काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ । शुक्रबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले रिक्त अध्यक्ष पदमा भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाएको थियो । समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल, काठमाडौं सदस्य थिए ।
को हुन् गोपाल भट्ट ?
अध्यक्ष भट्टको घर कैलाली हो । उनी सेयर बजार विश्लेषकका रूपमा पनि परिचित छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा विद्यावारिधि गरेका छन् । उनले यसअघि पनि बोर्डको अध्यक्षका लागि आवेदन दिएका थिए ।
उनी यसअघि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकसमेत हुन् । पुँजी बजारमा विद्यावारिधि गरेका भट्टले पिएचडी गरेका डा.भट्ट राष्ट्र बैंकमा कार्यरत रहँदा उनले बैंक सुपरिवेक्षण विभाग, वित्त कम्पनी सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, वित्तीय व्यवस्थापन विभाग, सार्वजनिक ऋण व्यवस्थापन विभाग र मानव संसाधन व्यवस्थापन विभागजस्ता महत्त्वपूर्ण विभागको नेतृत्व सम्हालेका थिए ।
उनले ‘नेपालमा धितोपत्र बजारको प्रभावकारिता’ विषयमा विद्यावारिधि गरेका छन् । अब धितोपत्र बजारको नियामकको ररूपमा रहेको सेबोनको जिम्मेवारी पनि उनकै काँधमा आएको छ ।
उनले अहिले विभिन्न विश्वविद्यालय र कलेजमा लगानी व्यवस्थापन, सुरक्षा विश्लेषण, पोर्टफोलियो व्यवस्थापन, वित्तीय डेरिभेटिभ्स, मर्जर तथा एक्विजिसन र कर्पोरेट पुनर्संरचनाजस्ता विषय अध्यापन समेत गर्दै आइरहेका छन्।