नेप्सेले किन रोक्यो ५२ कम्पनीको सेयर कारोबार ?
काठमाडौं, १ कात्तिक । नेपाल स्टक एक्सचेञ्जले नेप्सेमा सूचीकृत विभिन्न ५२ बैंक तथा वित्तिय संस्थाको शेयर कारोबार रोक्का गरेको छ । नियम अनुसार वार्षिक नविकरण शुल्क आर्थिक वर्षको प्रथम तीन महिना भित्र नबुझाएको भन्दै नेप्सेले यी कम्पनीको शेयर कारोबार रोक्का गरेको हो । उक्त कम्पनीहरुले तोकिएको बार्षिक नविकरण शुल्क बुझाएपछि मात्र शेयर कारोबार पुन सञ्चालनमा आउने नेप्सेले जनाएको छ ।
काष्ठमण्डप डेभलपमेन्ट बैंकले ४ः१ हकप्रद निष्कासन गर्ने, कात्तिक ९ गते बुक क्लोज
काठमाडौं, १ कात्तिक । काष्ठमण्डप डेभलपमेन्ट बैंकले ४ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सोहि प्रयोजनको लागि कात्तिक ९ गते बैंकको सेयर कारोबार बन्द हुने भएको छ । हाल बैंकको चुक्ता पूँजी ६७ करोड ९९ लाख रुपैयाँ रहेको छ । सोमबार बैंकको प्रतिकित्ता सेयर करिब ५ सय रुपैयाँमा कारोबार भएको छ ।
ओम र मनास्लु एक आपसमा गाभिने, पूँजी एक अर्ब ६८ करोड रुपैयाँ पुग्ने
काठमाडौं, १ कात्तिक । ओम डेभलपमेण्ट बैंक र मनास्लु विकास बैंक एक अर्काबीच गाभिने भएका छन् । नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तसम्म २ अर्ब ५० करोड रुपैयाँ पूँजी पुर्याउनु पर्ने नीतिपति यी दुई संस्था एकआपसमा गाभिन लागेका हुन् । मर्जरपछि बन्ने बैंकको नाम ओम डेभलपमेण्ट बैंक रहने छ । अध्यक्षमा ओमका अध्यक्ष सुशीलकुमार गोशली, प्रमुख कार्यकारी अधिकृतमा ओमकै विश्वमोहन अधिकारी तथा नायब प्रमुख कार्यकारी अधिकृतमा ओमकै बुद्धि मल्ल रहने समेत सहमति भएको छ । सहायक महाप्रबन्धकमा भने मनास्लुका निमित्त महाप्रबन्धक दुर्गाराम पुरी रहनेछन् । मर्जरपछि बन्ने बैंकको चुक्ता पूँजी १ अर्ब ३३ करोड, निक्षेप १३ अर्ब ९८ करोड, कर्जा १२ अर्ब ६१ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ । साथै मजैपछि बैंकको ३६ वटा शाखा हुनेछन् । मर्जरपछि बैंकको प्रधान कार्यालय पोखरामा रहनेछ । हालै ओमको सञ्चालक समितिले २९ दशमलव २० प्रतिशत बोनश शेयर र मनास्लुको सञ्चालक समितिले बोनस र करसहित १८ दशमलव ९५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंक र साधारणसभाले दुबै संस्थाको बोनस पारित भएपछि मर्जरपछि बैंकको चुक्ता पूँजी १ अर्ब ६८ करोड रुपैयाँ पुग्नेछ ।