आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्छ : बाबुराम भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन् । बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिस्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने बताएका हुन् । उनले लोकतन्त्रको खम्बालाई कत्तै पनि कमजोर पार्न नहुने उल्लेख गरे । उनले तोकिएकै मितिमा निर्वाचन गराउन राजनीतिक दलहरूले भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए । पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूलाई पुनःसंरचना गर्नेमा शंका रहेको टिप्पणी गरे । पुराना पार्टीहरूमा अझै पनि पुराना नेताहरूको उकुसमुकुस रहेको भन्दै आगामी दिनमा एउटा वृहत खालको राजनीतिक पुनःसंरचना हुनुपर्ने जरुरी देखिएको बताए । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्षसमेत रहेका भट्टराईले २८ वर्षभन्दा मुनिका युवाहरूले दबाब सिर्जना गरे राजनीतिक पुनःसंरचना सम्भव हुने जिकिर गरे । उनले भने, ‘बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिस्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले गराउने मुख्य आधार हो। निश्चित मितिमै चुनाव गर्नुपर्छ । पुराना दलहरू कांग्रेस, एमाले, माओवादी, राप्रपाको पुनःसंरचना हुन्छ जस्तो मलाई लाग्दैन । जेन–जेड भनिने २८ वर्षभन्दा मुनिका युवाहरूले दबाब सिर्जना गरे राजनीतिक पुनःसंरचना सम्भव छ । कहिलेकाहीँ भुइँको टिप्छु भन्दा पोल्टाको पनि खस्छ, त्यसमा मैले सतर्क गराउँदै आएको छु ।’ अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको मिति तोकेको छ । तर प्रमुख राजनीतिक दलहरूले भने प्रतिनिधिसभा विघटनलाई गलत निर्णय बताउँदै आएका छन् ।
धातुजन्य उपकरण र औजारको पूजा गरी मनाइयो विश्वकर्मा पूजा
काठमाडौं । आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइएको छ । हरेक वर्ष आश्विन सङ्क्रान्तिका दिन सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइएको हो । हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा गर्ने गरिन्छ । विश्वकर्माले नै देवताका हातहतियार बनाएको विश्वासका साथ विश्वकर्माको पूजा गर्ने गरिन्छ । विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजाआराधना गर्ने प्रचलन छ । आज नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने गर्दछन् । काठमाडौंको भद्रकाली, दक्षिणकाली लगायतका मन्दिरमा सवारीसाधानको पूजा गर्नका लागि दर्शनार्थीहरु पुगेका छन् ।
कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो । बोर्डले असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्ने तालिका सार्वजनिक गरेको छ । त्यसैगरी, असोज ८ दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ । त्यस दिन अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा भने सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले यसअघि नै परीक्षा केन्द्र निर्धारण गरिसकेको जनाएको छ ।