बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री
भक्तपुर । तिहार सुरु भएसँगै बारीदेखि बजारसम्म मखमली र सयपत्री फूलका मूल्य तेब्बर दरमा वृद्धि भएको छ । सोमबार लक्ष्मी पुजाको दिन सयपत्री फूल र माला तेब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको छ । भक्तपुरको सबभन्दा बढी फूल उत्पादन हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुमा किसानले एकसाता अगाडि ३०० रुपैयाँ प्रतिकिलो बिक्री गरेको सयपत्री फूल आज ७०० रुपैयाँ मा बिक्री गरेका छन् । व्यापारीले बजारमा त्यही फूललाई एक हजार रुपैयाँसम्ममा बिक्री गरेका छन् । एक किलो सयपत्री फूलको माला बजारमा एक हजार ५०० रुपैयाँमा व्यापारीले बिक्री गरिरहेको मध्यपुरथिमि नगरपालिका–५ संगम कोलोनी निवासी प्रकाश झाले बताए । उनले सोमबार एउटा सयपत्रीको माला एक हजार ५०० रुपैयाँका दरले खरिद गरेको जानकारी दिए । राधेराधे सडक पेटीमा गाडामा सयपत्री फूल र माला बिक्री गरेका व्यापारी प्रमिला लामाले हिजो आइतबारदेखि किसानले फूलको मूल्य वृद्धि गरेकाले महँगोमा बिक्री गर्नुपरेको बताए । उनले काभ्रेपलाञ्चोक, सिन्धुली, सिन्धुपाल्चोक, पाँचखाललगायत क्षेत्रबाट खुला रूपमा गरिएको फूलखेतीको फूल एक साता अगाडि किलोको ३०० रुपैयाँमा बिक्री गरेकोमा आइतबार ६०० रुपैयाँमा आइपुगेकाले महँगोमा बिक्री गर्नुपरेको बताए । खुला रूपमा खेती गरेको सयपत्री फूल किलोको ८०० रुपैयाँ मा र भक्तपुरमा टनेलमा उत्पादन गरेका फूल किलोको एक हजार ३०० रुपैयाँमा सोमबार बिक्री भएको छ । भक्तपुरमा टनेलमा उत्पादन भएका सयपत्री फूल साता दिनसम्म नबिग्रने भएकाले महँगो भएको बताउँदै उनले मखमली फूलको प्रतिमाला १०० मा बिक्री गरेको जानकारी दिए । एक साता अगाडि किसानले घरघमा आएका व्यापारीलाई २५ देखि ३० रुपैयाँमा बिक्री गरेको मखमली फूलको माला आइतबारबाट किसानले नै ४० देखि ४५ रुपैयाँमा बिक्री गरेकाले व्यापारीले १०० रुपैयाँसम्ममा बिक्री गरेको बताए । दुई दिनमै फूल र मालाको मूल्य तेब्बर रूपमा वृद्धि भएको उनले बताए । गुण्डुकी पुष्प व्यवसायी गुण्डुको फूल गुणस्तरीय हुने भएकाले माग बढी रहेको बताउँदै यहाँको फूल किसानबाटै किलोको ४०० रुपैयाँ देखि ५०० सम्ममा बिक्री भएको बताए । बिचौलियाले फूल र माला बजार पुर्याउँदा उपभाक्तासम्म पुग्दा तेब्बरभन्दा बढीले मूल्य वृद्धि भएको उनको भनाइ छ । पुष्प व्यवसायी अनिता बस्नेतले यसवर्ष गुण्डुबाट मात्रै करिब पाँच करोडको फूल तथा माला बिक्री भएको जानकारी दिए । उनले सयपत्री फूल र मखमली फूलको माला गरी यसवर्ष पाँच करोड रुपैयाँभन्दा बढीको बिक्री भएको बताउँदै एउटै परिवारले एक लाख रुपैयाँदेखि पाँच लाखसम्मको फूल तथा माला बिक्री गरेको बताए । गुण्डुमा करिब ७०० रोपनी जग्गामा मखमली र करिब ३०० रोपनी जग्गामा सयपत्री फूलको खेती भइरहेको बताउँदै गुण्डुकै अर्का पुष्प व्यवसायी उर्मिला नगरकोटीले व्यापारी र बिचौलयाले गाउँ मै आएर फूल र माला खदिमा प्रतिस्पर्धा भएपछि किसानले मूल्य बढाएको जानकारी दिए । बजारमा फूल र मालासँगै लक्ष्मी पुजाको लागि आवश्यक मानिएको भोगटे र बिमिरोको मूल्य बढेको छ । भोगटे ६० रुपैयाँमा बिक्री हुँदै आएकोमा आज १५० रुपैयाँसम्ममा बिक्री भएको र बिमिरो ३० रुपैयाँमा बिक्री हँुदै आएकोमा आज १०० देखि १५० रूपैयाँमा बिक्री भइरहेको छ । बजारमा तिहारका लागि अत्यावश्यक मानिएको फूल, माला, भोगटे, बिमिरो, भाई मसला र फलफूलको मूल्य आकासिएपछि उपभोक्ता भने मारमा परेका छन् । रासस
तिहार लागेसँगै सुनसान देखिए उपत्यकाका सडक
काठमाडौं । तिहार शुरु भएसँगै काठमाडौं उपत्यकाका सडकहरु सुनसान देखिन थालेका छन् । साेमबार तिहारको तेस्रो दिन कुकुर तिहार मनाइँदैछ । तिहारमा केही काठमाडौंलाई कर्मथलो बनाएर बसेकाहरु गाउँ फर्किएका छन् भने कोही कार्यालय बन्द हुँदा घरमै आराम गरिरहेका छन् । जसकारण पनि उपत्यकाका सडकमा सुनसान देखिन्छ । सडकमा सवारीसाधनहरुको चाप धेरै कम रहेको छ । मानिसहरु बजारमा सामान किनमेलमा व्यस्त देखिन्छन् । तिहार नेपालीहरुको बडा दशैँपछिको दोस्रो ठूलो चाड हो ।
अलैँचीको मूल्य पाउँदा किसान उत्साहित, प्रतिमनको ८८ हजारमा बिक्री
फुङ्लिङ । ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् । टिपाइको मुख्य याम चलिरहेका बेला उनीहरू दसैँ–तिहारको उत्सवभन्दा बढी बगानमै रमाइरहेका छन् । बिहानदेखि बेलुकीसम्म बगानमै खटिएका किसान धेरैजसो रात पनि भट्टिमै बस्ने थालेका छन् । फक्ताङलुङ गाउँपालिका-६ का किसान रोशन लिम्बूका अनुसार गाईबस्तु भएका किसानका केही सदस्य मात्र बेलुका घर फर्किन्छन् बाँकी सबै बगानमै बास बस्छन् । अलैँची टिप्ने बेला गुमायो भने वर्षभरको मेहनत खेर जाने भएकाले बगानमै व्यस्त भएको उनले बताए । फुङ्लिङ नगरपालिका-७ का किसान खाङडु शेर्पा झन करिब एक महिनादेखि बगानमै बसिरहेका छन् । दसैँ परिवारसहित बगानमै मनाउनु भएको उनले तिहार पनि त्यहीँ मनाउने तयारी गरिरहेका छन् । ‘चालीस वर्षदेखि अलैँचीखेती गरिरहेको छु ।’ उनले भने,’छिमेकी भारतको सिक्किमबाट बिरुवा ल्याएरै सुरु गरेका थियौँ ।’ किसान शेर्पाको ८० रोपनी बगान टिपाइसक्ने योजना छ । तर टिपाइपछि छोडाउने, सुकाउने र भट्टिमा तयारी गर्न एक हप्ताभन्दा बढी समय लाग्ने उनको भनाइ छ । जिल्लामा बेँसी क्षेत्रमा भदौको पहिलो सातादेखि र लेकाली क्षेत्रमा मङ्सिरसम्म अलैँची टिपाइ गर्ने चलन छ । जिल्लाका ९ स्थानीय तहमध्ये फक्ताङलुङ-७ को ओलाङचुङगोलाबाहेक सबै वडामा अलैँचीखेती हुन्छ । हाल करिब चार हजार ४५० हेक्टर क्षेत्रफलमा व्यावसायिक खेती भइरहेको छ । अलैँचीको मूल्य पनि किसानलाई उत्साहित पार्ने खालको छ । आइतबार ताप्लेजुङमा प्रतिमन (४० केजी) खलैँचीको मूल्य रु ८८ हजारमा खरिदबिक्री भइरहेको व्यवसायी कमल बरालले बताए । अलैँचीले रोजगारी पनि सिर्जना गरेको छ । बगानमा काम गर्ने मजदुरले दैनिक ५०० देखि ७०० सम्म ज्याला पाउँछन् । रासस