उच्च मनोबलका साथ काममा खटिन गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । उनले मंगलबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै उक्त निर्देशन दिएका हुन् । सोही क्रममा गृहमन्त्री अर्याललाई काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलगायतले ट्राफिक प्रहरी कार्यालयको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए । सो अवसरमा गृहमन्त्री अर्यालले ट्राफिक प्रहरीका भवन निर्माणलगायतमा सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यही भदौ २३ र २४ गते भएको ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक पोसाक र साधनसमेत जलेर नष्ट भएका थिए ।
नेपाल इन्स्योरेन्सको फुटसल प्रतियोगिता स्थगित
काठमाडौं । नेपाल इन्स्योरेन्सले आफ्नो ७८औँ वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागिएको फुटसल प्रतियोगिता स्थगित गर्ने घोषणा गरेको छ । कम्पनीले आश्विन ३ र ४ गते आयोजना गर्ने भनिएको प्रतियोगिता हाल देशमा सिर्जित परिस्थितिका कारण अनिश्चितकालका लागि रोकिएको जनाएको छ । साथै, प्रतियोगिता पुनः आयोजना गर्ने सम्बन्धमा पछि जानकारी गराइने नेपाल इन्स्योरेन्सले स्पष्ट पारेको छ ।
लुटपाट गरेको दुई लाख नगद र सुनचाँदी फिर्ता
नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित राजस्व अनुसन्धान कार्यालयमा भएको आगजनीपछि लुटपाट गरिएको नगद रकम, सुन र चाँदी फिर्ता गरिएको छ । राजस्व अनुसन्धान कार्यालय कोहलपुरबाट लुटपाट गरिएको दुई लाख ५२ हजार रुपैयाँ नगद, ४२१ ग्राम सुन तथा नौ किलो चाँदी कोहलपुरका जनप्रतिनिधि, समाजसेवीको पहल तथा इलाका प्रहरी कार्यालय कोहलपुरको सक्रियतामा फिर्ता गरिएको इप्रका, कोहलपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले जानकारी दिए । राजस्व अनुसन्धान कार्यालयबाट लुटिएको रकम र सुनचाँदीमध्ये सोमबार एक लाख १७ हजार र ८४ हजार रुपैयाँ भारतीय रुपैयाँ इलाका प्रहरी कार्यालय, कोहलपुरमा फिर्ता गरेको उनले बताए । उक्त रकम, सुन र चाँदी पीडित परिवारलाई फिर्ता गरिएको छ । ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा जिल्लाका अधिकांश सरकारी कार्यालयमा आगजनी र लुटपाट भएको थियो । प्रहरीले आइतबार पनि कोहलपुर नगरपालिका–२ बाट सात लाख ६६ हजार रुपैयाँसहित कोहलपुर–५ का १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगन्ज उपमहानगरपालिका–१८ का २६ वर्षीय ऋषिकेश मिश्रलाई पक्राउ गरेको थियो ।