बुद्धभुमी नेपाल हाइड्रोको हकप्रद खरिद गर्ने समय लम्बियो, अब कहिलेसम्म आवेदन दिन पाइन्छ ?
काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समय लम्बिएको छ । चैत २२ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा अब सेयरधनीहरूले वैशाख २८ गतेसम्म आवेदन दिन सक्नेछन् । यसअघि वैशाख १३ गतेसम्म आवेदन भर्ने समय तोकिएको भएपनि मागभन्दा कम आवेदन परेपछि आवेदन दिने समय लम्बिएको कम्पनीले जनाएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ४० करोड रुपैयाँको १०० प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले ४० करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँडपश्चात् कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत फागुन १ गते बुकक्लोज गरेको थियो । त्यसैले माघ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै कम्पनीको पानीपोखरी, महाराजगञ्जस्थित कार्यालय, जलविद्युत गृह रहेको स्थान थप्रेक नुवाकोट, एनआईसी एशिया बैंकको विराटनगर, विरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।
टक्सार पिखुवा खोला हाइड्रोले वैशाख २३ गतेदेखि आईपीओ बिक्री खुला गर्ने
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले वैशाख २३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बाँडफाँड गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात् ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका ४२ लाख ३० हजार ६६८ कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १२ लाख कित्ता स्थानीय बासिन्दा, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ३ लाख ३ हजार ६७ कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली, ५ प्रतिशत अर्थात् १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ६० हजार ६१३ कित्ता सेयरमा कर्मचारीलाई बिक्री गरिसकेको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले वैशाख २३ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा जेठ ६ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
पाल्पा सिमेन्ट र शिखर सिमेन्टको सेयर मूल्य १४.९९ प्रतिशतले बढे
काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७ अंकले घटेर २७८७ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ४६ कम्पनीको सेयर मूल्य बढ्दा २१६ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । ३४८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पििनिङको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, सोलु हाइड्रोको २६ करोड, आँखु खोलाको २६ करोड ५ लाख, होटल फोरेस्ट २२ करोड र नेसनल हाइड्रोको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबारको कारोबारमा पाल्पा सिमेन्ट र शिखर सिमेन्टको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।