एनटीसीको ३० प्रतिशत लाभांश घोषणा, सेयरधनीलाई ५ अर्ब ४० करोड रुपैयाँ

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम कम्पनी- एनटीसी) ले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित ३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको कम्पनी सचिव द्वारिका प्रसाद पौडेलले जानकारी दिए ।  हाल कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । सो आधारमा कम्पनीले ३० प्रतिशतका दरले ५ अर्ब ४० करोड रुपैयाँ नगद सेयरधनीलाई वितरण गर्ने भएको हो ।  उनका अनुसार उक्त लाभांश अर्थ मन्त्रालयबाट स्वीकृत भएपश्चात् सेयरधनीलाई वितरण गरिनेछ ।  लाभांश पारित गर्न कम्पनीले पुस ३० गते राष्ट्रिय सभागृह काठमाडौंमा बिहान ११ बजे १८औँ वार्षिक साधारण सभा डाकेको छ । सभाले लाभांशसँगै गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ ।  यस्तै, महालेखापरीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐनको प्रावधान अनुरूप कम्पनीको चालु आव २०८२/८३ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्नेछ ।  लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस २० गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् । 

विजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ बिक्री गर्ने, १ हजार कित्ता आवेदन दिन सकिने

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले पुस २१ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ बिक्री गर्ने भएको हो । साविकको नयाँ सारथी र विजय लघुवित्तको मर्जर पश्चात् बनेको विजय लघुवित्तको हाल कायम चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार रुपैयाँ रहेको छ । जसमा संस्थापक सेयरधनी समूहको ७४.३९ प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको २५.६१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।  सोही व्यवस्था बमोजिम सर्वसाधारण सेयरधनी समूहको सेयर स्वामित्व न्यूनतम ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको हो । एफपीओ जारीपश्चात् लघुवित्तको जारी तथा चुक्ता पुँजी ७९ करोड १७ लाख २२ हजार रुपैयाँ पुग्नेछ । लघुवित्तको एफपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको सेयरमा पुस २४ गतेभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिमा सम्पूर्ण कित्ता बिक्री नभएमा माघ ५ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

अप्पर हेवाखोला हाइड्रोपावरले १५.७८ प्रतिशत लाभांश दिने

काठमाडौं । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सेयरधनीहरूलाई १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सो दरमा लाभांश दिने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । नेपाल विद्युत् प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात लाभांश वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।