सडक अवरोध तत्काल हटाउन र २४ घण्टा कन्ट्रोल रुम सञ्चालन गर्न मन्त्री घिसिङको निर्देशन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन र सडक सुरक्षाबारे शनिबार सरोकारवालासँग छलफल गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभाग र सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीसहितको बैठकमा मन्त्री घिसिङले यात्रुहरूको सहज आवागमनका लागि विशेष व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । मन्त्री घिसिङले सडक अवस्थाबारे २४ घण्टा जानकारी दिन सक्ने र यात्रुको गुनासो तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिए । पहिरोलगायत कारण सडक अवरुद्ध भए तुरुन्तै पुनःस्थापना गर्ने व्यवस्था गर्न पनि उनले जोड दिए । बैठकले गरेको निर्णयअनुसार दशैं अवधिमा काठमाडौं उपत्यकाबाट बाहिरिने सार्वजनिक यातायात सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने र त्यसपछि मात्रै सो मार्गमा अन्य सवारी साधनलाई प्रवेश गराउने तयारी गरिएको छ । त्यस्तै, दशैं अवधिमा राजमार्गमा सुरक्षा व्यवस्था कडा पार्न, प्रहरी संख्या बढाउन र गस्ती सञ्चालन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ । सडकको कमजोर अवस्थालाई मध्यनजर गर्दै बुटवल–नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्रमा १२ चक्काभन्दा ठूला भारवाहक सवारी साधन नचलाउने र अत्यावश्यक वस्तु ढुवानी गर्ने गाडीलाई भने छुट दिने व्यवस्था गरिने भएको छ । सडक स्तरोन्नति र सुधारका लागि पहिरो व्यवस्थापन, उपकरण उपलब्ध गराउने, नारायणगढ–मुग्लिन सडकको तुइन खोलामा अवरोध हटाउने र तातोपानी नाका जोड्ने सडक दशैंअघि सञ्चालनमा ल्याउन निर्देशन दिइएको छ । यात्रामा निस्कँदा मौसम र सडकको अवस्थाबारे जानकारी लिन आम नागरिकलाई आग्रह गर्दै मन्त्रालयले सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको छ । साथै, यातायात साधनलाई सुरक्षित र प्रविधिमैत्री बनाउन कार्यविधि र निर्देशिका छिट्टै ल्याउने, र सडक सुरक्षाका लागि २४ घण्टा सञ्चालन हुने कन्ट्रोल रुम व्यवस्थापन गर्ने पनि निर्णय भएको छ ।
चाडपर्वमा सुपथ मूल्य पसल सञ्चालनमा (फोटो फिचर)
काठमाडौं । दशैं–तिहारलाई लक्षित गर्दै काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले उपभोक्तालाई चाडपर्वमा सहुलियत दिने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् । प्रत्येक वर्षजस्तै यस वर्ष पनि सुपथ मूल्य पसल सञ्चालनमा आएको हो । सुपथ मूल्य पसलमार्फत उपभोक्ताले चामल, गहुँ, दाल, केराउमा प्रतिकेजी पाँच रुपैयाँ छुट पाउनेछन् । त्यस्तै, चिनीमा प्रतिकेजी पाँच रुपैयाँ, चिउरा, आटा, पिठो, मैदा, चियापत्ती, जिरा, धनियाँलगायत मसला पदार्थमा प्रतिकेजी सात रुपैयाँ छुट दिइएको छ । तेलमा प्रतिलिटर सात रुपैयाँ छुट रहेको छ भने सिमी, फापर, मार्सी र बासमती चामलमा प्रतिकेजी १० रुपैयाँसम्म छुट पाउने व्यवस्था गरिएको छ ।
एक लाख घुस लिँदै गर्दा लेखा अधिकृत कार्की पक्राउ, अख्तियारको अनुसन्धान जारी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टङ्कबहादुर कार्कीलाई एक लाख घुस रकमसहित नियन्त्रणमा लिएको छ । कार्कीले डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्नपश्चात् अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवतबापत रु एक लाख माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गाल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । उनका अनुसार कार्कीले सेवाग्राहीसँग रु एक लाख घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ मङगलगडी चोकबाट नियन्त्रणमा लिइएको हो । उक्त विषयमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।