कालिन्चोक हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत २५ गते अन्तिम दिन रहेको छ । चैत २२ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका १३ लाख ७५ हजार कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ५ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ८२ हजार ५०० कित्ता विदेशमा रहेका नेपाली, ५ प्रतिशत अर्थात् ४१ हजार २५० कित्ता सामूहिक लगानी कोष, २ प्रतिशत अर्थात् १६ हजार ५ सय कित्ता कर्मचारीलाई बिक्री गरिसकेको छ । दोस्रो चरणमा बाँकी रहेको ६ लाख ८४ हजार ७५० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिएको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् ।
३० वर्ष पुरानो टाइम फर्मास्युटिकल्सले सर्वसाधारणका लागि सेयर जारी गर्ने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र टाइम फर्मास्युटिकल्सबीच बुक बिल्डिङ विधिमार्फत सेयर निष्कासनका लागि शिलबन्दी बोलपत्रसम्बन्धी कार्य सञ्चालन गर्ने सम्झौता सम्पन्न भएको छ । नवलपरासीको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको कम्पनीले धितोपत्र दर्ता तथा निष्कासन नियमावली र बुक बिल्डिङ निर्देशिका, २०७७ को प्रावधानअनुसार बोलपत्र दर्ता, खोल्ने र निर्णय गर्ने प्रक्रियामा नेप्सेको सहजीकरण प्राप्त गर्ने गरी यो सम्झौता गरेको हो । सम्झौता पत्रमा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईं र टाइम फर्मास्युटिकल्सका तर्फबाट प्रबन्ध सञ्चालक सुदर्शनलाल श्रेष्ठले हस्ताक्षर गरे । उक्त अवसरमा कम्पनी सचिव अधिवक्ता सुदिप घिमिरे र बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टको तर्फबाट मनोहर कडेलको समेत उपस्थिति रहेको थियो । कम्पनीले १० करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको कुल १० लाख ८६ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको छ । जसमध्ये ४० प्रतिशत अर्थात् ४ लाख ३४ हजार ६०० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताका लागि बुक बिल्डिङ विधिमार्फत बोलकबोल गरिनेछ भने बाँकी ६० प्रतिशत सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिनेछ । यस सेयर निष्कासनपश्चात कम्पनीको चुक्ता पुँजी ५३ करोड रुपैयाँ पुग्नेछ । ३० वर्षदेखि औषधि उत्पादनमा सक्रिय यो कम्पनी डब्ल्यूएचओ(जीएमपी प्रमाणित उद्योग हो, जसले हाल २०० भन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै ३०० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ । नवलपरासीको उत्पादन प्लान्ट र ललितपुरको सातदोबाटोस्थित मार्केटिङ कार्यालय मार्फत कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्दै आएको छ।
घाम उर्जा सेवाले आईपीओ ल्याउने, एनएमबि क्यापिटलसँग सम्झौता
काठमाडौं । घाम उर्जा सेवा लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशनको तयारी स्वरूप एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ । कम्पनीले नेपालभर नवीकरणीय ऊर्जाको विस्तार गर्ने लक्ष्यसहित उक्त साझेदारी गरेको जनाएको छ । घाम उर्जा सेवाले व्यवसायिक तथा औद्योगिक ग्राहकहरूलाई रूफटप सौर्य ऊर्जा प्रविधि उपलब्ध गराउँदै आएको छ । १५ देखि २० वर्षसम्मको विद्युत खरिद सम्झौता मोडेलमा सञ्चालन भइरहेको कम्पनीले व्यवसायहरूलाई प्रारम्भिक लगानीबिनै ऊर्जामा आत्मनिर्भर बन्ने अवसर प्रदान गर्दै आएको छ । कम्पनीका अनुसार यस प्रविधिले कार्बन उत्सर्जन घटाउनुका साथै सञ्चालन लागत कम गर्न सहयोग पुर्याउँछ । घाम उर्जा सेवाले नवीकरणीय ऊर्जा प्रवर्द्धनमार्फत सामाजिक तथा आर्थिक प्रभाव सिर्जना गर्नुका साथै जलवायु परिवर्तनविरुद्ध सक्रिय भूमिका निर्वाह गरिरहेको छ । आईपीओ निष्काशनसम्बन्धी सम्झौतापत्रमा घाम उर्जा सेवाका अध्यक्ष अन्जल निरौला र एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन् । दुवै पक्षले उक्त साझेदारीप्रति उत्साह व्यक्त गर्दै आईपीओलाई सफल बनाउन तथा सरोकारवालाहरूका लागि उत्कृष्ट प्रतिफल सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् ।