सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ छ कारोबार ?

काठमाडौं । बढ्दो माग र अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धिका कारण स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले वृद्धि भएको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  आइतबार एक तोला सुनको मोल दुई लाख ४४ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । गत शुक्रबार एक तोला सुन दुई लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।  त्यसैगरी, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला तीन हजार १३५ रुपैयाँ कायम भएको छ । त्यति नै परिमाणको चाँदी शुक्रबार तीन हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३ र त्यति नै चाँदी ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।   

दुई वटा स्वचालित पेस्तोलसहित एक जना नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बलले रौतहटको चन्द्रपुर नगरपालिका–४ चन्द्रपुरस्थित देउराली चोकबाट दुई वटा स्वचालित पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएको छ । बाराको निजगढ नगरपालिका–६ का २२ वर्षीय सुमन आचार्यलाई उक्त पेस्तोलसहित सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोबाट खटिएको टोलीले नियन्त्रणमा लिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। सशस्त्र प्रहरीले उनको साथबाट इटालीमा निर्मित दुई थान पेस्तोल, सोको दुई वटा म्याग्जिन, १३ राउण्ड गोली र एक थान खुकुरी बरामद गरेको छ । बरामद पेस्तोल तथा अन्य सामानसहित निजलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

मोरङमा ४४ हजार नयाँ मतदाता थपिए

मोरङ । मोरङमा ४४ हजार ३११ नयाँ मतदाता थपिएका छन् । यो मङ्सिर ५ गतेसम्म थपिएका मतदाताको सङ्ख्या हो । यहाँस्थित प्रदेश निर्वाचन कार्यालयका अनुसार १६ हजार ४१३ जनाले प्रदेशको निर्वाचन कार्यालय र २७ हजार ९८९ जनाले राष्ट्रिय परिचयपत्रका  माध्यमबाट नाम दर्ता गराएका हुन् । अब मोरङमा मतदाताको सङ्ख्या सात लाख ८६ हजार ६६ पुगेको छ । यसअघि यो जिल्लामा सात लाख ४१ हजार ७५५ मतदाता रहेका अभिलेख छ ।