काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स प्रालिलाई गाभ्ने भएको छ । ओम मेगाश्री फर्मास्युटिकल्सको सञ्चालक समितिको बैठकले रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्ने निर्णय गरेको हो ।
रोयल फर्मास्युटिकल्सलाई गाभ्ने विशेष प्रस्ताव पारित गर्न ओम मेगाश्री फर्मास्युटिकल्सले असार २८ गते चितवनको भरतपुर महानगरपालिका-२९, जुगेडीस्थित कम्पनी उद्योग परिसरमा विशेष साधारण सभा बोलाएको छ ।
सभाले रोयल फर्मास्युटिकल्स प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिको प्रतिवेदन, ड्यु डिलिजेन्स अडिट (डीडीए) प्रतिवेदन, सम्पत्ति तथा दायित्व मूल्याङ्कन, सेयर स्वाप अनुपात तथा प्राप्ति योजना स्वीकृत गर्नेछ ।
यस्तै, प्राप्ति प्रक्रिया सम्पन्न भएपछि रोयल फर्मास्युटिकल्सका सेयरधनीलाई स्वीकृत सेयर स्वाप अनुपातअनुसार ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर जारी तथा बाँडफाँट गर्ने प्रस्ताव पनि सभाबाट पारित गर्नेछ ।
प्राप्ति प्रक्रियाका कारण कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी, सेयर संरचना, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न तथा नियामक निकायबाट प्राप्त हुने निर्देशनअनुसार आवश्यक निर्णय र कार्यान्वयनका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
विशेष साधारण सभा प्रयोजनका लागि असार २२ गते सेयर दाखिला-खारेज (बुक क्लोज) हुने कम्पनीले जनाएको छ । उक्त मितिसम्म कायम सेयरधनीले मात्रै सभामा सहभागी हुन पाउनेछन् ।
ओम मेगाश्री फर्मास्युटिकल्सका अध्यक्ष डा. अर्जनु कुमार श्रेष्ठले नेपाली औषधि उद्योगमा बढ्दो प्रतिस्पर्धा, सानो बजार र एउटै प्रकृतिका औषधि उत्पादन गर्ने कम्पनीको संख्या धेरै भएकाले रोयल फर्मास्युटिकल्सलाई गाभ्ने निर्णय गरिएको बताए ।
उनका अनुसार नेपालमा औषधि उत्पादन गर्ने कम्पनी धेरै भए पनि अधिकांशले एउटै प्रकारका औषधि उत्पादन गरिरहेका छन् । साथै, नेपाल एलडीसी (अल्पविकसित देश) बाट स्तरोन्नति भएपछि औषधि उद्योगले थप प्रतिस्पर्धाको सामना गर्नुपर्ने भएकाले लागत घटाउन, प्रतिस्पर्धात्मक क्षमता बढाउन र नयाँ किसिमका औषधि उत्पादन गर्न मर्जर आवश्यक रहेको उनले बताए ।
उनले मर्जर प्रक्रिया अन्तर्गत ड्यु डिलिजेन्स अडिट (डीडीए) प्रतिवेदन तयार गर्ने काम भइरहेको जानकारी दिँदै विशेष साधारण सभाबाट प्रस्ताव पारित भएपछि प्रक्रिया तीव्र रूपमा अघि बढ्ने बताए । डीडीए प्रतिवेदन आएपछि दुवै कम्पनीबीचको सेयर स्वाप रेसियो निर्धारण गरिने उनको भनाइ छ ।
हाल ओम मेगाश्री फर्मास्युटिकल्सको चुक्ता पुँजी ६० करोड रुपैयाँ र रोयल फर्मास्युटिकल्सको ४१ करोड रुपैयाँ रहेको छ। रोयल फर्मास्युटिकल्सको वर्किङ क्यापिटललाई समेत समायोजन गर्ने विषयमा छलफल भइरहेको र अन्तिम निर्णय डीडीए प्रतिवेदनका आधारमा हुने अध्यक्ष श्रेष्ठले बताए ।