काठमाडौं । ज्योति विकास बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नाफा १०५.२९ प्रतिशत बढेर ६२ करोड ९४ लाख ६२ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३० करोड ६६ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ०.७८ प्रतिशत बढेर १ अर्ब ५९ करोड ६५ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५८ करोड ४१ लाख ४९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ५५.३६ प्रतिशत बढेर २० करोड १६ लाख २० हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ६.१६ प्रतिशत बढेर १ अर्ब ९६ करोड ५४ लाख ९३ हजार रुपैयाँ र सञ्चालन नाफा १०५.२७ प्रतिशत बढेर ८९ करोड ९० लाख २० हजार रुपैयाँ पुगेको छ ।
गत वर्षको चैत मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी १२ करोड ९७ लाख ७५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १ अर्ब ८५ करोड १२ लाख ८० हजार रुपैयाँ र सञ्चालन नाफा ४३ करोड ७९ लाख ६१ हजार रुपैयाँ थियो ।
चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा ४३ करोड ४८ लाख ४४ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा ५६ करोड ८७ लाख ७६ हजार रुपैयाँ थियो ।
४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब २२ करोड ३१ लाख ४७ हजार रुपैयाँ रहेको छ ।
चालु आवको चैत मसान्तसम्म बैंकले ६४ अर्ब ४९ करोड ८ लाख ७६ हजार रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ९८ करोड ८९ लाख ९८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको चैतसम्म बैंकले ६० अर्ब ४८ करोड २५ लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब २३ करोड ५० लाख ५१ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको निक्षेप ६.६२ प्रतिशत अर्थात् ४ अर्ब ८३ लाख रुपैयाँ र कर्जा लगानी ६.०८ प्रतिशत अर्थात् २ अर्ब ७५ करोड रुपैयाँ बढाएको छ । साथै चैत मसान्तमा बैंकको कर्जा निक्षेप अनुपात ८१.४५ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा पनि वृद्धि भएको छ । गत वर्षको चैतमा ४.९८ प्रतिशत रहेको खराब कर्जा चालु आवमा बढेर ७.८३ प्रतिशत पुगेको छ । बैंकका अनुसार आधार दर ५.९५ प्रतिशतमा झरेको छ । जबकि गत वर्षको चैतमा ७.५१ प्रतिशत थियो ।
बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर १९.०९ रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा बैंकको प्रतिसेयर आम्दानी ९.३० रुपैयाँ थियो । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १६३.४३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १९.४३ गुणा छ ।