नेपाल फाइनान्सको ६.३२ लाख सेयर बिक्रीमा, मूल्य १ सय रुपैयाँ

काठमाडौं । नेपाल फाइनान्सले हकप्रद संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले हकप्रद सेयर निष्कासनपछि बाँकी रहेका संस्थापक समूहका सेयर लिलाम बिक्रीमा राखेको हो ।  कम्पनीले अवितरित ६ लाख ३२ हजार ९७१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीको उक्त सेयर आज जेठ २९ गतेदेखि बिक्री खुला भई असार १२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको उक्त सेयरको मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ । खरिद गर्न इच्छुक लगानीकर्ताहरूले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । प्रभु क्यापिटल, नेपाल फाइनान्सको केन्द्रीय कार्यालय कमलादी, बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा र प्रभु बैंकको विराटनगर, विरगंज, पोखरा, नेपालगंज, सुर्खेत र धनगढी शाखाबाट सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

सेयर बजारमा ३ अर्ब ९० लाख रुपैयाँको कारोबार

काठमाडौं । बिहीबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छैन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.१४ प्रतिशतले घटेर २७२८ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ८२ कम्पनीको सेयर मूल्य बढ्दा १७८ कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३५० कम्पनीको ९२ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सीटी होटलको भएको छ । सीटी होटलको २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै सेन्ट्रल फाइनान्सको १७ करोड, बुंगल हाइड्रोको १६ करोड, पिपुल्स हाइड्रोको १५ करोड ९० लाख र आँखु खोलाको १५ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोपन फर्माको १५ प्रतिशत र एपोलो हाइड्रोको सेयर मूल्य १४.९७ प्रतिशतले सेयर मूल्य बढेको छ ।   

सुभास श्रेष्ठले तिरेनन् हिमालयन बैंकको ऋण, बिक्रीमा राख्यो ३ कम्पनीको सेयर

काठमाडौं । हिमालयन बैंकले धितोमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकको पाटन शाखाले ऋणी सुभास श्रेष्ठको नाममा रहेको सेयर कर्जा अन्तर्गत धितो राखिएका विभिन्न कम्पनीका संस्थापक सेयर लिलाम बिक्रीमा राखेको हो । बैंकका अनुसार ऋणी श्रेष्ठले सेयर कर्जा लिँदा प्राइम बैंकको ४६ हजार ८९४ कित्ता, युनाइटेड अजोड इन्सुरेन्सको ३८ हजार २७२ कित्ता र महालक्ष्मी विकास बैंकको ७३ हजार ८५३ कित्ता सेयर धितोमा राखेका थिए । कर्जाको साँवा, ब्याज तथा हर्जाना समयमै भुक्तानी नभएपछि बैंकले लिलाम प्रक्रिया अघि बढाएको बैंकले जनाएको छ ।  बैंकका अनुसार ऋणी तथा जमानतकर्तालाई कर्जा चुक्ता गर्न पटक-पटक मौखिक तथा लिखित रूपमा ताकेता गरिए पनि कुनै पहल नभएपछि धितोमा रहेको सेयर बिक्री प्रक्रिया अगाडि बढाइएको हो । बैंकले यसअघि ३५ दिनको समय दिएको भएपनि हालसम्म रकम भुक्तानी नभएपछि पुनः १५ दिनको समय दिएको हो ।  हाल बैंकको धितो सुरक्षणमा रहेको सेयर जे जस्तो अवस्थामा छ, त्यही अवस्थामा बिक्री गरिनेछ । इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाले पाटन शाखाबाट निर्धारित शुल्क तिरी बोलपत्र फारम खरिद गरी आवेदन दिन सक्नेछन् ।