खाँडादेवीको श्रीकृष्ण माविका १८२ विद्यार्थीलाई विद्यालय पोशाक वितरण

काठमाडौं । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका-७ स्थित श्रीकृष्ण माध्यमिक विद्यालयका १८२ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । कान्छीमाया तामाङ फाउण्डेशनको सहयोगमा बिहीबार आयोजित एक विशेष कार्यक्रमका बीच विद्यार्थीहरूलाई पोशाक हस्तान्तरण गरिएको हो ।

फाउण्डेशनका अध्यक्ष डा. दिलबहादुर थोकरले विद्यालय परिसरमै आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरे । आर्थिक रूपमा विपन्न तथा ग्रामीण क्षेत्रका विद्यार्थीहरूको शैक्षिक यात्रालाई सहज बनाउने उद्देश्यले पोशाक वितरण गरिएको फाउण्डेशनले जनाएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिलिपकुमार श्रेष्ठले फाउण्डेशनले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीहरूको मनोबल बढाउनुका साथै अध्ययनप्रति थप उत्साह जगाएको बताए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीहरूको आवश्यकतामा विभिन्न संघसंस्थाको सहयोग महत्वपूर्ण हुने उनको भनाइ छ ।

वि.सं. २०३५ सालमा स्थापना भएको श्रीकृष्ण माध्यमिक विद्यालय खाँडादेवी क्षेत्रको महत्वपूर्ण शैक्षिक संस्था मानिन्छ, जसले हालसम्म विभिन्न क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । गत वर्षको एसईई परीक्षा २०८२ मा विद्यालयबाट १९ जना विद्यार्थी सहभागी भएकामध्ये १८ जना उत्तीर्ण हुन सफल भएका छन्, जुन विद्यालयका लागि उत्साहजनक उपलब्धि मानिएको छ ।

नयाँ पोशाक प्राप्त गरेपछि विद्यार्थीहरू निकै खुसी देखिएका थिए । नयाँ पोशाकले विद्यालयप्रतिको अपनत्व र अध्ययनप्रतिको उत्साह थप बढाएको उनीहरूले बताएका छन् । कार्यक्रममा बोल्दै फाउण्डेशनका अध्यक्ष डा. थोकरले शिक्षा क्षेत्रमा सहयोग गर्नु संस्थाको प्राथमिकतामध्ये एक रहेको बताए । उनले आगामी दिनमा पनि विद्यार्थी, विद्यालय तथा समुदायको हितका लागि यस्ता सामाजिक तथा शैक्षिक सहयोगका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।

Share News