सोमबार नेप्से र कारोबार रकम दुबैमा वृद्धि, अधिकांश बैंकको बढी किनबेच
काठमाडौं । सोमबारको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । आइतबार प्राविधिक समस्याका कारणले बजार खुलेकाे डेढ घण्टा मात्रै कारोबार भएको बजारमा सोमबार भने पुरा समय कारोबार भएको छ । सो दिन नेप्से परिसूचक १४.२८ अंकले बढेर ११४२ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.२६ प्रतिशतले बढी हो । त्यस्तै, परिसूचक सँगै कारोबार रकममा पनि सुधार देखिएको छ । केहि समययता १५ देखि ३० करोडको हाराहारीमा कारोबार भइरहेको बजारमा सोमबार भने ४० करोड २८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । कुल १७१ कम्पनीको कारोबार भएको बजारमा १३ लाख ४७ हजार कित्ता सेयर बिक्री भएका छन् । जसमध्ये ६ वटा वाणिज्य बैंकहरु सबैभन्दा बढी कारोबार गर्नेको सूचिमा परेका छन् । रकमका अधारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १११६ रुपैयाँ रहेको छ । त्यस्तै, एनआईसी एशियाको २ करोड २१ लाख, प्रभु बैंकको २ करोड १७ लाख, एनसीसी बैंकको एक करोड ८२ लाख, नबिल बैंकको एक करोड ११ लाख, एनएमबि बैंकको ९८ लाख र जनता बैंक नेपालको ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् ।
सिद्धार्थ र सानिमा बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत, बजारमा कारोबार गर्न सकिने
काठमाडौं । सिद्धार्थ बैंकले जारी गरेको ‘१०.५ प्रतिशत एसबीएल ऋणपत्र २०८२’ नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचिकृत भएको छ । उक्त ऋणपत्र सूचिकृत भएसँगै बोण्डधनीहरुले ‘९ प्रतिशत एसबीएल ऋणपत्र २०८२’ को २१ लाख ६२ हजार ५५९ कित्ता धितोपत्र बजारमा कारोबार गर्न सक्ने भएका छन् । त्यस्तै, नेप्सेमा सानिमा बैंकले जारी गरेको ‘१० प्रतिशत सानिमा ऋणपत्र २०८५’ सूचिकृत भएको छ । यससँगै कम्पनीका बोण्डधनीहरुले ‘१० प्रतिशत सानिमा ऋणपत्र २०८५’ को १३ लाख ५४ हजार ७१२ कित्ता धितोपत्र बजारमा कारोबार गर्न सक्नेछन् । साथै, यी दुई कम्पनीहरुको गरी कुल ३५ लाख १७ हजार २७१ कित्ता ऋणपत्र सोमबार नेप्सेमा थपिएको हो ।
दुई संस्थाको ८ लाख कित्ता बोनस सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई वटा संस्थाको कुल ८ लाख १६ हजार ३९९ कित्ता बोनस सेयर सूचिकृत भएको छ । बिहीबार मात्रै सेन्ट्रल फाइनान्स कम्पनी र सप्तकोशी डेभलपमेन्ट बैंकको सो मात्राको बोनस थपिएको हो । सो मध्ये सेन्ट्रल फाइनान्सको सबैभन्दा बढी अर्थात ६ लाख ६३ हजार ८४६ कित्ता बोनस सेयर थपिएको छ । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको एक लाख ५२ हजार ५५३ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।