होटल तथा रिसोर्टलाई आईपीओ ल्याउन सकस, २ वर्षदेखि सेबोनमै अड्किए फाइल

आईपीओ निष्कासनको पर्खाइमा झण्डै एक दर्जन होटल

काठमाडौं । होटल र पर्यटन व्यवसाय क्षेत्रसँग सम्बन्धित झण्डै एक दर्जन होटल तथा रिर्सोटहरू सेयर निष्कासनका लागि लामो अवधिदेखि नेपाल धितोपत्र बोर्ड (सेबोन) को अनुमति पर्खिरहेका छन् ।

एपेक्स हस्पिटालिटी, अकामा होटल, ठमेल प्लाजा होटल एण्ड स्वीट्स (रामाडा एन्कोर), वर्णवास म्युजिएम होटल, नगरकोट रिर्सोट, होटल सव्रिनालगायत झण्डै एक दर्जन होटल तथा रिर्सोट आइपिओ निष्काशनको लागि २/३ वर्षदेखि पर्खिरहेका हुन् ।

बोर्डले ती होटल तथा रिर्सोटलाई आईपीओ निष्कासनका लागि अनुमति दिनुको साटोमा थप कागजात, पुनः आवेदन तथा कम्प्लाइन्स प्रतिवेदन माग गरेको देखिएको छ ।

एपेक्स हस्पिटालिटीले प्रतिसेयर २२ लाख ५०  हजार कित्ता सेयर निष्कासनको लागि २०८० असार २२ गते आवेदन दिएको थियो । 

कम्पनीले कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न प्रस्ताव गरेको छ । यसको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । बोर्डले २०८२ चैत्रमा पत्रको जवाफ दिँदै कम्पनीसँग थप कागजात तथा कम्प्लायन्स प्रतिवेदन माग गरेको छ ।

अकामा होटलले २०८१ असार २६ गते ४२ लाख ८५ हजार ८०० कित्ता सेयर निष्कासनको बोर्डमा निवेदन दिएको थियो । होटलले ४२ करोड ८५ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासनको लागि सानिमा क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ । बोर्डले २०८२ असारमा कम्पनीलाई इस्यु साइज कुल चुक्ता पुँजीको २० प्रतिशत पुर्याउने सम्बन्धमा थप विवरण उपलब्ध गराउन भन्दै जवाफ दिएको देखिन्छ ।

त्यस्तै, थमेल प्लाजा होटल एन्ड सुइट्सले २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि २०८१ कात्तिक २१ गते आवेदन दिएको थियो । २२ करोड ५० लाख रुपैयाँ बराबरको उक्त आईपीओको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । नियामक बोर्डले २०८२ चैत्र ८ गते कम्पनीको प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा बढी रहेकाले पुनः आवेदन तथा कम्प्लायन्स प्रतिवेदन माग गरिएको देखिन्छ ।

वर्णवास म्युजियम होटलले ३९ लाख ६० हजार कित्ता सेयर निष्कासनका लागि २०८१ मंसिर १९ गते आवेदन दिएको थियो । ३९ करोड ६० लाख रुपैयाँ बराबरको आईपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई बोर्डले इस्यु साइज चुक्ता पुँजीको ३६ प्रतिशत पुर्याउने विषयमा अद्यावधिक विवरण पेश गर्न भनिएको छ ।

त्यसैगरी, नगरकोट रिसोर्टले १५ लाख कित्ता सेयर निष्कासनका लागि २०८२ साउन १५ गते आवेदन दिएको छ । १५ करोड रुपैयाँ बराबरको आईपीओका लागि एनएमबी क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ । कम्पनीले बोर्डको पत्रअनुसार कम्प्लायन्स प्रतिवेदन पेश गरेको छ । होटल सब्रिनाले ४७ लाख ४ हजार कित्ता सेयर निष्कासनका लागि २०८२ भदौ १६ गते आवेदन दिएको छ । 

४७ करोड ४ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनको लागि आवेदन दिएको हो । कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले २०८२ मंसिर ३ गते अद्यावधिक विवरणसहित कम्प्लायन्स प्रतिवेदन बुझाएको छ ।

स्वर्णिम होटल (होलिडे इन एक्सप्रेस)ले ३८ लाख कित्ता सेयर निष्कासनका लागि २०८२ भदौ १६ गते आवेदन दिएको थियो । ३८ करोड रुपैयाँ बराबरको उक्त आईपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीले २०८२ भदौ २८ गते कम्प्लायन्स प्रतिवेदन पेश गरेको छ ।

त्यसैगरी, होटल इच्छाले ३५ लाख कित्ता सेयर निष्कासनको लागि बोर्डमा २०८२ माघ २० गते आवेदन दिएको थियो । ३५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न प्रस्ताव गरेको छ । उक्त होटलले पनि बोर्डको पत्रअनुसार कम्प्लायन्स प्रतिवेदन पेश गरेको छ ।

अतिथि रिसोर्ट एन्ड स्पाले १६ लाख २५ हजार कित्ता सेयर निष्कासनको लागि बोर्डमा २०८२ माघ २० गते आवेदन दिएको थियो । १६ करोड २५ लाख रुपैयाँ उक्त आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

त्यसैगरी, एसियन होटलले ४२ लाख कित्तम सेयर निष्कासनको लागि २०८२ माघ २० गते बोर्डमा अनुमति मागेको थियो । कम्पनीले ४२ करोड रुपैयाँ बराबरको सेयर निष्कासनको लागि बोर्डमा अनुमति मागेको हो । उक्त सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । उक्त कम्पनीले बोर्डको पत्रअनुसार कम्प्लायन्स प्रतिवेदन पेश गरेको छ ।

होटल पार्क ल्यान्डले १५ लाख कित्ता सेयर निष्कासनको लागि २०८२ फागुन ५ गते आवेदन दिएको थियो । १५ करोड रुपैयाँ बराबरको उक्त आईपीओको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ ।

बुढानीलकण्ठ हेरिटेजले ४९ लाख ५० हजार कित्ता सेयर निष्कासनका लागि २०८२ चैत्र १६ गते बोर्डमा आवेदन दिएको थियो । ४९ करोड रुपैयाँ बराबरको उक्त आईपीओको लागि बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

यही वर्ष अर्थात २०८३ वैशाख १ गते डोलेश्वर भिलेज रिसोर्ट एन्ड फार्म हाउसले १६ लाख कित्ता आईपीओ निष्कासनको लागि आवेदन दिएको छ । कम्पनीले १६ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनको लागि बोर्डमा निवेदन दिएको हो । आईपीओ निष्कासनको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।

केटीएम हस्पिटालिटीले पनि २०८३ वैशाख १ गते १५ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासनको लागि बोर्डमा अनुमति मागेको छ । १५ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओको लागि बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ रहेको छ। 

Share News