हिमालयन सेक्युरिटिजको पाँचौं वार्षिकसभा सम्पन्न, ८ प्रतिशत लाभांश पारित
काठमाडौं । हिमालयन सेक्युरिटिजको पाँचौं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण (वासलात, नाफारनोक्सान, नगद प्रवाह विवरण) उपर गहन छलफल गरी पारित गरेको छ । साथै सभाले सञ्चालक समितिको प्रस्तावबमोजिम चुक्ता पूँजीको ८ प्रतिशत करसहित नगद लाभांश सेयरधनीलाई वितरण गर्ने निर्णय गरेको छ । सभाले आगामी आव २०८२/८३ का लागि कम्पनी ऐन, २०६३ को दफा ११ अनुसार एम.बी. श्रेष्ठ एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गरेको छ । सञ्चालक समितिका अध्यक्ष सुशील जोशीले कम्पनीले छोटो अवधिमा हासिल गरेको उपलब्धी र सफलताबारे प्रकाश पारेका थिए ।
सिटिजन्स बैंकले ७७.७३ करोड लाभांश बाँड्ने, ५ प्रतिशत बोनस सेयर
काठमाडौं । सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज १० गते बसेको बैठकले ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आथिृक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँको ५ प्रतिशतका दरले ७३ करोड ८४ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ३ करोड ८८ लाख ६५ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत अर्थात् ७७ करोड ७३ लाख १६ हजार रुपैयाँ लाभांश वितरण गर्ने भएको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी १९औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने सूचना अधिकारी नारायण राज अधिकारीले बताए । विसं २०६४ बैशाख ७ गतेदेखि कारोबार सुरु गरेको बैंकले १९ वर्गादेखि ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले सर्वसाधारणलाई सेयर जारी गरेपछि आर्थिक वर्ष २०६५/६६ देखि सेयरधनीहरूलाई निरन्तर लाभांश वितरण गर्दै आएको छ । आर्थिक वर्ष २०६५/६६ देखि आव २०८१/८२ सम्म बैंकले सेयरधनीहरूलाई ११.८७ प्रतिशत औषत लाभांश वितरण गरेको छ । प्रस्तावित लाभांशसहित पछिल्लो १० वर्षको औषत लाभांश दर १०.५२ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । साथै, फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ अकाउन्ट’ प्रडक्ट पनि बैंकले सुरु गरेको छ । बैंकले देशभर २ सय वटा शाखा, १६९ वटा एटीएमक, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाईबाट १९ लाख ३७ हजार ग्राहकलाई सेवा दिइरहेको छ ।
मञ्जुश्री फाइनान्स मर्जरमा जाने, सेयरधनीलाई २०.२७ करोड रुपैयाँ नगद बाँड्दै
काठमाडौं । मञ्जुश्री फाइनान्स मर्जरमा जाने भएको छ । कम्पनीको सञ्चालक समितिले उपयुक्त बैंक तथा वित्तीय संस्थामा मर्जर तथा एक्विजिशनमा जाने निर्णय गरेको हो । मर्जर सम्बन्धी निर्णय पारित गर्न कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चाल समितिको असोज ९ गते बसेको बैठकले असोज ३१ गते काठमाडौंमा बिहान ११ बजे १८औँ वार्षिक साधारण सभा डाकेको छ । उक्त सभाले कुनै उपयुक्त बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने तथा तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा कम्पनीको चल/अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न मूल्याङ्कन कर्ता नियुक्त गरी पारिश्रमिक तोक्न, प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र आवश्यक सबै प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँको करसहित १५ प्रतिशतका दरले २० करोड २७ लाख ३२ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव पारित गर्नेछ । नेपाल राष्ट्र बैकको स्वीकृत लिई फाइनान्सको रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौं महानगरपालिका-१० बाट वडा नम्बर ११ मा राख्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।