४ लाख कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत, लाखौँ कित्ता सेयर नेप्सेमा सूचिकृत

काठमाडौं, १८ असोज । मंगलबार डिप्रोक्स लघुवित्त विकास बैंकको ४ लाख ८८ हजार २३२ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब डिप्रोक्स लघुवित्त विकास बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ । सोही दिन साल्ट ट्रेनिङ्को १ लाख ७ हजार एक सय कित्ता सेयर बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

वेष्ट्रन डेभलपमेन्ट बैंकले १ः१ हकप्रद सेयर निष्कासन गर्ने, कात्तिक २ गते बुक क्लोज

काठमाडौं, १७ असोज । वेष्ट्रन डेभलपमेन्ट बैंकले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सोही प्रयोजनको लागि बैंकले कात्तिक २ गते सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ । उक्त निर्णय आइतबार बसेको बैंकको २२१औँ बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई सेजनले पारित गरिसकेको छ । हाल बैंकको चुक्ता पूँजी १५ करोड ६९ लाख रुपैयाँ रहेको छ । सोमबार बैंकको प्रतिकित्ता सेयर करिब ५७६ रुपैयाँमा कारोबार भइरहेको छ ।

ज्योति विकास बैंकमा ५ सय भाडाका प्रमोटर, अपारदर्शी रुपमा सेयर कारोवार गर्ने तयारी

काठमाडौं, १७ असोज । ज्योति विकास बैंकको प्रमोटर सेयरको कारोवार अपारदर्शी ढंगले गर्ने प्रयास गरिएको छ । केही प्रमोटरले आफ्नो नाममा भएको प्रमोटर सेयर विक्री गर्न लागेको भन्दै बैंकले सार्वजनिक सुचना प्रकाशित गरेपनि पहिला नै तय भएका प्रमोटर वाहेकका ब्यक्तिलाई सो सेयर विक्री गर्ने प्रयोजनको लागि सुचना प्रकाशित गरेको स्रोतले जानकारी दिएको छ । बैंकले सार्वजनिक सुचना प्रकाशित गरेर केही प्रमोटरले प्रमोटर सेयर विक्री गर्न लागेको जानकारी दिएको छ । यस्तो सेयर प्रमोटरलाई नै विक्री गर्ने र प्रमोटरले खरिद नगरेको अवस्थामा सर्वसाधारणलाई विक्री गर्ने गरी सुचना प्रकाशित गरिएको छ । यस्तो सुचना प्रकाशित गरिए पनि बैंक भित्र अर्कै तयारी भएको स्रोतले जानकारी दिएको छ । बैंक स्थापना गर्दा नेपाल विद्युत प्राधिकरणका ५ सय कर्मचारीले ‘ट्याक्स क्लियरेन्स’ को प्रमाणपत्र बुझाउन नसकेपछि भाडाका प्रमोटर राखिएको र अहिले तिनै वास्तविक प्रमोटरलाई सेयर नामसारी गर्ने प्रयोजनले यस्तो सुचना प्रकाशित गरिएको स्रोतले जानकारी दियो । बैंकले प्रकाशित गरेको सार्वजनिक सुचना । ‘बैंक स्थापना हुदा प्राधिकरणका करिब ५ सय कर्मचारीले ‘ट्याक्स क्लियरेन्स’ प्रमाणपत्र दिन नसकेका कारण प्रमोटर बन्न सक्नु भएको थिएन, अहिले उहाँहरुले यस्तो प्रमाण ल्याउनु भएको छ, अब वास्तविक लगानीकर्ताको नाममा सेयर नामसारी गर्ने प्रयोजनको लागि यो सुचना प्रकाशित गरिएको हो,’ बैंकस्रोतले विकासन्युजसँग भन्यो । यो सुचना प्रक्रिया पुर्याउनको लागि मात्र भएको पनि स्रोतको दाबी छ । ज्योति विकास बैंकमा प्राधिकरणका १ हजार ७ सय कर्मचारी प्रमोटर सेयरधनी रहेका छन् । तर ५ सय कर्मचारीले ट्याक्स क्लियरेन्सको प्रमाणपत्र पेश गर्न नसकेपछि यस्तो प्रमाण भएका ब्यक्तिको नाममा सेयर हालेको र सो सेयर पछि प्रक्रिया पूरा गरेर जसले पैसा हालेको हो उसैको नाममा नामसारी गरिदिने आन्तरिक कागज पनि गरिएको स्रोतको भनाइ छ । पहिलाको यही सहमति कार्यान्वयन गर्ने गराउने गरी बैंक संचालक समितिले सुचना प्रकाशित गर्ने निर्णय गरेको हो । अहिलेसम्म करिब १२ जना प्रमोटरले सेयर विक्री गर्ने सुचना बैंकलाई दिइसकेका छन् । बैंक स्रोतका अनुसार करिब १ लाख कित्ता प्रमोटर सेयरको भाडाका प्रमोटर रहेका छन् । यी सवै सेयर पालैपाले नामसारी गरिसक्ने गरी प्रक्रिया अगाडि बढाइएको स्रोतको भनाइ छ ।