गंगा हेल्थ केयरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । साना तथा मझौला कम्पनी श्री गंगा हेल्थ केयर इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारमा सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यसै सन्दर्भमा, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा गंगा हेल्थ केयर इण्डष्ट्रिजको तर्फबाट अध्यक्ष सुरज प्रसाद खत्री र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीले जारी पूँजीको ३० प्रतिशत साधारण सेयर सर्वसाधारणलाई निष्काशन गर्ने जनाएको छ ।
शिव श्री हाइड्रोको १ सय प्रतिशत हकप्रद सेयर बिक्री खुला, १ कित्ता हुनेले नयाँ १ कित्ता पाउने
काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनीले आज भदौ १९ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ४७ करोड ६५ लाख रुपैयाँको १ सय प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँको प्रतिकित्ता १ रुपैयाा अंकित मूल्य दरका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ९५ करोड २८ लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १६ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा असोज ८ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिटिजन्स बैंकको कुमारी पाटी, ठिमी, विराटनगर, बिर्तामोड, विरगंज, सुर्खेत, जनकपुर, नेपालगन्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौंडा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
एनआईसी एशिया क्यापिटलको ५० प्रतिशत नगद लाभांश पारित
काठमाडौं । एनआईसी एशिया क्यापिटलले नवौं वार्षिक साधारण सभा सम्पन्न गर्दै सेयरधनीलाई ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बुधबार थापाथलीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय प्रतिवेदन अनुमोदन गरेको छ। सभामा सञ्चालक समितिका अध्यक्ष सन्तोष कुमार राठीले २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको क्यापिटलले समीक्षा अवधिमा ३० करोड ६० लाख रुपैयाँभन्दा बढी आम्दानी र ११ करोड ६४ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको जानकारी दिए । उनका अनुसार आषाढ मसान्तसम्म ८ लाख डिम्याट खाता खोलिएको छ भने म्युचुअल फण्ड अन्तर्गत ४ वटा बन्दमुखी र १ वटा खुलामुखी गरी ५ योजना सञ्चालन गर्दै ५ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी रकम व्यवस्थापन गरिएको छ । लगानी व्यवस्थापन सेवामा ७२० ग्राहकबाट २ अर्ब ७० करोड रुपैयाँभन्दा बढी रकम व्यवस्थापन भइरहेको छ । सेयर रजिष्ट्रार सेवाअन्तर्गत २३ कम्पनीलाई सेवा दिइरहेको क्यापिटलले हालसम्म १७ वटा कम्पनीको निष्काशन कार्य सम्पन्न गरिसकेको जनाएको छ । कम्पनीले यसअघि सम्म सेयरधनीलाई कुल २९० प्रतिशत बराबरको लाभांश वितरण गरिसकेको छ ।