काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियन ईस्टू काठमाडौं जिल्ला समन्वय समितिको छैटौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी कार्यकालका लागि ९ सदस्यीय नयाँ जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
नवनिर्वाचित समितिको अध्यक्षमा कृष्णप्रसाद गौतम चयन भएका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रामनरेश राय, उपाध्यक्षमा नेत्रमणि रेग्मी, महिला उपाध्यक्षमा स्वर्णलता गुरुङ, सचिवमा सरोज श्रेष्ठ तथा कोषाध्यक्षमा सुजना अर्याल कोइराला निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष गौतमले जानकारी दिए । अध्यक्ष गौतमका अनुसार समितिका सदस्यहरूमा किशोरमणि आचार्य, लक्ष्मी देउला र लक्ष्मी घिमिरे क्षेत्री चयन भएका छन् ।
रेनु श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमा ईस्टू राष्ट्रिय समितिका अध्यक्ष होमकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी रहेको गौतमले जानकारी दिए । गौतमका अनुसार कार्यक्रममा ईस्टूका प्रमुख संरक्षक मुकुन्द गौतम विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए ।
अधिवेशनमा संस्थागत विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीका हकहित, पेशागत सुरक्षा, संगठन विस्तार तथा आगामी कार्ययोजनाबारे समेत छलफल भएको अध्यक्ष गौतमले बताए । नवगठित समितिले शिक्षकहरूको पेशागत अधिकार संरक्षण, संगठन सुदृढीकरण तथा शैक्षिक क्षेत्रका साझा मुद्दामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष गौतमले जानकारी दिए ।