काठमाडौं । मनसुन शुरु हुन तीन हप्ता मात्रै बाँकी रहँदा मौसमजन्य स्वास्थ्य समस्या हुन नदिन स्वास्थ्य मन्त्रालयले देशभरका सबै स्थानीय तहहरूमा तालिमप्राप्त चिकित्सक र स्वास्थ्यकर्मीसहितको द्रुत प्रतिकार्य टोली तयारी अवस्थामा राखेको जनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले यस्तो जानकारी दिएका हुन् ।
उनकाअनुसार मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका निकायहरूसँग समन्वय गरी मनसुनजन्य विपद् तथा त्यसबाट उत्पन्न हुनसक्ने स्वास्थ्य समस्याको सामना गर्न विशेष कार्ययोजना बनाएको छ । उक्त कार्ययोजना कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको उनको भनाइ छ । बढ्दो तापक्रम, आर्द्रता र निरन्तर वर्षाका कारण विभिन्न प्रकारका संक्रामक रोग फैलिने सम्भावना उच्च रहने उल्लेख गर्दै त्यसको प्रतिकार्यका लागि सरकार तयारी अवस्थामा रहेको बताए ।
मनसुनको समयमा खानेपानीका स्रोतहरू दुषित हुनसक्ने, बाढी तथा डुबानका कारण फोहोर पानी खानेपानीका मुहानमा मिसिन सक्ने तथा सरसफाई व्यवस्थापन प्रभावित हुनसक्ने भएकाले स्वास्थ्य चुनौती थप जटिल बन्नसक्ने बताए । यी जोखिमलाई मध्यनजर गर्दै सरोकारवाला निकायहरूसँग सहकार्य गरी राष्ट्रिय स्तरमा मनसुन पूर्वतयारी कार्ययोजना लागू गरिसकिएको जानकारी दिए ।
मनसुनजन्य स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै आवश्यक औषधि, स्वास्थ्य सामग्री तथा अन्य आपतकालीन उपकरणको व्यवस्थापनलाई मन्त्रालयले विशेष प्राथमिकतामा राखेको बताए । सरकारले मनसुनको समयमा रोग नियन्त्रण र रोकथामका लागि जनचेतना अभिवृद्धि अभियानलाई पनि प्राथमिकता दिएको जानकारी दिए ।
व्यक्तिगत सरसफाई, परिवार तथा समुदायको स्वच्छता, खाद्यान्नको सुरक्षित भण्डारण, स्वच्छ खानेपानीको प्रयोग र वातावरणीय सरसफाइका विषयमा नागरिकलाई सचेत गराउन स्थानीय तहसँगको समन्वयमा कार्यक्रमहरु सञ्चालन भइरहेको समेत अधिकारीको भनाइ छ ।
उनले भने, ‘हामी मनसुन सक्रिय हुने अवस्थामा छौँ । पानी परिरहेको छ । तापक्रम समेत बढ्दै गएकोे अवस्था छ । आद्रता आउँदै गर्दा हाम्रा खानाहर समेत बिग्रिएर खाद्य बिषाक्तता हेन खालका जोखिमहर छन् । हामीले समग्रतामा जनस्वास्थ्यका हिसावले हेर्ने हो भने पानीको संक्रमणको कारण हुने समस्याहरु, किटजन्य संक्रमणको समस्याहरु, तापक्रमका कारणले हुने समस्याहरु आउनसक्ने भएको कारण स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् व्यवस्थापनसँग काम गर्ने सम्बन्धीत अरु निकायहरुसँग समन्वय गरेर राष्ट्रिय रुपमै मनसुनको पूर्वतयारी कार्ययोजना बनाएको छ ।
सहायक प्रवक्ता अधिकारीले नागरिकलाई उमालेर वा शुद्धीकरण गरिएको पानी मात्र पिउन, बासी तथा असुरक्षित खाना नखान, फलफूल तथा तरकारी राम्ररी सफा गरेर मात्र सेवन गर्न तथा कुनैपनि स्वास्थ्य समस्या देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरे ।