थपिए आठ लाख ३७ हजार नयाँ मतदाता

काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि  आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन् ।      निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय गत मध्यरातिदेखि सकिएपछि नाम  दर्ता गर्ने नयाँ मतदाताको विवरण सार्वजनिक भएको हो । फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स) मार्फत तीन लाख ४४ लाख नौ सय १४ र राष्ट्रिय परिचयपत्रमार्फत चार लाख ९२ हजार एक सय ८० नयाँ मतदाता थपिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।      आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने गराएपछि अनलाइनबाट नाम दर्ता गराउनेको सङ्ख्या थप बढेको हो ।      प्रधानमन्त्री सुशीला कार्कीले पनि नयाँ मतदाताको सङ्ख्या समावेश गर्दै मतदाता नामावली सङ्कलन सकिएको सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् । गत कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको सङ्ख्या एक करोड ८१ लाख ६८ हजार २३ रहेको थियो ।      सो अघि गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकामा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले यही मङ्सिर ५ गतेसम्मका लागि समय थपिएको थियो ।  

मध्यवानेश्वरमा सुनका गहना चोरी गर्ने सागर विश्वकर्मा पक्राउ

काठमाडौं । नेपाल प्रहरीले मध्यवानेश्वरमा सुन चाँदीका गरगहनालगायतका सामग्री चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बानेश्वरको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–३१ मध्ये बानेश्वरस्थित एक घरको कोठाको ताला फोरेर सुनका गरगहनासहित सामान चोरी गर्ने सिन्धुपाल्चोक घर भएका २० वर्षीय सागर विश्वकर्मालाई पक्राउ गरी शुक्रबार  सार्वजनिक गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले घरको कोठा फार्न प्रयोग हुने विभिन्न सामान र चोरीका सामानसहित विश्वकर्मालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ विश्वकर्मासँग प्रहरीले एक थान खुकुरी,  सुनको औँठी एक थान, सुनको बाला एक थान, सुनको झुम्का एक थान, मोतीको माला एक थान, सुनको पाउजु एक थान, चाँदीको सिक्का एक थान बरामद गरेको छ । यस्तै, विदेशी मुद्राको सिक्का २२ थान, फलामको रेन्ची दुई थान, सोनी कम्पनीको क्यामेरा दुई थान, क्यामेराको चार्जर दुई थान, भिडियो प्लेयर एक थान, मेमोरी कार्ड एक थान, सुनचाँदीको विल २७ थान बरामद गरिएको प्रवक्ता भट्टराईले बताए । पक्राउ परेका विश्वकर्मालाई प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले जनाएको छ ।  

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको अध्यक्षमा भण्डारी निर्वाचित

काठमाडौं । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन नेपाल, उपत्यका प्रदेश कमिटीको दोस्रो सम्मेलन शुक्रबार अनामनगर, काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनले अधिवक्ता रामचन्द्र भण्डारीको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नव–निर्वाचित समितिमा उपाध्यक्षमा थरी कडेल, सचिवमा सान्तना दाहाल न्यौपाने, कोषाध्यक्षमा प्रचन्न नाउला चयन भएका छन् । साथै ११ सदस्यीय कार्यसमितासहित उपत्यकाका सातवटै बारका विशेष जिल्ला कमिटिका अध्यक्षहरू पदेन सदस्यका रूपमा समावेश गरिएको संगठनले जनाएको छ । पदेन सदस्यमा सर्वोच्च अदालत बार, उच्च अदालत पाटन बार, ललितपुर जिल्ला अदालत बार, काठमाडौं जिल्ला अदालत बार, विशेष अदालत बार, भक्तपुर जिल्ला अदालत बार तथा काभ्रेपलाञ्चोक जिल्ला अदालत बारका अध्यक्षहरू रहनेछन् । अध्यक्षमा निर्वाचित रामचन्द्र भण्डारी पछिल्ला २२ वर्षदेखि कानुन व्यवसायमा निरन्तर क्रियाशील व्यक्तित्व मानिन्छन् । संगठनको आन्तरिक जीवन, पेशागत अनुभव तथा इमानदार छविका कारण भण्डारीले पाएसँगै संगठनभित्र नयाँ उत्साह पैदा भएको टिप्पणी गरिएको छ । कानुनी क्षेत्रमा सक्रिय भण्डारीको नेतृत्वले न्यायक्षेत्रमा समेत सशक्त भूमिका खेल्ने अपेक्षा राखिएको छ ।