मकालु वाईन इन्डस्ट्रीजले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा रिलायबल इन्भेष्टमेन्ट

काठमाडौं । मकालु वाईन इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारी गरेको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । आईपीओ निष्काशनका लागि कम्पनीले रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा मकालु वाईन इन्डस्ट्रीज लिमिटेडका अध्यक्ष पिताम्बर पोख्रेल र रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् । वि.सं. २०५२ सालमा संखुवासभाको धर्मदेवी नगरपालिका–३ मा स्थापना भएको कम्पनीले विगत ३१ वर्षदेखि करिब २८०० मिटर उचाइमा रहेको प्राकृतिक मुहानको पानी तथा जंगलमा पाइने चुत्रो र ऐंशेलुबाट अर्गानिक ‘हिंवा वाइन’ उत्पादन गर्दै आएको छ । आधुनिक प्रविधिको प्रयोगमार्फत उच्च गुणस्तरीय वाइन उत्पादन गर्दै आएको कम्पनीसँग करिब २० रोपनी आफ्नै जग्गा रहेको छ । कम्पनीमा देवश्री भेन्चर, हारभेस्ट भेन्चर, विर्तामोड सञ्जिवनी इन्भेष्टमेन्ट तथा स्टक आइडियाज इन्भेष्टमेन्टलगायत संस्थागत लगानीकर्ताको पनि लगानी रहेको छ । साथै कम्पनीले निकट भविष्यमा अंगुरबाट उत्पादन हुने तीन प्रकारका प्रिमियम वाइन बजारमा ल्याउने तयारीसमेत गरिरहेको जनाएको छ ।

नेप्सेमा सामान्य अंकको गिरावट, २ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.५४ अंकले घटेर २७३३ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार १०५ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको सेयर मूल्य घटेको छ । १५ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३५७ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एग्रीकल्चरल बोन्डको भएको छ । एग्रीकल्चरको ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै सेन्ट्रल फाइनान्सको ३५ करोड, १०.२५ प्रतिशत एनबीबीएलको ३१ करोड, आँखु खोला जलविद्युतको २५ करोड र १० प्रतिशत लक्ष्मी बैंकको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोपन फर्माको १५ प्रतिशत र कालिन्चोक हाइड्रोको १४.९९ प्रतिशतले सेयर मूल्य बढेका छन् ।     

आईएमई लाइफको २ करोड ८६ लाख कित्ता सेयरको लकइन सकिँदै

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक तथा कर्मचारी समूहको करोडौं कित्ता सेयरको लकइन अवधि समाप्त हुने भएको छ । कम्पनीको २ करोड ८६ लाख कित्ता सेयरको लकइन अवधि असार ३० गते सकिने भएको हो ।  कम्पनीका अनुसार संस्थापक सेयरधनीहरूको २ करोड ८० लाख कित्ता र कर्मचारीहरूको ६ लाख कित्ता सेयर लक–इनमा रहेको छ । लकइन अवधि समाप्त भएपछि उक्त सेयर बजारमा कारोबार योग्य हुनेछ ।  यद्यपि कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीहरूको सेयर भने नियमानुसार अझै पनि रोक्का रहनेछ । कम्पनीको सेयर रजिस्ट्रारका रूपमा ग्लोबल आईएमई क्यापिटलले जिम्मेवारी सम्हाल्दै आएको छ ।