै

काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुनेछन् । पहिलो खेलमा बिहान पौने १२ बजे साबिक विजेता जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा अपरान्ह ४ बजे साविक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर र सुदूरपश्चिम अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छन् । अनिल साहका कप्तानीमा रहेको जनकपुर पहिलो खेलमै काठमाडौं गोर्खाजसँग ५ विकेटले पराजित भएको थियो । उपाधि दावेदारी प्रस्तुत गर्न  जनकपुरलाई विराटनगरविरुद्ध पुनरागमन गर्दै लय समाउने चुनौती छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर लगातार तेस्रो खेल जित्ने लक्ष्यमा छ । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमाडौं विरुद्ध  जित दर्ता गरेको थियो । यी दुईबीच गत संस्करण उद्घाटन खेलमा भएको भेटमा जनकपुरले ८ विकेटको सहज जित निकालेको थियो । आज उक्त बदला दिने सोच विराटनगरको रहने छ । दोस्रो खेलमा आजै  दिपेन्द्र सिंह ऐरीको कप्तानीको सुदूरपश्चिम र सोमपाल कामी नेतृत्वको कर्णाली आमनेसामने हुनेछन् । गत संस्करण उत्कृष्ट प्रदर्शनका बाबजुद फाइनलमा स्तब्ध बनेको सुदूरपश्चिम यस पटक उपाधि जित्ने दाउमा छ । यता, पहिलो खेलमा चितवन राइनोजसँगको हारबाट जारी संस्करण सुरु गरेको कर्णालीले शनिबार लुम्बिनी लायन्सलाई हराउँदै उत्कृष्ट पुनरागमन गर्यो । ९ विकेटको रबाफिलो जित निकाल्ने क्रममा कर्णालीका मार्क वाटले विष्फोटक शतकीय पारी खेल्दै जित दिलाएका थिए । गत संस्करण रनरेटमा माथि पर्दै प्लेअफ पुगेको कर्णाली यस पटक सहज यात्राको चाहनामा छ । गत संस्करणमा  सुदूरपश्चिमले कर्णालीलाई ६ विकेटले स्तब्ध पारेको थियो । आज उक्त हार दोहोर्याउने पक्षमा  कर्णाली हुनेछैन । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १ गते सुरू भएको प्रतियोगिता मङ्सिर २७ मा समापन हुनेछ ।

वालनटमा बिल तिर्दा नौलो अभ्यास सुरू, ६ नम्बर ल्याए २ हजारसम्मको खाना नि:शुल्क

काठमाडौं । वालनट बिस्ट्रो रेष्टुरेण्टमा खाजा वा खाना खाएर बील धेरै उठेको छ? अबदेखि चिन्ता नगर्नुहोस भाग्यमानी बन्न सक्नुभयो भने २ हजार सम्म भारी छुट पाउनु हुनेछ । अझ भनौँ २ हजार मात्र बील उठेको छ भने त सित्तैमा खान पाइनेछ । तर कसरी ? बील तिर्न काउण्टरमा जाँदा लक्की नम्बर छक्का (६) निकाल्नुहोस् । २ हजार रूपैयाँसम्मको भारी छुट पाउनु हुनेछ । पानीपोखरीस्थित वालनट बिस्ट्रो रेष्टुरेण्टले सेवाग्राहीलाई लक्षित गरेर नौलो र रमाइलो खेल सुरूवात गरेको छ । खाना,खाजा तथा विभिन्न परिकारका खाना खाएको बिल तिर्न काउण्टरमा पुग्दा लक्की नम्बर छक्का निकालेमा २ हजारसम्मको छुट पाउने रेष्टुरेण्टका निर्देशक आकाश पौडेलले जानकारी दिए । ‘यो अफर दिउँसो २ बजेदेखि ६ बजेसम्म लागू हुन्छ। सामान्यतया यसलाई शान्त समयको रूपमा लिइन्छ,’ उनले भने,’ त्यसैले बिस्ट्रोले यो अफर ल्याएको हो, ताकि त्यतिखेर पनि ग्राहकको आवागमन बढोस भनेर हो।’ यो अफर २ हजार भन्दा कम बिल उठे पनि लागू हुने उनले जानकारी दिए । डाइस घोल्दा ६ नम्बर निस्केमा २ हजार भन्दा कमको बिल छ भने नि:शूल्क सेवा लिन पाइने उनको भनाइ छ । बिल तिर्दा ग्राहकलाई सम्झनलायक बनाउन, फरक अनुभव दिलाउन तथा रमाइलो खेल बनाउने उद्देश्यले यो नयाँ ट्रेण्ड चलाएको पौडेलले बताए । ‘रोल, इट, रीपीट, लक इज जस्ट अ रोल अवे’ स्लोगनसहित बिस्ट्रोले यो नौलो अभियान सुरू गरेको हो । बिस्ट्रोले आफ्ना ग्राहकहरूलाई जीवन्त बनाउन, रमाइलो र दोहोर्‍याएर आउन मन लागोस भनेर यो व्यवस्था सुरूवात गरेको उनले बताए । विशेष ह्यासट्याग प्रयोग गरेर, बिस्ट्रोले ग्राहकहरूलाई आफ्नो अनुभव सामाजिक सञ्जालमा शेयर गर्न प्रोत्साहनसेत गरेको छ । कसैले डाइस रोल गरेर निःशुल्क भोजन जित्यो भने रोचक अनुभव बन्ने उनले सुनाए । जसले गर्दा सामाजिक सञ्जालमा अनलाइनमा राम्रो चर्चा बटुल्छ र नयाँ ग्राहकहरूलाई पनि आकर्षित गर्ने उनको विश्वास छ । बिस्ट्रोले केहीसमय अघि ‘लिटल फ्री लाइब्रेरी’ अभियान पनि सुरु गरिसकेको छ । स्वादसँगै ज्ञान लिनेदिने नौलो अभ्यास सुरू गरिसकेको छ ।