प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई यही फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका सबै उम्मेदवारलाई आगामी फागुन ३ गतेभित्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आह्वान गरेको छ । निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम आगामी फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी एकप्रति सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आयोगको माघ २७ गतेको निर्णय अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका सबै उम्मेदवारलाई शाखा अधिकृत (कानुन) अरुण अधिकारीले पत्राचार गरेका हुन् । आयोगले सबै प्रदेश/जिल्ला निर्वाचन कार्यालयलाई प्राप्त घोषणापत्रको अभिलेख राखी विवरण आयोगमा पठाउन पत्राचार गरेको हो । यसैगरी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउन पनि आयोगले आह्वान गरिएको पत्रमा उल्लेख छ । आयोगले यसअघि नै सबै राजनीतिक दललाई पनि फागुन ३ गतेभित्र दलीय निर्वाचन घोषणापत्र सार्वजनिक गर्न पत्राचार गरेको थियो ।
काठमाडौंबाट सुर्खेत जाँदै गरेको बसमा आगलागी
काठमाडौं । काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक बसमा आगलागी भएको छ । बिहीबार बिहान कपिलवस्तुको तौलिहवा सडकखण्डमा गुडिरहेको अवस्थामा ४ ना ७ ख ६०४८ नम्बरको बसमा अचानक आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी रिपेन्द्रकुमार सिंहका अनुसार बसको टायर पड्किएपछि आगलागी भएको हो । घटनामा कुनै मानवीय क्षति भएको छैन । बसमा ४१ जना यात्रु सवार थिए । आगलागीका कारण यात्रुहरूको सम्पूर्ण सामान जलेर नष्ट भएको छ । दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । बस चालक नरेन्द्र विश्वकर्माले बस चलाइरहेका थिए । बिहान करिब ५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको र यात्रुहरूलाई वैकल्पिक व्यवस्था गरी गन्तव्यतर्फ पठाइएको सिंहले जानकारी दिए ।
निर्वाचन तयारी र सुरक्षा अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी, हिमाली जिल्लाको सुरक्षा व्यवस्था तथा समग्र प्रशासनिक अवस्था बुझ्न प्रधानमन्त्री सुशीला कार्की बिहीबार सोलुखुम्बु पुगेकी छन् । निर्वाचनको पूर्वसन्ध्यामा आवश्यक समन्वय, सुरक्षाको व्यवस्थापन तथा दुर्गम भेगमा मतदाता पहुँचको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री कार्की स्थलगत निरीक्षणका लागि त्यहाँ पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीसँगै प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ, प्रेस सल्लाहकार रामबहादुर रावल तथा सम्बन्धित निकायका अधिकारीहरू पनि सोलुखुम्बु पुगेका छन् । टोलीले जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा निर्वाचन अधिकृतसँग छलफल गरी निर्वाचन व्यवस्थापन, सुरक्षा सतर्कता र मतदाता सहभागिता बढाउने विषयमा समन्वय गर्ने कार्यक्रम रहेको बताइएको छ।