होटेल फरेष्ट इनले माघ २२ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । होटेल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बिक्री गरेपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख सेयर विदेशमा रोजगार गरिरहेका नेपाली, २ लाख कित्ता सामूहिक लगानी कोष र ८० हजार कित्ता कर्मचारीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा बाँकी रहेको ३३ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गर्नेछ ।  कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । 

टेरामक्स प्रकरण : उपकरणको प्राविधिक परीक्षण गर्न अदालतको आदेश, यस्तो छ पूर्णपाठ

काठमाडाैं । विशेष अदालतले टेरामक्स प्रविधि खरिदमा भएको भ्रष्टाचार मुद्दामा उपकरणहरूको प्राविधिक परीक्षण गर्न आदेश दिएको छ । पूर्वमन्त्री मोहनबहादुर बस्नेतसमेत प्रतिवादी रहेको उक्त मुद्दामा सुनुवाइ गर्दै विशेष अदालतले यस्तो आदेश दिएको हो ।  विशेष अदालत न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।  अदालतले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स प्रणाली र सामग्रीहरू सम्झौता बमोजिम भए/नभएको र त्यसको गुणस्तर जाँच गर्न एक उच्चस्तरीय विज्ञ टोली गठन गरेको छ । जसमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका वरिष्ठ इन्जिनियर (संयोजक), पुल्चोक क्याम्पसकै टेलिकम्युनिकेसन एण्ड इलेक्ट्रोनिक्स विषयका विज्ञ प्राध्यापक सीआईबीका विषय विज्ञ, अख्तियारका टेलिकम्युनिकेसन विज्ञ केशव ज्ञवाली र आपूर्तिकर्ता कम्पनीका प्रतिनिधि छन् । टेरामक्स खरिदका लागि १ अर्ब ११ करोड ६२ लाख ५२ हजार १४३ रूपैयाँ भुक्तानी भई आपूर्तिकर्ताले सामानहरू जडान भइसकेको दाबी गरे पनि ती सामग्रीहरू सम्झौता र मापदण्ड बमोजिम भए/नभएको यकिनका लागि प्राविधिक परीक्षण गर्नुपर्ने अदालतको ठहर छ ।  

न्युयोर्कमा आयोजित ट्राभल शो २०२६ मा नेपालको सहभागिता

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले संयुक्त राज्य अमेरिकामा नेपालको पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित न्युयोर्कमा आयोजित ट्राभल एन्ड एडभेन्चर शो २०२६ मा सहभागिता जनाएको छ । उक्त अन्तर्राष्ट्रिय पर्यटन मेला २४–२५ जनवरी २०२६ मा न्युयोर्कस्थित जेकब के. जाभिट्स कन्भेन्सन सेन्टर मा सम्पन्न भएको हो । अमेरिका नेपालका लागि महत्वपूर्ण पर्यटन स्रोत बजारमध्ये एक रहँदै आएको छ । सन् २०२५ मा १ लाख १२ हजार ३१६ अमेरिकी पर्यटक नेपाल आगमन गरेसँगै अमेरिका हाल नेपालको दोस्रो ठूलो पर्यटक स्रोत बजार का रूपमा रहेको छ । यही पृष्ठभूमिमा उत्तर अमेरिकी बजार लक्षित निरन्तर प्रवर्द्धन अभियानअन्तर्गत नेपाल पर्यटन बोर्डले नेपाल पर्वतारोहण एजेन्सी संघ (टान) सँगको सहकार्यमा उक्त मेलामा सहभागिता जनाएको हो । कार्यक्रममा एसियन हेरिटेज ट्रेक्स एन्ड ट्राभल्स, एक्सप्लोर भ्याकेसन, फ्रेन्ड्स एडभेन्चर टिम ट्रेकिङ एन्ड माउन्टेनियरिङ, हिमालयन ग्लेसियर एडभेन्चर एन्ड ट्राभल कम्पनी, नेपाल भिजन ट्रेक्स एन्ड एक्सपेडिसन्स तथा टच कैलाश ट्राभल्स एन्ड टुर्स गरी छ वटा नेपाली पर्यटन कम्पनीहरूले सहभागिता जनाएका थिए । ती कम्पनीहरूले नेपालको साहसिक पर्यटन, पर्वतारोहण, ट्रेकिङ तथा विविध पर्यटन आकर्षणबारे जानकारी प्रस्तुत गरेका थिए । दुई दिने कार्यक्रममा सहभागी अमेरिकी पर्यटन व्यवसायी तथा यात्रुहरूले नेपालको साहसिक पर्यटन उत्पादनप्रति विशेष चासो देखाएका थिए । विशेषगरी पर्वतारोहण र ट्रेकिङ गतिविधिप्रति देखिएको उत्साहले नेपाललाई साहसिक पर्यटन गन्तव्यका रूपमा थप प्रवर्द्धन गर्न सहयोग पुगेको नेपाल पर्यटन बोर्डको विश्वास छ । यस सहभागिताले अमेरिकी पर्यटन व्यवसायीसँग सहकार्य विस्तार गर्नुका साथै ‘डेस्टिनेसन नेपाल’ को पहिचानलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ । कार्यक्रमको पहिलो दिन २४ जनवरी मा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत दधीराम भण्डारी ले नेपालको प्याभिलियन अवलोकन गर्दै सहभागी कम्पनीहरूसँग अन्तरक्रिया गरेका थिए । सो अवसरमा विशेषगरी अमेरिकाको पूर्वी तटीय राज्यहरूमा नेपाल प्रवर्द्धनका सम्भावित सहकार्य क्षेत्रहरूबारे छलफल भएको थियो । नेपाल पर्यटन बोर्डका तर्फबाट उदय भट्टराई र प्रदीप बस्नेतले कार्यक्रममा प्रतिनिधित्व गरेका थिए ।