गोर्खा ब्रुअरीको १५ प्रतिशत सेयर राजबहादुरले किने, प्रिमियम मूल्यमा कारोबार
काठमाडौं । बियर उत्पादक कम्पनी गोर्खा ब्रुअरीको १५ प्रतिशत सेयर उद्योगी राजबहादुर शाहले खरिद गरेका छन् । गोर्खा ब्रुअरी र जावलाखेल ग्रुप अफ इन्डस्ट्रीजका सञ्चालक शाहबीच १५ प्रतिशत सेयर खरिद बिक्रीको सहमति भएको हो । गोर्खा ब्रुअरीमा हाल करिव एक अर्ब ३० करोड रुपैयाँ सेयर पुँजी रहेको छ । त्यसको शाहले १५ प्रतिशतसम्म सेयर खरिद गर्ने सहमति भएको हो । सो सेयर प्रिमियम मूल्यमा खरिदबिक्री गर्ने सहमति भएको उच्च स्रोतले बतायो । तर कति प्रिमियम मूल्य थपेको भन्ने विषय स्रोतले खुलाएन । बहुराष्ट्रिय कम्पनी काल्सवर्ग समूहको हाल सतप्रतिशत लगानी रहेको गोर्खा ब्रुअरीमा अब नेपाली व्यवसायी शाह पनि संलग्न भएका छन् । ‘गोर्खा ब्रुअरी आफैमा ब्राण्डेड छ । नेपाली उद्योगमा स्थापित जावलाखेल ग्रुप पनि त्यसमा आवद्ध भएपछि अब एकअर्काको परिपूरकका हिसाबले कम्पनी अगाडि बढ्नेछ,’ स्रोतले भन्यो । गोर्खा ब्रुअरीले बियर मात्र उत्पादन गर्दछ । यसका उत्पादन काल्सवर्ग र टुर्बाेग नेपालमा सर्वाधिक रूचाइने वियर हुन् । जाउलाखेल ग्रुप अफ इन्डस्ट्रीजका विस्की, भोड्कासहित विभिन्न ब्राण्ड नेपाली बजारमा अग्रणी स्थानमा छन् । राजबहादुर शाह परिवारको लगानीमा सञ्चालित जाउलाखेल ग्रुप अफ डिस्ट्रिलरी अन्तर्गत हाल विभिन्न २१ ब्राण्डमा मदिरा उत्पादन हुँदै आएको कम्पनीले जनाएको छ । व्यक्तिगत तर्फबाट सबैभन्दा बढी आय कर तिरेका जनाउँदै उनी र उनको बुबा विजय बहादुर शाहलाई नेपाल सरकारले पटक पटक उच्च करदाता सम्मान दिएको छ । गोर्खा ब्रुअरीको स्थापना काल्सवर्ग र खेतान समूहको संयुक्त लगानीमा भएको थियो । सुरुमा यस कम्पनीको व्यस्थापन खेतान समूहकै नेतृत्वमा थियो । पछि खेतान समूहले यसको सेयर बेचेर घटाउँदै लगेको थियो । २०८१ साउनमा खेतान ग्रुपको स्वामित्वमा बाँकी रहेको ९.९४ प्रतिशत सेयर पनि कार्लसबर्ग ग्रुपले खरिद गरेको थियो । खेतान समूहले सो सेयर काल्सवर्गलाई नै बिक्री गरेपछि सतप्रतिशत स्वामित्व काल्सवर्गको रहेको थियो ।
ब्रोकर व्यवसायीहरूसँग अर्थमन्त्रीले भने- स्वर्णिम समय आउँदैछ, हल्लाको पछि नलागौँ
काठमाडौं । पुँजी बजारको वर्तमान अवस्था, सुधारका उपाय र बजार सुधार सम्बन्धी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल स्टक ब्रोकर एशोसिएसनबीच सोमबार (आज) सिंहदरबारमा भेटघाट सम्पन्न भएको छ । बैठकमा अर्थमन्त्री डा. वाग्लले नेपाललाई अन्तर्राष्ट्रिय ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन सरकार गम्भीर रूपमा लागिरहेको बताए । त्यसका लागि सुशासन प्रवर्द्धन गर्ने काम प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले जनमत पनि यही दिशामा रहेको बताए । उनले केही अनुसन्धान पुराना भए पनि अहिले अन्तिम चरणमा पुगेको स्पष्ट पार्दै अपराध गर्ने कसैलाई उन्मुक्ति नदिइने तर छानीछानी प्रतिशोध पनि नलिइने बताए । साथै, सरकार निजी क्षेत्रमैत्री रहेको उल्लेख गर्दै आफ्नो पहिलो निर्णयबाटै त्यो स्पष्ट भएको दाबी गरे । ‘हामी अर्थतन्त्रलाई रूपान्तरण गर्ने दिशामा अघि बढेका छौँ,’ उनले भने, ‘आगामी बजेट २०४८ साल यताकै रूपान्तरणकारी र ऐतिहासिक हुनेछ ।’ उनले नेपालको अर्थतन्त्रका लागि अब ‘स्वर्णिम समय’ आउन लागेको दाबी गर्दै बजारमा फैलिएका हल्ला र गलत अफबाहको पछि नलाग्न सबैलाई आग्रह गरे । अर्थमन्त्री वाग्लेले आफ्नो राजनीतिक दलले सेयर बजारका विषयमा स्पष्ट र उदार धारणा राख्दै आएको उल्लेख गर्दै हाल बजारमा अनावश्यक अफबाह फैलाएकोप्रति चिन्ता व्यक्त गरे । महासचिव भक्तिराम घिमिरेले बजारमा केही समूहले जानाजानी गलत हल्ला फैलाइरहेको बताए । बजारमा सेयर बेचेर बाहिरिएका तथा पुनः सेयर उठाउन खोजिरहेका व्यक्तिहरूले भ्रम फैलाएको उनको भनाइ छ । ‘यस्ता गतिविधिले साना लगानीकर्तामा त्रास सिर्जना गरेको छ । साथै, संस्थागत लगानीकर्ताका लागि बजारमा सहज वातावरण बनाउनुपर्नेछ,’ उनले भने । उनले निजी क्षेत्रमाथिको अनुसन्धान जायज भए पनि त्यसलाई गोप्य रूपमा अगाडि बढाउनुपर्ने धारणा राख्दै हाल त्यसो हुन नसकेको गुनासो गरे । धितोपत्र दलाल व्यवसायीहरूले अर्थमन्त्रीसँग पुँजी बजारका समस्या समाधानका लागि विभिन्न माग समेत राखेका छन् । ७६ लाख लगानीकर्ता र ९२ ब्रोकरहरू सक्रिय रहेकाे पुँजी बजारमा नयाँ सरकार र अर्थमन्त्रीको नेतृत्वपछि बजारमा नयाँ आशा र अपेक्षा रहेको घिमिरेको भनाइ छ। धितोपत्र दलाल व्यवसायीहरूले हालसम्म अनेकौं समस्या भोग्दै आएको भए पनि दोस्रो बजारमा आफ्नो कर्तव्य र दायित्व पूरा गर्दै आएकाे घिमिरेले बताए । ब्राेकरहरूले औंल्याएका मुख्य चुनौतीहरू समाधान भएमा पुँजीबजारको समग्र सुधार हुने र लगानीकर्ताहरूको मनोबल पनि बढ्ने उनकाे भनाइ छ । पुँजी बजार सुधार कार्यदलले दिएका कार्यान्वयन हुन बाँकी सुझावहरू अविलम्ब कार्यान्वयन गर्न ब्रोकर व्यवसायीहरूले माग गरेका छन् । साथै, बैंक तथा वित्तीय संस्थाहरूलाई सहज रूपमा पुँजीबजार प्रवेश र बाहिरिन सक्ने व्यवस्था लागू गर्नुपर्ने, गैर-आवासीय नेपाली नागरिकलाई पनि दोस्रो बजारमा सहज रूपमा सेयर कारोबार गर्ने व्यवस्था लागू गर्नुपर्ने माग उनीहरूको रहेको छ। आगामी बजेटमार्फत पूँजीगत लाभकर अन्तिम कर हो भनि स्पष्ट पार्नुपर्ने, बजारमा हाल साना लगानीकर्ताहरूको मनोबल बढाउन सरकारी संस्थानहरूमा रहेका विभिन्न कोषको रकमलाई दोस्रो बजारमा सहज रूपमा लगानी गर्ने वातावरण बनाउनुपर्ने माग पनि उनीहरूले गरेका छन् । यस्तै, बजारले धितोपत्र हस्तान्तरणको पूर्ण ग्यारेन्टी दिन नसकेको कारण बिक्री गरी हस्तान्तरण गर्न नसक्दा सिधै क्लोज आउटमा लगिने व्यवस्थाले लगानीकर्तामा असर पर्ने भएकाले यसलाई समाधान गर्न अक्सन मार्केट यथाशीघ्र सुरु गर्नुपर्ने, साथै सेटलमेन्ट ग्यारेन्टी फण्डको प्रयोगका लागि २०७५ सालमा विनियमावली र २०७९ सालमा कार्यविधि बनेको भए पनि लामो समयदेखि कार्यान्वयनमा नआएको कारण नियामक निकायलाई आवश्यक निर्देशन दिन माग गरिएको महासचिव घिमिरेले बताए ।
सेयर कारोबार आइतबार बन्द, शुक्रबार खुला
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अबदेखि शुक्रबार पनि सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ । नेप्से सञ्चालक समितिले आइतबार बसेको बैठकमा शुक्रबार पनि बजार खुला गर्ने निर्णय गरेको हो । सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारको निर्णयअनुसार आइतबार सेयर कारोबार बन्द रहनेछ । तर, साताको पाँचै दिन सेयर कारोबार सुनिश्चित गर्न शुक्रबार पनि कारोबार खुला गर्ने निर्णय नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईँले बताए । यसअघि पनि सरकारले २०७९ साल जेठ १ गतेदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गर्दा नेप्सेले शुक्रबार बजार खोल्ने व्यवस्था गरेको थियो। त्यस समय पनि सातामा पाँच दिन सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार भएको थियो । पछि सरकारले आइतबारको बिदा खारेज गरेपछि नेप्से पुरानै कार्यतालिकामा फर्किएको थियो ।