नेपाल बैंक र मेधर्म क्लिनिक्सबीच सम्झौता, ग्राहकलाई उपचारमा १५ प्रतिशत छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र मेधर्म क्लिनिक्स् प्रालिबीच स्वास्थ्य सेवा सहुलियत सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता जेठ १३ गते सम्पन्न भएको हो । सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक तथा बैंकमा कार्यरत कर्मचारीहरूले काठमाडौ‌ंको दरबारमार्गस्थित मेधर्म क्लिनिक्स् प्रालिमा उपचार गर्दा विभिन्न सेवामा लाग्ने शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् । सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र मेधर्म क्लिनिक्स् प्रालिका प्रमुख कार्यकारी अधिकृत डा. अनुप सुवेदीले हस्ताक्षर गरेका छन् । यस सहकार्यबाट नेपाल बैंकका ग्राहक तथा कर्मचारीहरूले सहुलियतपूर्ण स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास गरिएको छ । हाल नेपाल बैंक लिमिटेडले देशभर २३१ शाखा, २४६ एटीएम तथा ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले आधुनिक प्रविधि र सुधारिएको सेवा प्रणालीमार्फत प्रतिस्पर्धात्मक रूपमा बैंकिङ सेवा विस्तार गर्दै आएको जनाएको छ । 

अमेरिकी डलरसहित डा. पप्पुकुमार यादव पक्राउ

चितवन । गैरकानुनी तवरले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को सञ्चय तथा कारोबार एवं डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा प्रहरीले २९ वर्षका डा. पप्पुकुमार यादवलाई ३० हजार अमेरिकी डलर र १७ थान मोबाइलसहित पक्राउ गरेको छ ।      जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार डा. यादव भरतपुर महानगरपालिका–१० चित्रसेन टोलको एकघरको कोठा भाडामा लिएर बस्दै आएका छन् । धनुषाको हंशपुर नगरपालिका–४ का स्थायी बसोबासी डा. यादवका बारेमा अनुसन्धान गर्दा उनी अवैध क्रिप्टोकरेन्सीको नेटवर्क चलाउँदै आएको बुझिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा निजको मोबाइल तथा अन्य विद्युतीय उपकरणका माध्यमबाट वाइनान्स र बाइविटजस्ता प्रतिबन्धित एप्लिकेसन प्रयोग गरी अभौतिक मुद्राको अवैध सञ्चय तथा कारोबार गरिरहेको फेलापरेको छ । भरतपुरको एक अस्पतालमा कार्यरत डाक्टर यादवले हालसम्म के–कति व्यक्तिबाट कति ठगी गरे भन्नेबारेमा स्रोत खुल्दै गएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुषण यादवले जानकारी दिए ।   

होटल पौवाको १९औं शाखा जनकपुरधाममा

जनकपुरधाम । होटल पौवाले १९औं शाखा जनकपुरधाममा सञ्चालनमा ल्याएको छ । मिथिला सभ्यता, संस्कृति तथा धार्मिक आस्थाको केन्द्र जनकपुरधाममा स्थापित यस होटलको औपचारिक उद्घाटन यही जेठ २२ गते हुँदैछ । उद्घाटनको अवसरमा होटल पौवाले तीनदिने ‘वृहत् खाना प्रवद्र्धन’ आयोजना गर्दैछ ।  चुनौतीपूर्ण आर्थिक तथा लगानी वातावरणका बीच पनि होटल पौवाले देशव्यापी रूपमा आफ्नो सेवा विस्तार गरिरहेको छ । रुपन्देहीबाट सुरु भएको यात्रा जनकपुरधामसम्म आइपुग्दा पौवा नेपाली आतिथ्य उद्योगको स्थापित राष्ट्रिय ब्राण्डका रूपमा विकास भएको अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । ‘देशभर प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गर्दै आएको होटल पौवा नेपालकै सफल सामूहिक लगानी मोडल हो, जहाँ लगानीकर्ता र कर्मचारी दुवै संस्थाको विकास यात्राका साझेदार बनेका छन् । कर्मचारीहरुलाई लगानीकर्ता बन्ने अवसर प्रदान गर्दै हामीले ‘साझा स्वामित्व, साझा सफलता’को अवधारणालाई व्यवहारमा उतारेका छौं ।’ अध्यक्ष भण्डारीले बताए ।  कार्यक्रममा पौवाका विभिन्न सञ्जालमा कार्यरत अनुभवी सेफहरूले तयार गरेका विविध नेपाली तथा अन्तर्राष्ट्रिय परिकारहरूको विशेष प्रदर्शनी हुने उपाध्यक्ष ध्रुवराज न्यौपानेले बताए । उनले भने ‘जनकपुरमा पौवाको चारतारे विस्तार यात्रा अर्को महत्वपूर्ण उपलब्धि हो । जनकपुरधाम धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक दृष्टिले नेपालको एक पवित्र प्रमुख गन्तव्य हो । नेपाल–भारत धार्मिक सम्बन्ध र आस्थाको केन्द्रका रूपमा रहेको यस शहरमा होटल पौवाको उपस्थितिले धार्मिक, आध्यात्मिक एवं आन्तरिक पर्यटन, रोजगार र समग्र आतिथ्य उद्योगको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं ।’  नेपाली स्वाद, नेपाली संस्कार र नेपाली आतिथ्यतालाई विश्वस्तरमा स्थापित गर्ने दीर्घकालीन लक्ष्यसहित आगामी दशकमा ‘मिसन १००’ अन्तर्गत देश तथा विदेशमा आफ्नो उपस्थिति विस्तार गर्ने रणनीतिमा अघि बढिरहेको प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए ।  ‘तिब्र विकासको लक्ष्य प्राप्तिका लागि सामुहिक लगानी मोडालिटी तयारी गरेका छौं । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने प्रतिबद्धतासहित पौवा नेपाली आतिथ्य सेवालाई नयाँ उचाइमा पु¥याउने यात्रामा निरन्तर अग्रसर रहनेछ’, उनले भने ।  होटलमा ६२ वटा रुम रहेका छन् । चारतारेस्तरमा हुनुपर्ने सबै सुविधा ९स्विमिङ पुल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार हलहरु, रेस्टुरेन्ट, जीम, साउना स्टिम र स्पा सुविधासहितको पूर्वाधार रहेका छन् ।