दीपक भट्टमाथिको अनुसन्धान प्रतिवेदन बाहिरियो, भीआईपी व्यवसायी समेत संलग्न

काठमाडौं । व्यापारी दीपक भट्टमाथि गरिएको अनुसन्धानको प्रतिवेदन सार्वजनिक भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा नेपाल धितोपत्र बोर्डले गरेको सुपरिवेक्षणमा भट्ट र उनीसँग सम्बन्धित नेटवर्कले बजार प्रभावित पार्ने, मूल्यमा कृत्रिम उतारचढाव ल्याउने तथा जालसाजीपूर्ण कारोबार गरेको निष्कर्ष निकालिएको छ ।

उक्त नेटवर्कमा केही भीआईपी उद्योगी-व्यवसायीहरू समेत संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ । प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ अनुसार भट्टले धितोपत्र दलाल कम्पनी भृकुटी स्टक ब्रोकिङमार्फत वास्तविक रकम भुक्तानी नगरी ठूलो परिमाणमा सेयर कारोबार गरेका थिए । प्रचलित कानुनअनुसार बैंकमार्फत मात्र कारोबार गर्नुपर्ने र कम्तीमा २५ प्रतिशत अग्रिम रकम लिनुपर्ने व्यवस्था हुँदाहुँदै त्यसको उल्लङ्घन भएको देखिएको छ ।

भट्टले सेयर खरिद गर्दा नगद भुक्तानी नगरी आफू निकट कम्पनीहरूबीच रकम मिलान (राफसाफ) गर्ने अभ्यास अपनाएको पाइएको छ । यस्तो ‘उधारो कारोबार’ले बजारमा कृत्रिम माग सिर्जना गरी सेयर मूल्य वृद्धि गराउन सहयोग गरेको प्रतिवेदनले औंल्याएको छ ।

प्रतिवेदनले भट्टसँग सम्बन्धित कम्पनीहरूबीच ‘इन्साइडर ट्रेडिङ’ भएको पनि पुष्टि गरेको छ । इन्फिनिटी होल्डिङ्समार्फत हिमालयन रिइन्स्योरेन्सबाट खरिद गरिएका ऋणपत्रहरू आफ्नै अन्य कम्पनीहरूलाई उच्च मूल्यमा बिक्री गरिएको पाइएको छ । यस्तो कारोबारले वास्तविक स्वामित्वमा खासै परिवर्तन नगरी मूल्य मात्र बढाउने उद्देश्य राखेको देखिन्छ, जसलाई कानुनले झुट्टा कारोबारको रूपमा परिभाषित गर्छ ।

प्रतिवेदनले भट्टसहित भृकुटी स्टक ब्रोकिङका कार्यकारी प्रमुख सन्दीप चाचान लगायतले धितोपत्र सम्बन्धी ऐन, २०६३ उल्लङ्घन गरेको निष्कर्ष निकालेको छ । उनीहरूले बजारलाई प्रभावित पार्ने, कृत्रिम कारोबार गर्ने र लगानीकर्तालाई भ्रममा पार्ने कार्य गरेको ठहर गरिएको छ ।

अन्य आरोपितहरूमा शुभी अग्रवाल, ऋषि राज मोर र राजबहादुर शाह रहेका छन् भने हिमालयन रिइन्स्योरेन्ससँग सम्बन्धित व्यक्तिहरू तथा केही उद्योगी-व्यवसायीहरूले समेत प्रक्रियामा सहयोग पुर्याएको उल्लेख छ । प्रतिवेदनले दोषीहरूलाई धितोपत्र सम्बन्धी ऐनअनुसार कडा कारबाही गर्न सिफारिस गरेको छ।

Share News