पाँचथर पावरको आईपीओ भर्ने मिति थप, अब शुक्रबारसम्म आवेदन दिन पाइने

काठमाडौं । पाँचथर पावर कम्पनीले हाल निष्कासन गरिरहेको आईपीओको म्याद एकदिनको लागि थपिएको छ । बिहीबार सार्वजनिक बिदा भएपछि सो दिन बन्द हुन लागेको उक्त आईपीओको म्याद शुक्रबारसम्मको लागि थपिएको हो । म्याद थपिएपछि इच्छुकले अब शुक्रबार(फागुन १७ गते)सम्म कम्पनीको आईपीओमा आवेदन दिन पाउने भएका छन् । माग भन्दा बढी आवेदन परेपछि कम्पनीले बिहीबार आवेदन बन्द गर्न लागेको थियो । तर बिहीबार सार्वजनिक बिदा भएपछि बैंक तथा वित्तीय संस्थाहरु बन्द हुने भएकाले आईपीको आवेदनको समय थपिएको हो । बुधबार पर्यटनमन्त्री रबिन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि सरकारले बिहीबार सार्वजनिक बिदा दिएको हो । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बुधबार बेलुकीसम्म आईपीओमा २१ करोड १० लाख रुपैयाँको आवेदन परेको छ । जुन मागभन्दा बढी आवेदन हो । कम्पनीले फागुन १३ गतेदेखि फागुन १६ गतेसम्म कुल १७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियाे । निष्काशित सेयरमध्ये कम्पनीले ३५ हजार ५ कित्ता कर्मचारीलाई, ८७ लाख ५१२ कित्ता सामुहिक लगानी कोषलाई र बाँकी १६ लाख २७ हजार ७३३ कित्ता सर्वसाधारणका लागि छुट्याईएको छ ।

स्पर्स लघुवितको साढे दुई लाख आईपीओ आउँदै, एक हजारमै भर्न पाइने

काठमाडाैं । स्पर्स लघुवित वित्तीय संस्थाको २ लाख ५२ हजार कित्ता साधारण सेयर(आइपीओ) निष्कासन हुँदै छ । संस्थाले फागुन २६ गतेदेखि कुल २ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । उक्त सेयरमा न्युनतम १० कित्ता अर्थात एक हजार रुपैयाँमै आवेदन दिन सकिनेछ भने अधिकतम १ हजार ३४० कित्तासम्म आवेदन दिन सकिन्छ । आईपीओको बिक्री छिटोमा फागुन २९ गते र ढिलोमा चैत २५ गते निष्काशन बन्द हुनेछ । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्ने भएको छ । संस्थाले २ लाख ६९ हजार ६३० कित्ता मध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ४ हजार १४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात १३ हजार ४८२ कित्ता सेयर साधारण सेयरहरु सामूहिक लगानी कोषको लागि बाँडफाँड गरेको छ । जसमा बाँकी २ लाख ५२ हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।

जेबिल्स फाइनान्सले ३.५७ प्रतिशत बोनस सेयर दिने, पायो राष्ट्र बैंकको स्वीकृति

काठमाडौं । जेबिल्स फाइनान्सले सेयरधनीलाई ३.५७ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । फाइनान्सले सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति पाएको हो । संस्थाले आर्थिक वर्ष २०७३।७४ को नाफाबाट सो मात्राको बोनस वितरण गर्न स्वीकृति पाएको हो । लाभांश दिने घोषणा गरेको १ वर्षपछि राष्ट्र बैंकले स्वीकृति दिएको हो । फाइनान्सले यसअघि १०० प्रतिशत र ४० प्रतिशत हकप्रद बिक्री गरी चुक्ता पुँजी ८० करोड ९० लाख रुपैयाँ पुर्याएको छ । ३.५७ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ८३ करोड ७८ लाख रुपैयाँ पुग्ने छ । साथै, बोनसको कर प्रयोजनको लागि १५ लाख २० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने संस्थाको प्रस्ताव रहेको छ ।