कुमारी बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने, लगातार चारवटा साधारण सभा

काठमाडौं, ५ कात्तिक । कुमारी बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंककको कात्तिक ४ गते बसेको सञ्चालक समिति बैठकले दुई कित्ता बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गर्दै कात्तिक २९ गतेका लागि बिशेष साधारण सभा बोलाएको हो । बैंकले हाल कायम रहेको पुँजी २ अर्ब ६९ करोड ९१ लाख रुपैंयाँको ५० प्रतिशत अर्थात एक अर्ब ३४ करोड ९५ लाख रुपैंयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले तोकेको पुँजीको आधार पुर्याउन कुमारी बैंकले लगातार चारवटा साधारण सभा गर्ने भएको छ । बैंकले गत असार ३१ गते एनसीसी लगायतका बैंकसँग मर्ज गर्नका लागि बिशेष साधारण सभा गरेको थियो । तर सो साधारण सभाले मर्जमा नजाने निर्णय गर्यो । कात्तिक २९ गते आयोजना हुने बिशेष साधारण सभाले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नेछ । त्यस्तै, काष्ठमण्डप डेभलपमेन्ट बैंकसहितका अन्य वित्तिय संस्थासँग मर्जका लागि पनि कुमारी बैंकले अर्काे बिशेष साधारण सभाको आयोजना गर्नैपर्ने हुन्छ । त्यस बाहेक बैंकको बार्षिक प्रतिवेदन पारित गराउनका लागि पनि अर्काे नियमित साधारण सभा आयोजना गर्नेछ ।

हिमालयन बैंकको ६४ लाख हकप्रद सेयर जारी गर्दै, ६४ करोड रुपैयाँको लगानी अवसर

काठमाडौं ५, कात्तिक । हिमालयन बैंकले प्रति साधारण सेयर एक सय रुपैया अंकित दरका ६४ लाख २७ हजार ३५० कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । यो बैंकले यहि कात्तिक २६ गतेदेखि खुला गर्ने हकप्रद सेयर ३० गते बन्द हुने सुचना जारी गरेको छ । बैंकले जारी गरेको यो हकप्रद सेयरमा प्रति साधारण सेयर एक सयका दरले ६४ करोड २७ लाख ३५ हजार रुपैयाँको लगानी अवसर रहेको छ । बैंकले सात सेयर बराबार एक (७ः१)को अनुपातमा हकप्रद सेयर जारी जारी गरेको छ । बैंकको हाल कायम चुत्ता पूँजी चार अर्ब ४९ करोड ९१ लाख ४५ हजार को सात सेयर बराबार एक सेयरको अनुपातमा ६४ लाख २७ हजार ३५० कित्ता हकप्रद जारी गरेको छ । यो बैंकले कात्तिक ९ गतेसम्म नेपाल स्टक एक्चेन्जमा कारोबार भइ कायम साविक शेयरधनीहरुको लागि सेयर निष्कासन गर्न सूचना जारी गरेको पनि उल्लेख छ । यो बैंकको प्रति शेयर बजारमा १६ सय १९ रुपैयाँमा कारोबार भइरहेको छ ।

सोल्टी होटल ५० औं बर्षमा, पोखरा र नेपालगञ्जमा चार तारे होटल बनाउँदै

काठमाडौं, ४ कात्तिक । सोल्टी होटलले पोखरा र नेपालगञ्जमा ४ तारे होटल सञ्चालनमा ल्याउने भएको छ । होटलको ५० औैं बार्षिकोत्सवका अवसरमा आयोजीत पत्रकार सम्मेलनमा सोल्टी होटलका अध्यक्ष प्रभाकर शमसेर राणाले पोखरा र नेपालगञ्जमा चार तारे होटल सञ्चालन गर्न लागेको जानकारी दिएका हुन् । नेपालगञ्जमा आगामी बैशाखबाट सञ्चालन गर्न लागिएको होटलमा ५५ करोड लगानी हुनेछ । ८१ कोठा रहेको होटलले मध्यपश्चिम तथा सुदुरपश्चिमको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष राणाले बताए । त्यस्तै, पोखरामा निर्माण गरिने अर्काे ४ तारे होटलमा ६० करोेड लगानी हुनेछ । रिसोर्टका रुपमा निर्माण गरिने पोखराको होटलका लागि जग्गा खरिद भैसकेको पनि उनले जानकारी दिए ।