सानिमा क्यापिटलले १२० करोडको इकाई निष्कासन गर्न माग्यो बोर्डको अनुमति

काठमाडौं । सानिमा क्यापिटलले सानिमा इक्विटी फण्डको एक अर्ब २० करोड रुपैयाँकोे इकाई निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले गत असार १६ गते नै १२ करोड ईकाई निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीको फण्ड म्यानेजरमा सानिमा क्यापिटल रहेको छ ।

सिभिल बैंक, हामा मर्चेन्ट र यूनिक फाईनान्सबीच एकिकृत कारोबार शुरु

काठमाडौं । सिभिल बैंक लिमिटेडले हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेड र युनिक फाईनान्स लिमिटेडलाई प्राप्त गरी एकीकृत कारोबार शुरु गरेको छ । उक्त एकिकृत कारोबारको उद्घाटन आइतबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपालले गरेका छन् । दुई बैंक प्राप्ती पश्चात सिभिल बैंककोे चुक्ता पूँजी ५ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । साथै, बैंककोे निक्षेप ३४ अर्ब ९७ करोड रुपैयाँ र कुल कर्जा ३१ अर्ब २२ करोड रुपैयाँ रहेको छ । छैठौं वार्षिक साधारणसभाले निर्णय गरे बमोजिम ४० प्रतिशत हकप्रद शेयर निकट भविष्यमा निष्काशन गरी नेपाल राष्ट्र बैंकले तोकेकोे चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने बैंकले जनाएको छ । यस प्राप्तीबाट बैंकको व्यवसाय गर्ने क्षमता वृद्धि भई केहि ठूला परियोजनाहरु लगायत उद्योग व्यवसायमा थप लगानी गर्न सहज हुने बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले बताए ।

सोमबारको सेयर बजार सामान्य अंकले उकालो, ४४ करोडको सेयर कारोबार

काठमाडौं । सोमबारको सेयर बजार सामान्य अंकले उकालो लागेको छ । बजारमा नेप्से परिसूचक २ दशमलब ४७ अंकले बढेर १५४४ दशमलब २९ अंकमा पुगेको छ । सामान्य अंकले बढेको बजारमा ४४ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोे दिन १४५ कम्पनीको ८ लाख ३८ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०२५ रुपैयाँ रहेको छ । त्यस्तै, फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको करिब १० प्रतिशतले सेयर मूल्य बढेको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०९१ रुपैयाँ रहेको छ । सोमबार विकास बैंक र बैंकिङ समूहको परिसूचक क्रमशः ६.६८ र ६.११ अंकले बढेको छ । सो दिन होटल समूहको परिसूचक ३७ दशमलब १ अंकले घटेको छ ।