भायानेटको नयाँ अफर : २५० एमबिपिएस वाईफाई-६ इन्टरनेट, जडान शुल्क निःशुल्क
काठमाडौं । भायानेट कम्युनिकेसन्सले ग्राहकहरूका लागि वाईफाई–६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज आकर्षक अफरसहित सार्वजनिक गरेको छ । कम्पनीका अनुसार उक्त प्याकेज वार्षिक १३ हजार ८०० रुपैयाँ (करसहित) मा उपलब्ध छ । यस अफरअन्तर्गत सामान्यतया २ हजार ८२५ रुपैयाँ लाग्ने वाईफाई–६ ओएनयू जडान शुल्क नलाग्नेछ भने ग्राहकले केवल १ हजार रुपैयाँ डिपोजिट तिरे पुग्नेछ । छिटो, भरपर्दो र आधुनिक इन्टरनेट सेवा चाहने ग्राहकलाई लक्षित गरी यो योजना ल्याइएको कम्पनीले जनाएको छ । यससँगै ग्राहकहरूले भायाटिभी सेवा पनि मासिक २५० रुपैयाँ (करसहित) मा थप गर्न सक्नेछन् । भायाटिभीमा २०० भन्दा बढी च्यानल, लाइभ टिभी रोक्ने र पुनः चलाउने सुविधा, कार्यक्रम तालिका, चलचित्र तथा सिरिजलगायतका मनोरञ्जन सामग्री उपलब्ध छन् । वार्षिक प्याकेज लिने ग्राहकलाई पहिलो सेट–टप–बक्सको २ हजार २६० रुपैयाँ बराबरको सक्रिय शुल्क पनि छुट दिइनेछ भने सेट–टप–बक्सका लागि १ हजार रुपैयाँ मात्र डिपोजिट लाग्नेछ । ग्राहकलाई थप सुविधा दिन भायानेटले डामी एपसँग सहकार्य गरेको छ । यसअन्तर्गत वार्षिक प्याकेज नवीकरण गर्ने ग्राहकले १ हजार ५०० रुपैयाँ बराबरको एक वर्षे डामी एप सदस्यता निःशुल्क प्राप्त गर्नेछन् । डामी एपमार्फत रेस्टुरेन्ट, कपडा पसल, सैलुन तथा खुद्रा पसलहरूमा विशेष छुट पाउन सकिनेछ । यो सुविधा हाल काठमाडौं, पोखरा र चितवनमा लागू हुनेछ । कम्पनीले उच्च गतिको इन्टरनेट, भायाटिभीको मनोरञ्जन र डामी एपको बचत सुविधालाई एकै ठाउँमा समेट्दै 'अब स्टेडियम घरमै, मनोरञ्जन अब घरमै' भन्ने सन्देश दिएको छ । यसैबीच, भायाटिभी प्रयोगकर्ताले फुटबल विश्वकप २०२६ हेर्न आवश्यक कुपन पनि भायानेटमार्फत खरिद गर्न सक्नेछन् । नेपालमा उक्त प्रतियोगिताको प्रसारण अधिकार हिमालय टिभीसँग रहेको छ । कम्पनीका अनुसार ग्राहकले प्रतिटिभी ९९९ रुपैयाँ तिरेर कुपन खरिद गरी भायाटिभीमार्फत हिमालय स्पोर्ट्स च्यानलमा खेलहरू प्रत्यक्ष हेर्न सक्नेछन् । कुपन ईसेवा, खल्ती, फोनपे, कनेक्ट आइपिएसलगायत अनलाइन भुक्तानी माध्यममार्फत ‘भायानेट’ खोजी ग्राहक आईडी राखेर खरिद गर्न सकिनेछ । साथै, भायाटिभीमा देखिने क्युआर कोड स्क्यान गरेर पनि कुपन लिन सकिने व्यवस्था गरिएको छ । भुक्तानीपछि ग्राहकले भायाटिभीमा हिमालय स्पोर्ट्स च्यानल खोली खरिद गरिएको कुपन सक्रिय गर्नुपर्नेछ । कम्पनीले एक कुपन एक टिभीमा मात्र प्रयोग गर्न मिल्ने र एकपटक सक्रिय गरिसकेपछि अर्को टिभीमा सार्न नमिल्ने जनाएको छ । थप जानकारीका लागि ग्राहकले भायानेटको ग्राहक सेवा नम्बर ०१–५९७०६४४ मा सम्पर्क गर्न वा नजिकको कार्यालयमा जान सक्नेछन् ।
मनसुनजन्य स्वास्थ्य जोखिम सामना गर्न देशभर ‘र्यापिड रेस्पोन्स टिम’ तयारी अवस्थामा
काठमाडौं । मनसुन शुरु हुन तीन हप्ता मात्रै बाँकी रहँदा मौसमजन्य स्वास्थ्य समस्या हुन नदिन स्वास्थ्य मन्त्रालयले देशभरका सबै स्थानीय तहहरूमा तालिमप्राप्त चिकित्सक र स्वास्थ्यकर्मीसहितको द्रुत प्रतिकार्य टोली तयारी अवस्थामा राखेको जनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले यस्तो जानकारी दिएका हुन् । उनकाअनुसार मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका निकायहरूसँग समन्वय गरी मनसुनजन्य विपद् तथा त्यसबाट उत्पन्न हुनसक्ने स्वास्थ्य समस्याको सामना गर्न विशेष कार्ययोजना बनाएको छ । उक्त कार्ययोजना कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको उनको भनाइ छ । बढ्दो तापक्रम, आर्द्रता र निरन्तर वर्षाका कारण विभिन्न प्रकारका संक्रामक रोग फैलिने सम्भावना उच्च रहने उल्लेख गर्दै त्यसको प्रतिकार्यका लागि सरकार तयारी अवस्थामा रहेको बताए । मनसुनको समयमा खानेपानीका स्रोतहरू दुषित हुनसक्ने, बाढी तथा डुबानका कारण फोहोर पानी खानेपानीका मुहानमा मिसिन सक्ने तथा सरसफाई व्यवस्थापन प्रभावित हुनसक्ने भएकाले स्वास्थ्य चुनौती थप जटिल बन्नसक्ने बताए । यी जोखिमलाई मध्यनजर गर्दै सरोकारवाला निकायहरूसँग सहकार्य गरी राष्ट्रिय स्तरमा मनसुन पूर्वतयारी कार्ययोजना लागू गरिसकिएको जानकारी दिए । मनसुनजन्य स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै आवश्यक औषधि, स्वास्थ्य सामग्री तथा अन्य आपतकालीन उपकरणको व्यवस्थापनलाई मन्त्रालयले विशेष प्राथमिकतामा राखेको बताए । सरकारले मनसुनको समयमा रोग नियन्त्रण र रोकथामका लागि जनचेतना अभिवृद्धि अभियानलाई पनि प्राथमिकता दिएको जानकारी दिए । व्यक्तिगत सरसफाई, परिवार तथा समुदायको स्वच्छता, खाद्यान्नको सुरक्षित भण्डारण, स्वच्छ खानेपानीको प्रयोग र वातावरणीय सरसफाइका विषयमा नागरिकलाई सचेत गराउन स्थानीय तहसँगको समन्वयमा कार्यक्रमहरु सञ्चालन भइरहेको समेत अधिकारीको भनाइ छ । उनले भने, ‘हामी मनसुन सक्रिय हुने अवस्थामा छौँ । पानी परिरहेको छ । तापक्रम समेत बढ्दै गएकोे अवस्था छ । आद्रता आउँदै गर्दा हाम्रा खानाहर समेत बिग्रिएर खाद्य बिषाक्तता हेन खालका जोखिमहर छन् । हामीले समग्रतामा जनस्वास्थ्यका हिसावले हेर्ने हो भने पानीको संक्रमणको कारण हुने समस्याहरु, किटजन्य संक्रमणको समस्याहरु, तापक्रमका कारणले हुने समस्याहरु आउनसक्ने भएको कारण स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् व्यवस्थापनसँग काम गर्ने सम्बन्धीत अरु निकायहरुसँग समन्वय गरेर राष्ट्रिय रुपमै मनसुनको पूर्वतयारी कार्ययोजना बनाएको छ । सहायक प्रवक्ता अधिकारीले नागरिकलाई उमालेर वा शुद्धीकरण गरिएको पानी मात्र पिउन, बासी तथा असुरक्षित खाना नखान, फलफूल तथा तरकारी राम्ररी सफा गरेर मात्र सेवन गर्न तथा कुनैपनि स्वास्थ्य समस्या देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरे ।
पोखरामा रगत अभाव, रक्तदान गर्न आह्वान
कास्की । पोखरामा रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गत प्रादेशिक रक्तसञ्चार सेवा पोखराले ‘एबी पोजेटिभ’ समूहको रगत मौज्दात कम हुँदै गएकाले माग धान्न नसक्ने अवस्था आउन लागेको जनाएको छ । रक्तसञ्चार सेवा प्रमुख अर्जुन ज्ञवालीले जेठ १९ गतेदेखि २३ गतेसम्म कुनै पनि नियमित रक्तदान कार्यक्रम तय नभएकाले यस बीचमा रगत अभाव हुनसक्ने अवस्था आएकाले आकस्मिक रक्तदानका लागि सबैमा आह्वान गरिएको बताए । 'रक्त अभाव हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै विभिन्न सङ्घसंस्था, क्लब, आमा समूह, सहकारी संस्था तथा सामाजिक समूहहरूलाई आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरेका छौँ । सानो प्रयासले कसैको जीवन बचाउन सक्छ भन्ने भावना राखेर रक्तदान गरिदिनुहोला । यहाँ रगतको माग बढी हुने भएकाले नियमितजस्तो कार्यक्रम हुनुपर्दछ', उनले भने । पोखरा प्रदेश राजधानीसमेत भएकाले यहाँ अन्य जिल्लाबाट समेत बिरामीहरू रिफर भएर आउने गरेकाले यहाँ रगतको माग उच्च हुने गरेको छ । प्रादेशिक रक्तसञ्चार सेवाका अनुसार पोखरामा दैनिक ७० देखि ८० युनिट रगत आवश्यक पर्ने गरेको छ ।