अमेरिकी मनोरञ्जन कम्पनी डिज्ने र फक्सबीच ७१ अर्ब डलरको सम्झौता
न्यूयोर्क । अमेरिकी मनोरञ्जन कम्पनी डिज्नेले फक्सको मनोरञ्जन व्यवसाय ७१ अर्ब अमेरिकी डलरमा खरिद गर्नेसम्बन्धी सम्झौतालाई टुङ्गो लगाएको छ । उक्त सम्झौतामा फक्सका उत्पादनहरु “सिन्डेरेला”, “दी सिम्पसन्स”, “स्टार वार्स” र “डा.स्ट्रेन्ज” अब एकै कर्पोरेट छानामुनि आउने छन् । यो सम्झौताले विश्व मिडिया परिदृश्यमै हलचल ल्याउने छ । सम्झौतापछि डिज्नेलाई आफ्नै स्ट्रिमिङ सेवा डिज्ने प्लस यसै वर्षको अन्त्यतिर आरम्भ गर्न बाटो खुलेको छ । साथै सम्झौताले हजारौं कर्मचारी कटौतीमा पर्ने खतरा बढाएको छ । फक्स र डिज्नेमा कार्यरत फिल्म उत्पादक कर्मचारीहरुको ठूलो संख्या कटौतीमा पर्नेछ । डिज्नेले फक्स इन्टरटेनमेन्ट खरिद गर्नुको मुख्य उद्देश्य नै अमेजन र नेटफ्क्सि जस्ता कम्पनीबाट सिर्जना भइरहेको बढ्दो चुनौतीलाई सामना गर्नु हो । डिज्नेले यसअघि नै डिज्ने कार्टुन सेवा प्रशारण गरिरहेको छ । फक्सका उत्पादनलाई आफूमा गाभेसँगै फक्सका महत्वपूर्ण कार्यक्रम र नेसनल जियोग्राफिकको प्रशारण एकाधिकार प्राप्त हुनेछ । डिज्नेका प्रमुख कार्यकारी बब आइगरले गत फेब्रुअरीमै डिज्ने प्लस र उपभोक्तासँग सोझै जोडिएका व्यवसायहरु डिज्नेको नं.१ प्राथमिकतामा रहने बताए । केबल र टेलिकम कम्पनीहरुले बदलिँदो मिडिया परिदृश्यमा प्रतिस्पर्धी क्षमता बढाउन टिभी शो र सिनेमा बनाउने कम्पनीहरु नै खरिद गर्न थालेका छन् । एटी एन्ड टी, कमकास्ट जस्ता विशाल इन्टरनेट प्रदायकहरु समेत अमेजन, युट्युब र नेटफ्लिक्सका सेवाबाट त्रसित हुन थालिसकेका छन् । एटी एन्ड टीले गत वर्ष ८१ अर्ब डलरमा टाइम वार्नर कम्पनी खरिद गरिसकेको छ भने आफ्नै स्ट्रिमिङ टेलिभिजन सेवा प्रशारण गर्न थालेको छ । टाइम वार्नरका च्यानलहरु टीबीएस र टीएनटीलाई अमेरिकी ग्राहकलाई प्रति महिना १५ अमेरिकी डलरमा बिक्री गरिएको छ । रासस /एपी
गीतकार तथा साहित्यकार ‘डीआर’लाई ‘एभरेष्ट वल्र्ड रेकर्ड’को प्रमाण पत्र
काठमाडौं । एकैपटक धेरै एल्बम निकालेर रेकर्ड राखेका साहित्यकार तथा गीतकार डा. डीआर उपाध्यायलाई ‘एभरेष्ट वल्र्ड रेकर्ड’को प्रमाण पत्र प्रदान गरिएको छ । डीआरका एक उपन्यास ‘दगाबाज’सहित एल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ विमोचन केही समय अघि राष्ट्रिय नाचघर जमलमा बिमोचन गरिएको थियो । उपाध्यायका यसअघि ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘वज्राधात’, ‘अपवित्र छायाँ’ र ‘बिटुली’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् । पद्मदीप स्मृति प्रतिष्ठानको आयोजनामा डीआरका गीति एल्बमका बारेमा देशका सात प्रदेशस्तरमा पनि लोकार्पण र समीक्षा तथा जिल्लास्तरको साहित्य अनि सङ्गीतको बारेमा छलफल गर्न अभियान चलाइएको थियो भने देश बाहिर सिक्किममा समेत लोकार्पण गरिएको थियो ।
डेढ दशकपछि पुनरागमन गर्दै हेटौंडाका संगीतकर्मीहरुको सांगीतिक समूह ‘सिजन्स ब्याण्ड’
काठमाडौँ । कुनै बेला सांगीतिक क्षेत्रमा राम्रो प्रभाव जमाउन सफल भएको हेटौंडाका संगीतकर्मीहरुको सांगीतिक समूह ‘सिजन्स ब्याण्ड’ लामो समयपछि दर्शक तथा स्रोतामाझ फर्किएको छ । २०६१ सालमा आफ्नो तेस्रो एल्बम ‘सात तियाँ एक्काइस’ मार्फत स्रोतामाझ आएको यो समूह १४ वर्षपछि चौथो एकल एल्बममार्फत पुनः सांगीतिक क्षेत्रमा सक्रिय हुने अन्तिम तयारी गर्दैछ । समुहले चौथो एकल एल्बम ‘सिजन्स द न्यू बिगिनिङ’ मार्फत स्रोतामाझ आउने तयारी गरेको हो । सिजन्स ब्याण्डमा छ जना संगीतकर्मीहरु सक्रिय छन् । चलचित्रको पाश्र्व गायन तथा पृष्ठभूमि संगीत निर्माणमा व्यस्त भैरहेका संगीतकर्मी सुजिल कर्माचार्य सिजन्स ब्याण्डको लोकप्रिय नाम हो । सुजिल यो समूहमा गायन तथा लिड गिटारिष्टको रुपमा आवद्ध छन् । समूहका अर्का सदस्य हुन् ज्ञानेन्द्र प्रधान । उनी पनि गायन र रिदममा आवद्ध छन् । अर्का सदस्य चन्द्र लामा समुहका गायक तथा ड्रमर हुन् । चलचित्रका गीतहरुमा संगीत संयोजन तथा पृष्ठभूमि संगीत उत्पादनमा सक्रिय संगीतकर्मी शैलेन्द्र प्रधान सिजन्सका किबोर्डिष्ट हुन् । संगीतकर्मी सञ्जय श्रेष्ठले बास गिटारिष्टको जिम्मेवारी सम्हालेका छन् । उपेन्द्र श्रेष्ठ भने ब्याण्डका व्यवस्थापक हुन् । विगतमा सिजन्स ब्याण्डले गाएका गीतहरु मध्ये सुनेको कुरा, असार साउन, रातो माटो, असफल जिन्दगी, सपना मात्र आदि लोकप्रिय गीतहरु स्रोता तथा दर्शकहरुलाई दिइसकेको छ । समुहले २०५६ सालमा पहिलो एल्बम ‘ख्याल ख्यालैमा’ तथा २०५८ सालमा दोस्रो एल्बम ‘सिजन्स’ सार्वजनिक गरेको थियो । सिजन अर्थात ऋतु । समूहले आफ्ना सिर्जनालाई ऋतु झैं परिवर्तनशील बनाउने अवधारणा बनाएको छ । जस अनुसार संगीत सिर्जनामा समेत परिवर्तनशील रहने योजना अनुरुप स्थापना भएको सिजन्स ब्याण्डले करिव डेढ दशकपछिको पुनरागमनका लागि आध्यात्मिकसंगै संगीतका अधिकांश शैलीलाई अनुशरण गर्ने लक्ष्य लिएको छ । ब्याण्डको नयाँ एल्बमका गीतहरुमा आध्यात्मिक भाव पाउन सकिन्छ । यसैबीच, ब्याण्डले शिवरात्रीको पूर्व सन्ध्या तथा विजया एकादशीको अवसर पारेर आज शनिवार मात्र चौथो एल्बमको पहिलो गीत ‘भन्छन् नारायण…’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ । चौथो एल्बम तयार पार्ने क्रममा सिजन्सलाई स्टेरियो रेकडले व्यवस्थापकीय साथ दिएको छ । ब्याण्डको नया एल्बम तथा म्युजिक भिडियोहरुलाई स्टेरियो रेकर्ड्सले व्यवस्थापन गर्ने रेकर्ड्सका मेनेजर निरज श्रेष्ठ बताउँछन् । निरजका अनुसार निकट भविष्यमै सिजन्स ब्याण्ड लाइभ कन्सर्टमार्फत समेत दर्शकमाझ आउने तयारी गरिरहेको छ । यस्तो छ सिजन्स ब्याण्डको नयाँ म्युजिक भिडियो: