पुँजी बजारका विज्ञको काँधमा सेबोनको जिम्मेवारी, को हुन् गोपाल भट्ट ?

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ । शुक्रबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले रिक्त अध्यक्ष पदमा भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाएको थियो । समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल, काठमाडौं सदस्य थिए । को हुन् गोपाल भट्ट ? अध्यक्ष भट्टको घर कैलाली हो । उनी सेयर बजार विश्लेषकका रूपमा पनि परिचित छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा विद्यावारिधि गरेका छन् । उनले यसअघि पनि बोर्डको अध्यक्षका लागि आवेदन दिएका थिए ।  उनी यसअघि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकसमेत हुन् । पुँजी बजारमा विद्यावारिधि गरेका भट्टले पिएचडी गरेका डा.भट्ट राष्ट्र बैंकमा कार्यरत रहँदा उनले बैंक सुपरिवेक्षण विभाग, वित्त कम्पनी सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, वित्तीय व्यवस्थापन विभाग, सार्वजनिक ऋण व्यवस्थापन विभाग र मानव संसाधन व्यवस्थापन विभागजस्ता महत्त्वपूर्ण विभागको नेतृत्व सम्हालेका थिए ।  उनले ‘नेपालमा धितोपत्र बजारको प्रभावकारिता’ विषयमा विद्यावारिधि गरेका छन् । अब धितोपत्र बजारको नियामकको ररूपमा रहेको सेबोनको जिम्मेवारी पनि उनकै काँधमा आएको छ ।  उनले अहिले विभिन्न विश्वविद्यालय र कलेजमा लगानी व्यवस्थापन, सुरक्षा विश्लेषण, पोर्टफोलियो व्यवस्थापन, वित्तीय डेरिभेटिभ्स, मर्जर तथा एक्विजिसन र कर्पोरेट पुनर्संरचनाजस्ता विषय अध्यापन समेत गर्दै आइरहेका छन्। 

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्ट नियुक्त

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष भट्ट नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । राष्ट्र बैंकमा करिब ३० वर्ष सेवा गरेपछि उनी अवकाशप्राप्त भएका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट ‘स्टक मार्केट इफिसिएन्सी इन नेपाल’ विषयमा विद्यावारिधि गरेका छन् । उनी पुँजी बजार तथा सेयर बजारका विज्ञका रूपमा परिचित छन् । भट्टसँग शंकरदेव क्याम्पस, नेपाल कमर्स क्याम्पसलगायत आधा दर्जनभन्दा बढी कलेजमा अध्यापन गरेको अनुभव पनि छ । अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्यको संयोजकत्वमा गठित सिफारिस समितिले डा. गोपालप्रसाद भट्ट, बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्य तथा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्रीको नाम सिफारिस गरेको थियो । धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (३) बमोजिम गठित समितिले गत वैशाख १५ गते अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको थियो । निर्धारित समयभित्र आवेदन दिएका ४७ प्रतिस्पर्धीमध्ये भट्ट अध्यक्षमा नियुक्त भएका हुन् । उनी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्टका दाई हुन् । आफ्‌नै भाईले आवेदन गरेपछि गुणाकरले बोर्डको अध्यक्ष सिफारिस समितिको संयोजक पदबाट राजीनामा दिएका थिए ।

११६ कम्पनीको सेयर मूल्य बढ्यो, ४ अर्बको कारोबार

काठमाडौं । शुक्रबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.६३ अंकले बढेर २७०२.११ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार ११६ कम्पनीको सेयर मूल्य बढ्दा १४० कम्पनीको सेयर मूल्य घटेको छ । १७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । शुक्रबार ३५३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार ग्लोबल आइएमई बैंक लिमिटेड डिभेन्चर २०८६/८७ को भएको छ । ग्लोबल आइएमईको ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै सोपन फर्माको २० करोड, आँखु खोलको १९ करोड र युनाइटेड मोदीको १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज एपोलो हाइड्रोको सेयर मूल्य १४.९९ प्रतिशत र सोपन फर्माको सेयर मूल्य १४.०२ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।