मार्जिन लेण्डिङका लागि भिजन सेक्युरिटिजले जुटायो १.५० अर्ब ऋण, दोस्रो ठूलो ब्रोकर

काठमाडौं । भिजन सेक्युरिटिज प्रालिले मार्जिन लेण्डिङ (मार्जिन ट्रेडिङ) सेवा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले उक्त सेवा सञ्चालनका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ५० करोड रुपैयाँ ऋणको व्यवस्था गरिसकेको जनाएको छ । 

कम्पनीका अध्यक्ष राजकुमार तिमल्सिनाका अनुसार मार्जिन कारोबार सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । बैंकसँगको प्रक्रिया समयमै पूरा भए चालु आर्थिक वर्षकै असार मसान्तभित्र सेवा सुरु गरिने र केही ढिलाइ भए पनि साउनदेखि सेवा सञ्चालनमा ल्याइने उनले बताए । ‘मार्जिन लेण्डिङ सेवा सञ्चालनको प्रक्रिया अगाडि बढाइरहेका छौं। यसका लागि बैंकबाट ऋण लिइसकेका छौं । सेवा सुरु भएपछि कारोबार थप बढ्ने अपेक्षा गरेका छौं,’ उनले भने ।

उनका अनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जारी गरेको कार्यविधिका आधारमा कम्पनीले आफ्नै आन्तरिक कार्यविधि तयार गरिरहेको छ । ग्राहकलाई कति रकमसम्म कर्जा दिने, ब्याजदर कसरी निर्धारण गर्ने तथा जोखिम व्यवस्थापनसम्बन्धी विषय कम्पनीको आन्तरिक नीतिअनुसार तय गरिनेछ ।

तिमल्सिनाले बैंकबाट प्राप्त कर्जामा न्यून प्रिमियम थपेर ग्राहकलाई मार्जिन कर्जा उपलब्ध गराइने बताए । ‘ठूलो परिमाणमा कर्जा लिँदा बैंकले कम ब्याजदरमा ऋण उपलब्ध गराउँछ । त्यसमा सञ्चालन खर्च, आवश्यक जनशक्ति तथा अन्य व्यवस्थापन खर्च जोडेर न्यून प्रिमियमसहित ग्राहकलाई कर्जा प्रवाह गर्ने योजना छ,’ उनले भने ।

मार्जिन लेण्डिङ सेवा सञ्चालनमा आएपछि लगानीकर्ताले एउटै स्थानबाट धितोपत्र कारोबारसँगै कर्जा सुविधा पनि प्राप्त गर्नेछन् । यसले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउने कम्पनीको विश्वास छ । तिमल्सिनाका अनुसार आगामी आर्थिक वर्षमा कम्पनीको ऋणभार केही बढ्ने भए पनि मार्जिन कारोबारबाट ब्याज आम्दानी थपिने भएकाले व्यवसायको आम्दानी आधार अझ विविध र सुदृढ बन्ने अपेक्षा गरिएको छ । 

हाल कम्पनीको कुल आम्दानीमध्ये करिब ९८ प्रतिशत हिस्सा सेयर खरिद-बिक्रीबाट प्राप्त हुने ब्रोकर कमिसनबाट आउँछ भने बाँकी आम्दानी निक्षेप सदस्य सेवाबाट प्राप्त हुने शुल्कलगायत अन्य स्रोतबाट हुने गरेको छ ।

१४० प्रतिशत बढ्यो आम्दानी 

भिजन सेक्युरिटिजले गत आर्थिक वर्ष २०८१/८२ मा ४१ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा १४०.२२ प्रतिशत अर्थात् २४ करोड ४० लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले १७ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । 

सेयर बजारमा कारोबार बढेसँगै सेयर खरिद-बिक्रीबाट प्राप्त हुने ब्रोकर शुल्क वृद्धि भएकाले आम्दानी पनि बढेको कम्पनीले जनाएको छ । साथै गत वर्ष कम्पनीको कुल कारोबार रकम १६७ प्रतिशतले बढेर १ खर्ब ५८ अर्ब ३९ करोड ६० लाख रुपैयाँ पुगेको थियो । गत वर्ष आम्दानी बढेसँगै खुद नाफा २२ करोड १० लाख रुपैयाँ आर्जन गरेको जनाएको छ

कम्पनीका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा २६ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । साथै यस अवधिमा कुल कारोबार रकम ९२ अर्ब ९९ करोड ७० लाख रुपैयाँ पुगेको छ । 

दोस्रो ठूलो ब्रोकर बन्न सफल

वि.सं २०६४ पुस स्थापना भएको भिजन सेक्युरिटिजको मुख्य व्यवसाय नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत लगानीकर्तालाई सेयर खरि-बिक्री सेवा उपलब्ध गराउने र सोबाट कमिसन आम्दानी गर्ने हो । साथै नेप्सेको ट्रेडिङ सदस्य तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को निक्षेप सदस्यका रूपमा समेत कार्यरत छ । कम्पनीले हाल देशभर १२ वटा शाखा मार्फत आफ्ना सेवाहरू प्रदान गर्दै आएको छ । 

कम्पनीको नेतृत्व अध्यक्ष तिमल्सिनाले गरिरहेका छन् । उनीसँग एलएलबी र एमबीएस शैक्षिक योग्यता रहेको छ । उनी आरएमडीसी लघुवित्त वित्तीय संस्था र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका पूर्वसञ्चालकसमेत हुन् । साथै उनी नेपाल इन्भेस्टमेन्ट फोरमका पूर्वअध्यक्ष पनि हुन् । त्यसैगरी कम्पनीका सञ्चालक कुशल न्यौपानेसँग वित्तीय तथा पुँजीबजार क्षेत्रमा एक दशक बढीको अनुभव रहेको छ । 

गत वर्ष ९२ वटा धितोपत्र दलाल (ब्रोकर)कम्पनीमध्ये भिजन सेक्युरिटिज तेस्रो स्थानमा थियो । चालु आर्थिक वर्षको १० महिनामा कम्पनीले आफ्नो स्थान सुधार गर्दै दोस्रो स्थान हासिल गरेको दाबी गरेको छ । यद्यपि कम्पनीको बजार हिस्सा गत वर्ष ३.७३ प्रतिशत रहेकोमा चालु आवको १० महिनामा घटेर ३.४८ प्रतिशतमा झरेको छ । कम्पनीका अनुसार सक्रिय ग्राहक संख्या झण्डै १ लाख ३८ हजार पुगेका छन् । जसमा खुद्रा (रिटेल) र संस्थागत दुवै प्रकारका लगानीकर्ता रहेका छन् ।

चालु आवको ९ महिनासम्म कम्पनीको खुद सम्पत्ति ५४ करोड ८० लाख रुपैयाँ पुगेको छ भने कुल दायित्व (गैर-नगद सुविधासहित) ३९ करोड ६० लाख रुपैयाँ रहेको छ । 

Share News