काठमाडौं । बझाङका विपन्न, गरिब तथा असहाय बिरामीहरूले अब काठमाडौं मेडिकल कलेज (केएमसी) मा निःशुल्क तथा सहुलियतपूर्ण उपचार सेवा पाउने भएका छन् । नेपाली कांग्रेसका युवा नेता अभिषेक बहादुर सिंहको विशेष पहलमा दुर्गम जिल्लाका आर्थिक रूपमा कमजोर नागरिकलाई लक्षित गर्दै यस्तो व्यवस्था गरिएको हो ।
काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा र युवा नेता सिंहबीच उपचार गर्ने र गराउने सहमति भएको हो । सहमतिअनुसार बझाङका आर्थिक रूपमा विपन्न तथा उपचारका लागि सहयोग आवश्यक पर्ने बिरामीहरूलाई केएमसीमा उपचार सेवा उपलब्ध गराउन आवश्यक सहजीकरण गरिनेछ । यसबाट बझाङका सयौं बिरामी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।
नेपालका दुर्गम जिल्लामध्ये एक बझाङमा स्वास्थ्य सेवा अझै पनि चुनौतीपूर्ण अवस्थामा रहेको छ । जिल्लाका अधिकांश गाउँबस्तीबाट विशेषज्ञ चिकित्सकको सेवा प्राप्त गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता छ । सामान्यदेखि जटिल रोगको उपचारका लागि धनगढी, नेपालगञ्ज वा काठमाडौं पुग्नुपर्ने अवस्था रहेको छ। उपचारका लागि लामो यात्रा गर्नुपर्ने, बसोबासको व्यवस्था मिलाउनुपर्ने तथा अस्पताल खर्च व्यहोर्नुपर्ने कारण धेरै नागरिक समयमै उपचार गराउनबाट वञ्चित हुने गरेका छन् ।
यही समस्यालाई मध्यनजर गर्दै सिंहले केएमसी व्यवस्थापनसँग पहल गरेपछि बझाङका विपन्न बिरामीका लागि निःशुल्क तथा सहुलियतपूर्ण उपचारको व्यवस्था मिलाइएको हो । सहमतिअनुसार आवश्यक सिफारिस र पहिचानका आधारमा आर्थिक रूपमा कमजोर बिरामीलाई उपचार, परीक्षण, विशेषज्ञ चिकित्सकको परामर्श तथा अन्य स्वास्थ्य सेवामा विशेष सुविधा उपलब्ध गराइने जनाइएको छ ।
काठमाडौं मेडिकल कलेजले विगतदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न जिल्लाका विपन्न तथा असहाय बिरामीलाई उपचारमा सहुलियत प्रदान गर्दै आएको छ । अस्पतालका सञ्चालक शर्माले दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा ल्याउन संस्थाले निरन्तर काम गरिरहेको बताउँदै बझाङका बिरामीलाई समेत आवश्यक सहयोग उपलब्ध गराइने बताएका छन् ।

युवा नेता अभिषेक बहादुर सिंहले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएकाले आर्थिक अभावका कारण कोही पनि उपचारबाट वञ्चित हुन नहुने धारणा व्यक्त गरेका छन् । उनले बझाङका नागरिकले उपचारका क्रममा भोग्ने समस्या आफूले नजिकबाट देखेकाले समाधानका लागि पहल गरेको बताए ।
उनले भने, ‘बझाङका धेरै बिरामी उपचार खर्च अभावका कारण समयमै अस्पताल पुग्न सकिरहेका छैनन् । कतिपयले ऋण गरेर उपचार गराउनुपर्ने अवस्था छ भने कतिपय उपचार नै नगराई बस्न बाध्य छन् । यस्ता नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले केएमसीसँग सहकार्यको वातावरण बनाइएको हो ।’
यस पहलबाट मुटु, मिर्गौला, क्यान्सर, स्नायु रोग, श्वासप्रश्वाससम्बन्धी समस्या तथा अन्य जटिल रोगबाट पीडित विपन्न बिरामीहरूले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास गरिएको छ । विशेषगरी आर्थिक अवस्था कमजोर भएका परिवारका बिरामीका लागि यो कार्यक्रम महत्वपूर्ण सावित हुने अपेक्षा गरिएको छ ।