नेपालको अमेरिकाविरुद्ध फिल्डिङ गर्ने निर्णय, कप्तान रोहित पौडेलले जिते टस
काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत युएई सिरिजमा नेपालले अमेरिकाविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङको विकल्प चयन गरेका छन् । यस निर्णयसँगै नेपाल आफ्नो बलियो खेल प्रदर्शन गर्न चाहन्छ । आइतबार नेपालले देखाउने खेल कौशलले आगामी विश्वकप क्वालिफाइङ चरणका लागि महत्वपूर्ण भूमिका खेल्न सक्छ । नेपाल लिग २ मा १६ खेलमा १२ अंक सहित सातौँ स्थानमा रहेको छ । नेपाल यो सिरिजमा राम्रो प्रदर्शन गर्दै अंक तालिकामा माथि उक्लिन चाहन्छ । अमेरिकासँगको खेल नेपालका लागि महत्वपूर्ण हुनेछ । यस सिरिजमा नेपालको आगामी रणनीति बलिङ र फिल्डिङको उत्कृष्टतामा आधारित हुने भएकाले कप्तान पौडेलले टोलीलाई आत्मविश्वासका साथ मैदानमा उतार्ने विश्वास गरेका छन् । नेपालका केही प्रमुख क्रिकेटरहरू पनि उत्कृष्ट फर्ममा रहेका छन् । युएईको उष्ण वातावरणमा राम्रो खेल देखाउनका लागि खेलाडीहरूले कडा मेहनत गरेकाले यो खेल नेपालको पक्षमा पार्न सकिने विश्वासमा कप्तान रोहित रहेका छन् ।
मन्त्रिपरिषद् विस्तार हुँदै, ४ जना नयाँ मन्त्री थपिने
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । मौजुदा मन्त्रिपरिषद्मा चार जना नयाँ मन्त्री थपिने भएका छन् । राष्ट्रपतिसमक्ष उनले नयाँ मन्त्री नियुक्तिका निम्ति नाम सिफारिस गरेकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पूर्वसचिव डा. सुधा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीमा गणपतिलाल श्रेष्ठ, श्रम तथा रोजगारमन्त्रीमा खगेन्द्र सुनुवार र युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ता सिफारिस भएका छन् । उनीहरूले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।
गुल्मीमा ट्याक्टर दुर्घटनामा मृत्यु
गुल्मी । मदाने गाउँपालिका–१ अन्तर्गत कचुरखर्कमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मदाने गाउँपालिका–१ अग्लुङका १९ वर्षीय सहचालक मेघराज पुन रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए । गए राति मदाने गाउँपालिका–१ अग्लुङ फेदीबाट बालुवा लोड गरेर वडा कार्यालयतर्फ आइरहेको रा१त ३५०२ नम्बरको ट्याक्टर उकालोमा लोड तान्न नसकी ब्याक भई ब्रेकले काम नगरेपछि दुर्घटना भएको सूचना अधिकारी सारुले जानकारी दिइन् । ट्याक्टरबाट हामफाल्ने क्रममा बाटोबाट उछिट्टिएर गम्भीर घाइते बनेका पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रहरी निरीक्षक रेबन्त सेनको नेतृत्वमा प्रहरी टोली राति नै घटनास्थल पुगेको थियो । ट्याक्टर चालक मदाने–१ अग्लुङ निवासी २२ वर्षीय निमन चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।