१ सय रुपैयाँमै एशियन लाइफको सेयर बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले साढे ३ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गरेको छ । कम्पनीले आज भदौ २२ गतेदेखि भदौ २९ गतेसम्म ३ लाख ५८ हजार ५१२ कित्ता अवितरित हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले असार २५ गतेदेखि साउन २० गतेसम्म चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँको ४२ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ४.२ कित्ता सेयर अनुपातमा हकप्रद सेयर जारी गरेको थियो । अर्थात् कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ४२ लाख ७९ हजार ३१२ कित्ता हकप्रद सेयर जारी गरेको थियो ।   उक्त अवधिमा विक्री नभएको संस्थापक समूहतर्फको ३० हजार ३८ कित्ता र सर्वसाधारण समूहतर्फको ३ लाख २८ हजार ४७३ कित्ता गरी ३ लाख ५८ हजार ५१२ कित्ता सेयर लिलाम बिक्रीमा राखेको हो । कम्पनीको सेयर मूल्य न्यूनतम प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ ।  कम्पनीको सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकको ठिमी, कुमारी पाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा चिप्लेढुङ्गा, बाग्लुङ, बुटवल, घोराही दाङ, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी र महेन्द्रनगर शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

एसवाई प्यानलले भदौ २९ गतेदेखि आईपीओ बिक्री गर्ने, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । एसवाई प्यानल नेपालले भदौ २९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गर्ने भएको हो ।  कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये २ प्रतिशत अर्थात् २ लाख ६१ हजार ६२७ कित्ता सेयर उद्योग प्रभावित क्षेत्र चितवनको रत्ननगर नगरपालिकाका स्थानीय बासिन्दालाई छुट्याएको छ ।  यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको सेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९७ हजार ९२ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत लिई विदेशमा रोजगार गरिरहेका नेपालीलाई छुट्याएको छ ।  उद्योग प्रभावित क्षेत्रका बासिन्दा र विदेशमा रहेका नेपालीलाई सेयर बाँडफाँड गरे पश्चात् बाँकी रहेको ४९ लाख ७० हजार ९२१ कित्ता सेयरमध्ये ३ प्रतिशत अर्थात् १ लाख ४९ हजार १२७ कित्ता कर्मचारीहरूलाई, ५ प्रतिशत अर्थात् २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोष र ४० लाख ७६ हजार १५६ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गरिने कम्पनीले जनाएको छ ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा स्थानीयले छिटोमा असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभए असोज २७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा असोज १ गते र ढिलोमा असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले प्रभु बैंकको सौराहा र टाँडी शाखा, उद्योगको कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

आरबिबि फोकस ४० मा आवेदन दिने समय लम्बियो

काठमाडौं । आबिबि मर्चेन्ट बैंकिङ्गको आरबिबि फोकस ४० मा आवेदन दिने समय लम्बिएको छ । भदौ १८ गतेदेखि बिक्री खुला गरेको आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने १ अर्ब रुपैयाँको आरबिबि फोकस ४० मा अब असोज १ गतेसम्म आवेदन सकिने भएको छ । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये न्यूनतम १ करोड ४० लाख इकाई तथा १४ प्रतिशत इकाई कोष प्रबद्र्धक राष्ट्रिय वाणिज्य बैंक, १० लाख इकाई वा १ प्रतिशत इकाई योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्गलाई छुट्याई बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो ।  कम्पनीको उक्त योजनामा लगानीकर्ताहरुले न्यूनतम १ सयदेखि १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् ।  नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।