ताप्लेजुङमा एमाले प्रतिनिधि सर्वसम्मत चयन
ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गते काठमाडौंमा हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि यहाँबाट १२ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । निर्वाचन अधिकृत राजकुमार चुडालका अनुसार खुलातर्फ दिपेन पोमु, घनेन्द्र मादेन, अनन्त साँवा, कैलाश राई, ज्ञानु लावती र छत्रपति प्याकुरेल सर्वसम्मत चयन भएका छन् । महिलातर्फ रनमाया गुरुङ, मीना केदेम, प्रमिला खनाल र टीका सुवेदी चयन भएका छन् । युवातर्फ गोपाल न्यौपाने र दलिततर्फ बुद्धिमान परियार चयन भएको छ ।
रोसिङटन र निशमको अर्धशतकमा पोखराले लुम्बिनीलाई दियो १५१ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लि (एनपिएल)अन्तर्गत शनिबारको पहिलो खेलमा पोखरा एभेञ्जर्सले लुम्बिनी लायन्सलाई जीतका लागि १५१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५० रन बनायो । पोखराले पारीको सुरुआत राम्रो गरेन । पोखराले १५ रनमा दिनेश खरेललाई पहिलो विकेटका रुपमा र दोस्रो विकेटका रुपमा कप्तान कुशल भुर्तेललाई गुमायो । त्यसपछि आएका सुमित बर्मा खाता खोल्न सकेनन् भने तिर्तराज दासले पनि जम्मा एक रन बनाए । सातौ ब्याटरका रुपमा आएका जिमी निशम र ओपनर एडम रोसिङटनको जोडीले पाँचौ विकेटका लागि ९२ रनको महत्वपूर्ण साझेदारी गर्यो । रोसिङटनले ६३ बलमा पाँच छक्का र सात चौकाको सहयोगमा ८१ रन बनाए भने निशमले ५१ रन बनाए । अर्धशतक बनाउने क्रममा निशमले तीन छक्का र तीन चौका प्रहार गरे । लुम्बिनीका लागि शेर मल्ल र तिलक भण्डारीले दुई/दुई विकेट लिए भने गुलबदिन नाइबले एक विकेट हात पारे ।
एनपिएल : लुम्बिनीले टस जित्यो, पोखरा ब्याटिङ गर्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनीले टस जितेर बलिङ थालेको छ भने पोखरा ब्याटिङ गर्दैछ । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी चारमध्ये एक र कुशल भूर्तेलको कप्तानीमा रहेको पोखराले तीन खेलमध्ये एक खेल मात्र जितेको छ । लुम्बिनी अङ्क तालिकाको सातौँ र पोखरा छैटौँ स्थानमा छ । आज अपराह्न ४ः०० बजे हुने अर्को खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।