मनमैजुमा घरभित्रै छिर्यो चितुवा, तीन जना घाइते

काठमाडौं । काठमाडौंको मनमैजुमा एक घरमा चितुवा छिरेको छ । तारकेश्वर नगरपालिका ९ स्थित चन्द्रमणी अधिकारीको घरमा चितुवा छिरेको हो । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले मनमैजुमा स्थानीयको घरमा चितुवा छिरेको जानकारी दिए । जिल्ला वन कार्यालयका टोलीहरू उद्धार गर्न गइरहेको उनले बताए ।  साढे १ बजे सोही घरमा चितुवा छिरेको स्थानीय सपना राईले जानकारी दिइन् । उनका अनुसार सुरुमा घरको भुँइतलाको सटरमा चितुवा छिरेको थियो ।  उनले भनिन्, 'चितुवा माथिल्लो टोलबाट तीन जनालाई घाइते बनाएर आएको रहेछ । एकजना बच्चाको कानमा चोट बनाएको रहेछ । उपचारका लागि टेकु अस्पताल लगिएको छ ।' चितुवाबाट बच्नका लागि भाग्दा राईसमेत घाइते भएकी छिन् ।

मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित सडकमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् । वीरगन्जबाट चितवनतर्फ गइरहेको बाप्र०६–००१ख ००५४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकको बायाँ साइडमा रहेको विद्युत्को पोलमा ठोक्किँँदा बसमा सवार २२ जना यात्रु घाइते भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।  घाइते उद्धार गरी उपचारका लागि चितवन अस्पताल पठाएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । 

सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित रिताक आसपास केन्द्रविन्दु भएर आइतबार बिहान ७ः३१ बजे चार दशमलव एक (४.१) रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पले के कति असर पुर्यायो भन्ने एकिन जानकारी प्राप्त भएको छैन ।  यसअघि गत माघ २८ गते लमजुङ जिल्लाको बन्सार आसपास केन्द्रविन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा भूकम्प जाने गरेको छ ।