काठमाडौं । मकालु वाईन इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारी गरेको छ ।
कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।
आईपीओ निष्काशनका लागि कम्पनीले रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा मकालु वाईन इन्डस्ट्रीज लिमिटेडका अध्यक्ष पिताम्बर पोख्रेल र रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।
वि.सं. २०५२ सालमा संखुवासभाको धर्मदेवी नगरपालिका–३ मा स्थापना भएको कम्पनीले विगत ३१ वर्षदेखि करिब २८०० मिटर उचाइमा रहेको प्राकृतिक मुहानको पानी तथा जंगलमा पाइने चुत्रो र ऐंशेलुबाट अर्गानिक ‘हिंवा वाइन’ उत्पादन गर्दै आएको छ । आधुनिक प्रविधिको प्रयोगमार्फत उच्च गुणस्तरीय वाइन उत्पादन गर्दै आएको कम्पनीसँग करिब २० रोपनी आफ्नै जग्गा रहेको छ ।
कम्पनीमा देवश्री भेन्चर, हारभेस्ट भेन्चर, विर्तामोड सञ्जिवनी इन्भेष्टमेन्ट तथा स्टक आइडियाज इन्भेष्टमेन्टलगायत संस्थागत लगानीकर्ताको पनि लगानी रहेको छ । साथै कम्पनीले निकट भविष्यमा अंगुरबाट उत्पादन हुने तीन प्रकारका प्रिमियम वाइन बजारमा ल्याउने तयारीसमेत गरिरहेको जनाएको छ ।